४५ मिनेटको बाटो अब ५ मिनेटमा

समाधान संवाददाता २०७७ भदौ ७ गते १८:३३

लस्ती खोलामा झोलुगें पुल बनेपछि स्थानीयबासी खुसी

Advertisement

कृष्ण दवाडी, कास्की

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लस्ती खोलामा झोलुगें पुल बनेपछि २ वडाका स्थानीयबासी औधि खुसी भएका छन् । वडा ३ घाचोकको डिलिनचौर र वडा ४ लाहाचोक पहेँले जोड्ने गरी लस्तीमा १ सय ६ मिटर लामो पुल गत साउन मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । अब घुमाउरो बाटो भएर नदी वारपार गर्नुपर्ने बाध्यता हटेर समयको समेत बचत भएको छ ।

Advertisement

सरकारको झोलुगें पुल क्षेत्रगत कार्यक्रमअन्तर्गतको अनुदान सहयोग, गाउँपालिका र स्थानीय उपभोक्ताको साझेदारी गरी ४९ लाख ६१ हजार लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै आवतजावतका लागि कम्तीमा पौने घण्टा समय बचत भएको वडा ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए । पुल निर्माणका लागि नौलो घुम्ती नेपालले प्राविधिक सहयोग गरेको हो ।

‘फागुन पहिलो सातादेखि सुरु भएको झोलुगें पुल निर्माण लकडाउनमा समेत निरन्तर काम भएर साउन मसान्तदेखि सञ्चालनमा आएको छ, दुवै वडाका नागरिकलाई घुमाउरो बाटो भएर आउन÷जान १ घण्टा लाग्ने गरेकोमा अब ५ मिनेटमै वारपार गर्न सकिन्छ,’ वडाध्यक्ष लम्सालले भने ।

Advertisement

घाचोकका युवक विष्णु पोखरेलले पुल निर्माणपछि दुवै वडाका वडाबासीहरूलाई कहालीलाग्दो लस्ती खोलाको असुरक्षित ठाडो उकाली÷ओराली गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको बताए । २ वडाबीच खेतीकिसानीमा अर्म÷पर्म गर्न मिल्ने, घाँस काट्न आउन जान सजिलो तथा कृषिउत्पादन बिक्रीवितरणमा समेतसहयोग पुगेर समग्र क्षेत्रमा समृद्धिसहित भावनात्मक सम्बन्ध समेत थप मजबुत हुने उनको भनाई छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबाबु हमालले समितिमा दुवै वडाबाट सदस्य रहेको बताउँदै दिँदै कोरोना महामारीमा समेत निरन्तर निर्माण गरिएको जानकारी बताए । पुल सञ्चालनपछि दुवै वडाका गरि ४ सय घरधुरीका २ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको बताइन्छ ।

क्षेत्रगत कार्यक्रमबाट ४५ लाख ६४ हजार ३ सय ९८, गाउँपालिकाबाट २ लाख ९७ हजार ६ सय ७८ तथा जनश्रमदानबाट ९९ हजार २ सय २६ लागतमा पुल निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया