चितुवासँग लप्टनसाबको लडाइँ

जनावारले आक्रमण गर्दाको घाउ निको पार्ने औषधी टेकुबाहेक नपाइने हुँदा घाइतेलाई काठमाडौं लगिएको छ
अनुप आत्रेय, पोखरा
गाउँ पुरै जंगलले डाकेको छ । त्यहीँबाट बाँदरको हुल दैनिकजसो गाउँ छिर्छन् । लमजुङको साम्दी गाउँका स्थानीयलाई बिहानबेलुका खेतबारीमा बाँदर पस्ने चिन्ता लाग्छ ।
आइतबार पनि बिहानै बाँदर गाउँ पसे । गाउँलेहरु धपाउनतिर लागे । घडीमा साढे ८ बजेको थियो । त्यो समय बेसीसहर नगरपालिका–९ साम्दी गाउँका स्थानीय ६३ वर्षे हरिबहादुर थापा घाँस काट्न निस्किएका थिए ।
सधैं घरमै बाँदर आउँथे तर आइतबार चितुवा आइपुग्यो । त्यसपछि चितुवा हरिबहादुरमाथि जाइलाग्यो । सुरुमा दाहिने हातमा चिथोर्यो । चितुवा र थापा दुवै धान रोपेको खेतमा पल्टिए । नेपाली सेनाका पूर्वलप्टन उनले हार मानेनन् ।
‘घाँस काट्न निस्किनुभएको थियो । घरपछाडिबाट उफ्रिएर आएको चितुवाले आक्रमण गरेर खलेगरोमा पुर्याएछ,’ हरिबहादुरका भतिज विष्णुले भने, ‘दाहिने हातमा आक्रमण गरेपछि हँसियाले घाँटीमा हानेर मार्नुभएछ ।’चितुवासँग आफ्ना काकाको झन्डै ५ मिनेट घम्साघम्सी भएको उनले सुनाए ।
उनका अनुसार गाउँ वरिपरि चितुवा देखिने गरे पनि आक्रमणको घटना भने पहिलोपटक भएको हो । गाउँलेले जंगल नजिकैको मन्दिरमा दिनहुँ चितुवा देख्ने गरेको विष्णुले बताए । ‘गाउँनजिकै जंगलको आडमा देवी मन्दिर छ । त्यहाँ सिँढीमा बिहानबेलुका चितुवा हिँड्ने गरेको प्रत्यक्ष देख्थ्यौं तर गाउँमा पसेर आक्रमण नै गरेको पहिलोपटक हो,’ विष्णुले भने ।
चितुवासँगको घम्साघम्सीमा घाइते भएका हरिबहादुरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । ‘जनावारले आक्रमण गर्दाको घाउ निको पार्ने औषधी टेकुबाहेक अन्त नपाइने रहेछ । त्यसैले उहाँलाई काठमाडौं लगिएको छ,’ उनले भने ।
घाइते हरिबहादुरको अवस्था सामान्य रहेको वडाध्यक्ष शरद बरालले जानकारी दिए । गाउँमा बाँदरको समस्या पहिल्यैदेखि रहँदै आए पनि डेढ वर्षयता चितुवाको समस्या देखिन थालेको उनले बताए ।
‘डेढ वर्षअघिसम्म चितुवाको त्यति आतंक हाम्रोतिर थिएन । पछिल्लो समय शिकारको खोजीमा हो कि, पानीको खोजीमा हो कि गाउँमा चितुवा पस्न थालेको छ,’ वडाध्यक्ष बरालले भने ।
मरेको चितुवाको मुचुल्का उठाएर व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख मोहनराज काफ्लेले जानकारी दिए । ‘पोथी चितुवा रहेछ । अन्दाजी २वर्षको । त्यसलाई ल्याएर कार्यालयकै कम्पाउन्डभित्र गाड्यौं,’ उनले भने ।








समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया