सिडिओ पौडेल भन्छिन् – मुस्ताङ ग्रिन जोनमै रहने छ

समाधान संवाददाता २०७७ भदौ ७ गते २१:२९

एसके थकालीे
जोमसोम, ७ भदौ

Advertisement

गण्डकी प्रदेशको कोरोेनामुक्त जिल्ला हुन्, मुस्ताङ र म्याग्दी । म्याग्दीका ४८ र मुस्ताङका १ मात्र संक्रमित निको भएर घर फर्किसकेका छन् । मुस्ताङका १ मात्रै संक्रमित असार दोस्रो साता नै निको भएका हुन् । म्याग्दी भने हालसालै कोरोनामुक्त बनेको हो ।

चीनसँग सीमा जोडिएको मुस्ताङले अहिले नयाँ प्रमुख जिल्ला अधिकारी पाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा रहेकी हिरादेवी पौडेल यहाँ सिडिओ भएर आएकी छन् । प्रदेशका अन्य जिल्ला र देशभर संक्रमितको संख्या बढिरहेका बेला नवप्रजिअ पौडेललाई कोरोना भाइरस जिल्ला भित्रन नदिनु नै मुख्य चुनौती हुनेछ ।

Advertisement

संक्रमण भित्रिन नदिन उनी ढृढ देखिएकी छन् । आइतबार नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा उनले जिल्लालाई कोरोनामुक्त राख्न सीमा नाकामा थप कडाई गर्ने बताइन् ।

स्थानीय पालिकाले समेत जिल्लालाई कोरोनामुक्त राख्न ठोस कार्ययोजना बनाएर अघि बढ्न उनलाई सुझाएका छन् ।

Advertisement

मुस्ताङकी सिडिओ आफै होम क्वारेन्टाइनमा

स्वागत कार्यक्रममा प्रजिअ पौडेलले कोरोना भाइरसका कारण देशका अरु जिल्लामा संक्रमित बढिरहेकाबेला मुस्ताङ ग्रिन जोनमा रहनु गर्वको विषय भएको बताइन् । उनले जिल्लालाई कोरोनामुक्त राख्न छिमेकी जिल्लासँग समन्वय र सहकार्य गरिने सुनाइन् ।

उनले कोरोना माहामारीका बेला बर्खायामको मौसममा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा खाद्यान्न, पेट्रोलियम र निर्माण सामाग्री ढुवानीमा समस्या भइरहेकाले सडक खुलाउने क्रम जारी रहेको जानकारी दिइन् ।

‘सडक असहजता र कोरोनाको फाइदा उठाएर व्यापारीले मनोमानी मुल्यवृद्धि गरेको जानकारी पाएकी छु । त्यस्तो गरेको प्रमाण भेटिएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ,’ उनले भनिन् ।

मुस्ताङ भित्रिने मालवाहक सवारीलाई अनिवार्य डिसइन्फेक्ट गर्ने व्यवस्था गर्ने र जिल्ला भित्रिएका मालवाहक सवारीका चालक सहचालकलाई सुरक्ष्ति बासस्थान र खानपानको व्यवस्था मिलाउन गृहकार्य भइरहेको प्रजिअ पौडेलले बताइन् ।

सरकारले विद्यालयमा क्वारेन्टाइन हटाउन निर्देश गरेकाले नयाँ क्वारेन्टाइन कहाँ बनाउने भन्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको उल्लेख गरिन् । ‘स्थानीय तहको आमा समुह भवन, सामुदायिक भवन र सामुदायकि संस्था लगायतमा क्वारेन्टाइन राख्न मिल्ने नमिल्ने विषयमा विवरण संकलन गर्न जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताललाई निर्देशन दिइसकिएको छ,’ प्रजिअ पौडेलले भनिन् ।

प्रजिअ पौडेलसँगको भेटमा पत्रकारहरुले मुस्ताङ प्रवेश गर्ने पुल बगाउँदा बेनी जोमसोम सडकमा पहिरो खस्दा जिल्ला कोरोनामुक्त रहेको र हाल सडक असहजता अन्त्य भएकाले जोखिम निम्तन सक्ने भन्दै यसतर्फ चनाखो भएर लाग्न सुझाव दिएका छन् । जिल्लामा कामदार ल्याउन रोक्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिको आउजाउलाई न्युनिकरण गर्नुपर्ने महासंघले बताएको छ ।

पत्रकार र प्रशासनबीचको सम्बन्ध राम्रो हुँदा सूचना प्रवाहमा थप सहज हुने भएकाले प्रजिअ पौडेलसँग महासंघको टोलीले भेटघाट गरेको महासंघका कोषाध्यक्ष निरज थकालीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भएर १ भदौमा मुस्ताङ आएकी प्रजिअ पौडेल १ साता आफ्नै क्वाटरमा होमक्वारेन्टाइनमा थिइन् । उनी आइतबारदेखि कार्यालयमा हाजिर भएकी छन् ।

तपाईको प्रतिक्रिया