कास्कीमा जारी निषेधाज्ञा ५ दिन थपियो
अनुप आत्रेय, पोखरा
कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।
संक्रमितको संख्या बढिरहेकाले हालको बन्दाबन्दीलाई कायम राख्दा उचित हुने निष्कर्ष बैठकले निकालेको कास्कीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । बन्दाबन्दीकोको मोडालिटी केही परिवर्तन हुने भएको छ ।
बैंक तथा वित्तिय संस्थाको केही शाखा र निमार्ण सामग्रीका पसल सञ्चालन खुकुलो बनाइने निर्णय भएको एसपी श्रेष्ठले जानकारी दिए ।
कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो ।
निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।
समुदायमा कोरोना संक्रमित भेटिन थालेको र चाडपर्वमा हुने भीडभाडले जोखिम बढ्ने निष्कर्षसहित महानगरको मूल समितिको १ भदौमा बसेको बैठकले सोही दिन मध्यरातबाटै निषेधाज्ञा लगाउने जनाएको थियो ।
त्यसबेला महानगरलाई राजनीतिक दलका प्रतिनिधिले कडा निषेधाज्ञा गर्न सुझाएका थिए । तर जिल्ला सिसिएमसीको बैठकबाट निर्णय नहुँदा १ भदौबाट बन्दाबन्दी सुरु भएन । २ भदौमा बसेको जिल्ला सिसिएमसीको बैठकले ७ भदौको मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
पछिल्लो समय कास्कीका गाउँपालिकामा संक्रमित नभेटिए पनि पोखरामा भने संक्रमित बढिरहेका छन् । पोखरामा शनिबारमात्रै १६ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार पनि ५ जनामा पोजेटिभ देखिएको छ । पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६४ पुगेको छ । संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया