बन्दीपुरमा भदाै १२ सम्म लकडाउन

समाधान संवाददाता २०७७ भदौ ७ गते ७:०५

दमाैली

Advertisement

बन्दीपुर गाउँपालिकाले बन्दाबन्दी थप १ हप्ता लम्ब्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई बन्दाबन्दी लम्ब्याएको हो ।

गाउँपालिकाले यस अगाडि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई बन्दाबन्दी गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता बन्दाबन्दी लम्ब्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

Advertisement

बन्दीपुर गाउँपालिका वडा १, ४ र ५ अन्तर्गतका बजार तथा राजमार्ग क्षेत्रभित्र औषधिजन्य स्वास्थ्य सेवा, बैंकका एटिम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाउँपालिकाका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्णरूपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले यस अगाडि १ हप्ता गरेको लकडाउन प्रभावकारी बनाउन सहयोग पुर्‍याउने संघसंस्था, व्यापारी, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै थप १ हप्ताको लकडाउनलाई पनि पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया