बन्दीपुरमा भेटेरीनरी अस्पताल निर्माणको काम थालियो
समाधान संवाददाता
दमौली
तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको १ करोड लगानीमा बन्दीपुर गाउँपालिका १ नाहालामा भेटेरीनरी अस्पताल निर्माणको काम थालिएको हो ।
जेठदेखि निर्माण सुरु भएको भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी छ । कोरोना कहरका कारण भवन निर्माणमा ढिलाइ भएको बन्दीपुर गाउँपालिका १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । ‘कोभिड–१९ को संकट नभएको भए यतिबेलासम्म धेरै काम अगाडि बढिसक्थ्यो तर चालु आर्थिक वर्षभित्रै भवन निर्माणको सम्पूर्ण काम सम्पन्न हुन्छ,’ उनले भने ।
भवनमा ६ कोठा हुनेछन् भने शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष लागि अर्को भवन निर्माण हुने जनाइएको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो । ‘पशुको उपचार गराउनुप¥यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहज रूपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्,’ पोख्रेलले भने ।
यस अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् । त्यसको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्नेछ । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले १ रोपनी जग्गा गाउँपालिकालाई दान गरेका थिए । गाउँपालिकाको पशुपंक्षी शाखाको नाममा करिब ७५ लाख मूल्यबराबरको जग्गा दान गरेका थिए । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरीनरी अस्पताल निर्माणका लागि पहल भएपनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन ।
तपाईको प्रतिक्रिया