मलाई जस्तै मेरो नेतृत्वलाई पनि भएको होला
विवेक त्रिपाठी
मैले एक छाक खाएर बाँचेको छु भने मेरो नेतृत्वले पनि एक छाक नै खाएको छ । यही विश्वासले मानव सम्प्रदायले धेरै संकटहरुलाई जितेको छ ।
यस्तो भनाइ कतै पढेको थिएँ । यो विश्वास भ्रम होइन भने मेरो नेतृत्वलाई पनि बैंकले किस्ता तिर्न दिनहुँ फोन गरेको छ । मेरो काकालाई जस्तै जस्ले ट्याक्सी चलाएर गुजारा गर्नुहुन्थ्यो, बैंकको किस्ता तिर्न नसकेर ट्याक्सीको चाबी बैंकलाई बुझाइदिनु भयो ।
मेरो काठमाडौंमा बस्ने ठूलो दाइलाई घरभेटीले डेराको भाडा तिर्न ताकेता गरेका छन् । लकडाउनले गर्दा मेरो दाइको रोजगार गुमेको छ । जस्ले गर्दा उहाँसँग भएको वक्यौता रकम तीन महिना खाँदा सकियो ।
तीन महिनाको कोठा भाडा अब कहाँबाट ल्याएर तिर्नु ?मेरो नेतृत्वको कोही आफन्तलाई पनि यस्तै समस्या होला मेरो दाइलाइ जस्तै। लकडाउन भएपछि पढाइ नभएको महिनाको पनि छोराछोरीको स्कुलले स्कुलको फी तिर्न अनलाइन उर्दी जारी गरेको छ । मेरी सानिमाले लगाएको तर्कारी बेच्न नपाएर बारीमै कुहिएको छ । अब कसरी पैसा तिर्ने पिरलो परेको छ ।
मेरो मामा बोर्डिङ स्कुलमा पढाउनु हुन्छ तीन महिना भयो अनलाइन क्लास लिनु भएको । सञ्चालकले तलब दिन्छन कि दिँदैनन् पत्तो छैन्। फेरि मेरी सानिमाहरु जस्ताले तिर्न नपाए पछि उनीहरुले पनि कहाँबाट दिऊँ भन्ने तर्क त रहला तर त्योभित्रको पीडाले मलाई जस्तै मेरो नेतृत्वलाई पनि छोएको छ भने सकारात्मक बहस आरम्भ गर्न सकिन्छ ।
म त्यस्तो ठाउँको मान्छे हुँ जहाँ काम पाइएन भने एक छाक खाएर अर्को छाक भोकै सुत्नुपर्छ । मेरो घर छेउका एकजना दाइ राहतको चामल सकिएपछि हामीलाई त केही थिएन भोकै बसौंला छोराछोरीको भोक टार्न सकिएन भनेर कामका लागि छिमेकी गाउँ गएका थिए ।
त्यही बखत मन्त्रीको गाडी स्लुट खाँदै गाउँ छिरेछ तर विचरा दाइ कोरोना फैलन्छ भनेर लठ्ठीको सुम्लो बोकेर गहभरि आँसु पार्दै फर्किए। त्यो आँसुले ती लालाबालाको पेट भरिने भए ती दाइसँगै म पनि बगाइ दिन्थे।हामी निहत्था थियौं । विकल्प पनि त केही थिएन ।
कोरोना महामारीका कारण लकडाउन जो थियो। ती दाइको व्यथाले मलाई पोलेको छ । मेरो नेतृत्वलाई पनि पोलेको छ मलाई जस्तै छटपटी मेरो नेतृत्वलाई पनि भएको छ होला ।
हाम्रै गाउँका काइँला बाले पढाएपछि छोरो मास्टर हुन्छ ठूलो मान्छे बन्छ भन्ने सुनेका थिए । आफूले छाक काटेर छोरालाई डिग्री पढाए हलो जोते हली हुन्छ भनेर छुन सम्म दिएनन् जीवनको अन्तिमसम्म आफै धस्सिए । छोराले पनि मेहनत गरेर पढे जेनतेन उनी पार्ट टाइम मास्टर भए ।
सहरको क्याम्पसमा जीवन राम्रौ चलेको थियो । बाको सपना त पूरा भयो तर काइँला वा बितेर गए । लकडाउन भयो मास्टर साब गाउँ फर्के । बर्खा लाग्यो अनोसमाउन जानेका छैन् यसपालि पनि खेत बाझै पल्टियो ।
डिग्रीको कागजले आनन्दले खानदिएन भन्छन् । योभित्र हाम्रो सिंगो शिक्षा प्रणालीको प्रतिछाया देखिएको छ । यी यस्ता निमित्त पात्रमात्र हुन् । यस्ता हजारौं भुमरीमा हामी फसिसकेका छौं जहाँ हामी रैती जीवन बाँच्दै छौं । हिजो कुनै व्यक्तिले बनाएको थियो देखिने गरी आज दलाल पुँजीवादले बनाएको छ नदेखिने गरी ।
मलाई जस्तो मेरो नेताहरुलाई पनि यो कुरा मनमा लागेको छ होला । पोखरामा गत सोमबार सेती नदीमा एक पुरुष हामफाले । रामघाटमा अर्कैको शव लिएर गएका मलामीले बग्दै गरेको देखे ।
मलामीले उनको उद्धार गरे । ती युवाले आफू होटलको सेफ रहेको र लकडाउनमा रोजगारी गुमेकाले आत्महत्या गर्न नदीमा हेलिएको बताए । जब उनको कुरा सञ्चार माध्यममा हेरेँ, मेरो काँडा उम्रियो त्यस्तै मेरो नेतृत्वलाई पनि भएको होला ।
काठमाडांैको कीर्तिपुरमा भारी बोक्दै आएका धादिङका सूर्यबहादुर तामाङ त्यहीँको सडकपेटीमा मृत भेटिए । त्यतिबेला उनको हातमा उही नाम्लो थियो, उनले गरिआएको श्रमको चिनारी, उनी र हामी जस्ता, मेरो छिमेकी दाइ जस्ता, मेरी सानिमा जस्ता, बाँचेको वर्गीय निशानी, नाम्लो सिरानी च्यापेर देहत्याग गरेको त्यो दर्दनाक तस्बिरले मलाई जस्तै मेरो नेतृत्वलाई पनि छोएको होला ।
म नेपाल कम्युनिस्ट पार्टीको मामुली कार्यकर्ता हुँ । धेरैले मलाई झोले भन्छन्, हनुमान भन्छन् आजकल मेरो र मजस्ता कार्यकर्ताको पहिचान फेरिएको छ । म अरिंगाल भएको छु । समानताको पीडाले पोलेको छ साथी । आरिसले होइन ।
व्यवस्थाले पोलेको हो। तिनै ती मेरा तमाम पिल्सिएका म, मेरा छिमेकी र इस्टमित्रहरुलाई देखेर म कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको हँु।यहाँ छलफल हुन्छ,विमर्श हुन्छ जनताको दुःखका कुरा हुन्छ होला भनेर म कम्युनिस्ट पार्टीमा लागेको हुँ ।
समाचार सुन्छु हेर्छु स्थायी कमिटीको बैठक बस्दै छ रे भनेपछि आम जनताका समस्याबारे बहस होला । समाधानको उपायबारे अब छलफल होला ।
एउटा न एउटा उपाय कसो ननिक्लिएलार मेरा काका, दाइ, सानिमा, मेरा छिमेकी दाइ, काइँला बाका छोरा, रोजगार गुमाए खोलामा ह्यलिएका ती सेफ दाइ, धादिङका सूर्यबहादुर तामाङहरु जस्ता सबै नेपालीको समस्या समाधान होला भन्ने लागेको थियो । तर स्थायी कमिटीको बैठकको एजेन्डा यस्तो कहिल्यै भएन ।
केवल मागियो त राजीनामा । बहसको विषय नै राजीनामा । छलफलको विषयनै राजीनामा । एक मात्र विषय राजीनामा ? स्थायी कमिटीमा कुनै पनि कमरेडहरुले जनताको विषयलाई कहिल्यै पनि बहस नै बनाउनु भएन । बोल्नु भयो त केवल राजीनामा ।
