लायन्स भद्रकालीले थाल्यो साताव्यापी रक्तदान कार्यक्रम, पहिलो दिन २५ युनि रगत संकलन
समाधान संवाददाता
पोखरा
पोखरामा बढ्दो रगत अभाव पूर्ति गर्न लायन्स क्लब अफ पोखरा भद्रकालीले सोमबारबाट सप्ताहव्यापी रक्तदान कार्यक्रम थालेको छ । सोमबार पोखराको भद्रकाली स्कुल चोकमा गरेको आकस्मिक कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।
क्लब अध्यक्ष संयुक्त धाख्वाका अनुसार निशेधाज्ञाका कारण पोखरामा रगत अभाव कम भएको थाहा पाएपछि आकस्मिक रुपमा कार्यक्रम गरिएको हो । आवश्यकता अनुसार पोखराका अन्य ठाउँमा रक्तदान कार्यक्रम गरिनेछ ।
प्रथम रक्तदाता बुद्धिराज बराललाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी१का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले ब्लड ब्याग हस्तान्तरण गरी सोमबार कार्यक्रम सुरु गरिएको थियो ।
कोरोनाका महामारीका कारण लागु गरिएको निषेधाज्ञाले पोखरा मात्र होइन मुलुकभर नै रगतको हाहाकार भएकाले क्लबहरुलाई कार्यक्रम गर्न आह्वान गरिएको शर्माले बताए । छोटो अवधिको सूचनामा गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको भन्दै उनले क्लब र रक्तदातालाई धन्यवाद दिए ।
कार्यक्रममा बुद्धिराज बराल, बन्दना धाख्वा, रजत ढेवाजु, सन्तोष सुनार, रामचन्द्र कार्की, अमृतकुमार पौडेल, बुद्धिराज बराल (पूर्वअध्यक्ष), अच्युत ढेवाजु, अमिन श्रेष्ठ, कृष्णबहादुर थापा, सामुएल सुनारले रक्तदान गरेका छन् ।
यसैगरी विनोद गुरुङ, राजेन्द्र भण्डारी, रामचन्द्र कार्की, प्रदीप सुनार, लक्ष्मण कार्की, जयश्वर श्रेष्ठ, नाजिम अली, दिलु गुरुङ, अजय गुरुङ, विक्रम रानाभाट, तीलु गुरुङ, खेमबहादुर गुरुङ र अजमु मियाँले रक्तदान गरेको क्लब सचिव धनेन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा सहभागी रक्तसञ्चार केन्द्र पोखराका पूर्व प्रमुख ध्रुव लामिछानेले स्वस्थ मानिसले प्रत्येक ३ महिनाको फरकमा रगत दान गर्न सक्ने बताए । उनले भने, ‘बिरामी व्यक्तिले रगत नपाए मृत्यु हुनसक्छ, दिनेलाई केही असर पर्दैन, तसर्थ बेलाबेलामा रगत दिएर अरुको ज्यान बचाऔं, पुण्य आर्जन गरौं ।’ पोखराका अस्पतालहरुमा अहिले रगतको अभावले अपरेसन नै रोकिएको भन्दै उनले एबी पोजेटिभ र ए पोजेटिभ रगत पाउनै मुस्किल भएको बताए ।
डायलासिस गर्नुपर्ने बिरामीलाई महिनाको ४ युनिट रगत चाहिने र अहिले रगत नै नभएकाले मृगौलाका बिरामी नियमित डायलासिस समेत गर्न नपाएको उनको भनाइ थियो । उनका अनुसार सर्पले टोकेका बिरामी एउटैलाई २० युनिटसम्म रगत चाहिन्छ ।
नेपालका अन्य सहरको तुलनामा पोखरामा रगत पाउन सहजै हुने भए पनि अहिलेको अवस्थामा कार्यक्रम नै कम भएको रक्तदाता पनि डराएकाले अभाव भएको उनले जनाए । लामिछानेले भने, ‘रगत विदेश त कुरै छाडौं, नेपालकै अन्य सहरबाट समेत ल्याउन सम्भव छैन, त्यसैले नियमित रुपमा रक्तदानका लागि दाताहरुलाई उत्साही बनाइराख्नुपर्छ ।’
रक्तदानमा सहभागी पोखरा महानगरपालिका १३ भद्रकालीकी दिलु गुरुङले घर छेवैमा कार्यक्रम छ भन्ने सुनेर रक्तदानमा गर्न आएको बताइन् । उनले भनिन्, ‘म त कामकाजी महिला, घरमा काम गर्दै थिएँ, माइकबाट सुनेपछि आएर रक्तदान गरें ।’ उनले छरछिमेकका दाजु भाइ दिदीबहिनीलाई पनि रक्तदानमा सहभागी हुन प्रेरित गर्ने प्रतिबद्धता जनाइन् । दिलुले रक्तदान गरेको देखेपछि उनीसँगै आएकी साथी तीलु गुरुङले पनि जीवनमै पहिलोपटक रक्तदान गरिन् ।
कार्यक्रममा रिजन चियरपर्सन वसन्तराज सिग्देलले पोखरामा रगत अभाव कम गर्न आकस्मिक रुपमा गरिएको कार्यक्रममा यति धेरै रगत संकलन हुँदा आफूहरु उत्साहित भएको बताए । रक्तसञ्चार केन्द्रमै पुगेर क्लबको अगुवाइमा दैनिक ५ जनाको दरले साताभर रक्तदान गर्ने कार्यक्रम तय भए पनि केन्द्रकै आग्रहमा चोकमा कार्यक्रम गरिएको उनले जानकारी दिए ।
क्लब अध्यक्ष संयुक्त धाख्वाले मानवीय जीवन रक्षाका लागि रगत अपरिहार्य भएकाले यो कार्यक्रम गरिएको र साताव्यापी कार्यक्रमलाई सफल पार्न सहयोगको अपेक्षा गरे ।
क्लबका निर्देशक कल्याणकुमार ढेबाजु, स्थानीय समाजसेवी लोकबहादुर कार्की, राम बराल, नेपाल बजार बिक्री प्रतिनिधि संघका सदस्यहरु, स्थानीय युवा, आमा समूहका दिदीबहिनी लगायत सहभागी थिए । रक्तसञ्चार केन्द्र पोखराका प्राविधिकद्वय यमुना बककेसी र पूर्ण मौरातीले कार्यक्रममा सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया