मरुभूमिको दु:खले कृष्णलाई देखाएको बाटो

समाधान संवाददाता २०७७ भदौ ८ गते ११:१६

राकेश शर्मा, म्याग्दी

Advertisement

बेनी नगरपालिका ६ चुत्रेनीका ३० वर्षीय कृष्ण मल्लले अस्ट्रेलिया जाने सोच त्यागेर गाउँमा व्यावसायिक रुपमा बोयर जातका बाख्रा पालेर लोभलाग्दो आम्दानी गरेका छन् ।

पैसा कमाउने सपना बोकेर इराकमा गएका मल्ल त्यहाँ सोचेजस्तो कमाइ नभएपछि अस्ट्रेलिया जाने सपना बोकेर नेपाल फर्केका थिए । उनले अहिले बोयर जात र क्रस जातको बाख्रा पालनबाट रहरलाग्दो आम्दानी गरेका छन् ।

Advertisement

‘इराक ४ वर्ष बसेर अझै राम्रो पैसा कमाउने सोच बोकेर नेपाल आएको हुँ,’ मल्लले भने,‘४० लाख तिरेर अस्टे«लिया जानुभन्दा यहिँ केही गर्न मन लागेर बोयर जातको बाख्रा पाल्न सुरु गरेको हो ।’

सुरुमा १० लाख लगानी गरेर बाख्रा पाल्न थालेका मल्लले करिब २ वर्षमा नै लगानी २५ लाख पुर्‍याएका छन् । मल्लका अनुसार १ वर्षको अवधिमा १० लाख बराबरको बाख्रा बिक्रीबाट नै आम्दानी भइसकेको छ । अस्ट्रेलियाबाट आयत गरिएको एक माउ र एक बोयर जातको बोका लिएर बाख्रा पालन सुरु गरेका मल्लको फार्ममा २५ वटा बोयर र क्रस बाख्रा छन् ।

Advertisement

कृष्ण बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म दर्ता गरेर उनले काम थालेका छन् । मासुको प्रयोजनका लागि नभई शुद्व बोयर एवं स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नश्ल सुधार गर्दै उन्नत जातका पाठापाठी बिक्री गर्ने उनको लक्ष्य हो ।

‘विदेशमा जाने बेलाको लगानी यही व्यवासायमा लगानी गरेर घरमा बस्न सोच आएर मैले यो बाख्रा पालन सुरु गरेको हो,’ उनले भने, ‘मोडल फर्ममा परेर साढे २ लाख अनुदान लिएर खोर बनाएकोे छु ।’

अहिले मल्लको खोरमा ५० वटा बाख्राको क्षमता छ। ‘मैले अरुको खेतबारी बन्दकीमा लिएर घाँस रोपेको छु, अब बाख्राको संख्या पनी बढाउदै लैजान्छु,’ मल्लले भने, ‘मेरो व्यवसायबाट घरपरिवार पनी सन्तुष्टि छन् ।

बोयर जातको बाख्रामा जन्मेको १ वर्षसम्म दैनिक २.३५ ग्रामका दरले मासु वृद्धि हुने र राम्रो व्यवस्थापन गर्न सके एउटा बोका १ सय ३० केजीसम्म तौल हुने मल्लको भनाइ छ। उनका अनुसार बोका नगन्हाउने, बोसोको मात्रा कम हुँदा बालकदेखि वृद्धसम्म जनसुकै उमेरका मानिसका लागि पनि उपयुक्त हुन्छ ।

बोकाको तीव्र वृद्धिदर भएको कारण स्वास्थ्य र आम्दानीको तुलनामा महत्वपूर्ण ठहरिएको हुँदा बोयर जातको बाख्रापालनमा पछिल्लो समय युवाहरु बोयर बाख्रा पालनमा लागेका छन् । देख्दा राम्रो र सफासुग्घर तथा शान्त वातावरण रुचाउने सो जातको बाख्रा २ वर्षको अवधिमा ३ पटक ब्याउने र १ पटकमा २ वटा पाठापाठी पाउने गर्दछ ।

समुद्री सतहबाट ८ सय ५० मिटर उचाइमा रहेको सो स्थानमा बोयर जातको बाख्रापालनका लागि उपयुक्त वातावरण भएको उल्लेख गर्दै उनले आफ्नो फर्मलाई जिल्लाको नै ठूलो फर्मको रुपमा विकास गर्ने योजना बनाएका छन् ।

तपाईको प्रतिक्रिया