शक्तिका लागि कुर्सीका लागि सत्ताका लागि मात्र बहस यस्तो महामारीको बेला जनताका बारे हुनुपर्ने थिएन र कमरेड ? तर मान्छे न परे आशा बाँकी छ लड्दै फेरि उठ्दै धुलो टक्टकाउँदै हिँड्ने बानी परेको छ । कुनै आशाको दियोले डो¥याएको होला । आशाको दियो मेरो सरकार हो मेरो नेतृत्व हो ।
मानव सम्प्रदायले धेरै आरोह अबरोहलाई जितेको छ केवल एउटा विश्वासले कि मेरो जस्तै पीडा मेरो नेतृत्वको पनि छ तर हामीलाई जोगाउने हाम्रो सरकार छ हाम्रो व्यवस्था छ ।
पक्कै मेरो नेतालाई पनि कोरोना कहरले मलाई जस्तै थिलोथिलो पारेको छ। सामान्य मान्छे आफ्नो नेता माथि आफ्नो राज्य सरकार प्रति निष्ठापूर्वक बफादार हुन्छ।अब हाम्रो नेतृत्व निष्ठापूर्वक आफ्ना नागरिक प्रति बफादार हुने बेला आएको छ ।
मेरो मनमा जहिले पनि एउटा प्रश्न उठिरहेको हुन्छ जनताका नाममा जनताले पाएका दुःखका लागि हाम्रो नेतृत्वले आन्दोलन गर्यो त्यही आवाज बुलन्द गर्दा हाम्रा नेताहरु कति सहिद बन्नु पर्यो कति जेल नेलको चक्कर काट्नुपर्यो । अब ब्यवस्ता बदलिएको छ । जनता भनेको एउटा व्यत्ति हो र त्यो नै विज्ञान हो ।
अब ती एउटा एउटा व्यक्तिले पाएका दुःखको बारे बहस नहुने हो भने समाधानका उपाय नखोजिने हो भने हाम्रा सिन्द्धान्त हाम्रा घोषणाहरु मित्थ्या हुनेछन्। माक्र्सवादीहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय समाजवादको श्रेष्ठताका निम्ति गरिनुपर्ने कार्यमा हो ।
त्यसैले त माक्स ले भन्नु भएको छ।समाजको भविष्यलाई सोच तर वर्तमानमासँगै अगाडि बढ्।मैले लेख्नका निम्ति मात्र लेखेको होइन साँच्चै बहस आरम्भ गर्न लेखेको हुँ ।
जनताका दु:खका बेला राज्य काम लाग्नुपर्छ।राज्य त्यही सर्तमा बनेको हुन्छ । जनता रहेन राज्य बन्छ । नत्र मसान माथि ठडिएको राज्यको के अर्थ ?
कुनै अर्थ छैन्।भारतीय लेखक मन्टोले भने जस्तै जस्ताको त्यस्तै उनकै भाषामा ‘मै उन लोगो कि सराहना नही कर सकता जो आरामकुर्सी मे धंस कर ‘हसिए हथौडे’ कि बात करते है। यो सत्य सावित नहोस् कमरेड ।’
गणितीय हिसाबले हामी कुर्सीमा छौं। तर कुर्सीमै बसेर, तलतिर गजारमा बसेर, चटाइमा बसेर, धुलामा बसेर जहाँ छौं त्यहाँ बसेर देश र जनताको सेवा गर्नुपर्ने बेला आएको छ । त्यही कुराले साशक र हाम्रो कम्युनिस्ट व्यवस्था बिचको फरक छुट्टिने छ । मन्टोको कुरा मलाई एउटा हद सम्म ठिक लाग्यो मेरो नेतृत्वलाई पनि सायद लाग्छ होला ।
(लेखक नेकपा निकट विद्यार्थी संगठनमा आवद्ध छन् ।)
तपाईको प्रतिक्रिया