६९५ किलो अवैध जडिबुटीसहित महिला पक्राउ
![](https://www.samadhannews.com/wp-content/uploads/2020/08/अवैध-जडिबुटी-सहित-पक्राउ.jpg)
समाधान संवाददाता, पोखरा
ठूलो परिमाणको अवैध जंगली जुडिबुटीसहित लमजुङ प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।
लमजुङ बेसीसहर ७ की ३८ वर्षीया सिद्धीमाया तामाङलाई ६ सय ९५.१ केजी अवैध जडिबुटीसहित आइतबार पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जंगली जडिबुटी लुकाई छिपाई संकलन गरी राखेको सूचना प्रहरीलाई पुगेपछि लमजुङ प्रहरीले विशेष टोली तामाङकै घरमा खानतलासीका लागि पठाएको थियो ।
विशेष प्रहरी टोलीले उनको घरबाट डालिङ (गुरुङ भाषामा टलिट) ४ सय ७६.१ केजी, वन लसुन १ सय ५४ केजी, कुड्की २४.६ केजी, जटामसी १४.९ केजी, सुगन्धवाल १८.३ केजी, सतुवा ४.४ केजी, वन आलु २.८ केजी गरी ६ सय ९५.१ केजी बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी तामाङ र बरामद भएको जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया