सेयर निष्कासनमा बुक बिल्डिङ विधि

समाधान संवाददाता २०७७ भदौ ९ गते ६:०५

बैकुण्ठराज तिमसेना

Advertisement

संयुक्त पुँजी कम्पनीहरुले नियमानुसार पुँजी बृद्धि गर्न सर्वसाधारणका लागि प्रारम्भिक सेयर निष्कासन (आइपिओ) गरी पुँजी बृद्धि गर्नु पर्ने अनिवार्य व्यवस्था कम्पनी ऐनमा गरिएको छ । पुँजी बृद्धिका लागि धेरै उपाय छन् । ती धेरै उपायमध्ये स्थिर मूल्य विधि, बुक बिल्डिङ विविध वा दुबैको मिश्रण संयुक्त विधि विश्व बजारमा प्रख्यात विधि मध्ये पर्दछन् । स्थिर मूल्य विधि सामान्यतया धेरै वर्षदेखि विश्वका धेरै जसो कम्पनीहरुले अपनाउँदै आइरहेका छन् । तर अहिले आएर विकसित मुलुकहरुमा बुक बिल्डिङ विधि, धेरै नै प्रख्यात र बजार निमार्णका लागि अति नै फलदायी सावित भएकोले सबै जसो मुलुकहरुका कम्पनीहरुले यो विधिको प्रयोग गरिरहेका छन् ।


यो विधि खास गरी राम्रा र नाम चलेका कम्पनीहरुको आर्कषणका लागि प्रयोगमा ल्याइएको हो

बुक बिल्डिङ विधि प्रारम्भिक सेयर (आइपिओ) निष्कासनका लागि एउटा व्यवस्थित विधि हो । जसमा लगानीकर्ताको सेयरको मागको अनुपात हिसाब गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा मर्चेन्ट बैंक वा प्रत्याभूतिकर्ताले वित्तीय वा संस्थागत लगानीकर्ताले प्रारम्भिक सेयर निष्कासन गर्दा सो कम्पनीको सेयरका लागि कति मूल्य प्रस्ताव गर्दछन् भन्ने जानकारी गरिन्छ । योग्य वित्तीय प्रस्तावकले बुक बिल्डिङ विधि अनुसार प्रस्तावित मूल्य र सेयर संख्या खुलाई आवेदन गर्दछन् । यो विधि खास गरी राम्रा र नाम चलेका कम्पनीहरुको आर्कषणका लागि प्रयोगमा ल्याइएको हो ।

बुक बिल्डिङ विधि सन् १९९५ अक्टोबर १२ देखि विश्व बजारमा प्रवेश गरेको हो । पछि समय समयमा सुधार र परिमार्जन गरी आजको अवस्थामा आइपुगेको हो । यो वास्तवमा मूल्य तय गर्ने विधि हो जसमा निष्कासनकर्ताले सेयरको मूल्य तय नगरी खाली मूल्यको पंक्ति वा श्रेणीबद्ध गर्दछन् । पछि ठूला लगानीकर्ताहरुले सो कम्पनीको लागि उनीहरुको श्रेणीबद्ध मूल्यभित्र रही सो का लागि मूल्य प्रस्ताव गर्दछन् । श्रेणीबद्ध मूल्यको तल्लो मूल्यलाई फ्लोर मूल्य र माथिल्लो मूल्यलाई क्याप मूल्य भनिन्छ । सेयर बिक्री गर्न निर्धारण गरिने मूल्य कटअफ मूल्य हो ।

Advertisement

नेपाल धितोपत्र बोर्डले संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य बजारले नै निर्धारण गर्न तथा मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने व्यवस्था गर्न वाञ्छनीय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ (संशोधन सहित) को नियम २५ ग को प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधि निर्देशिका बनाएको छ । यस निर्देशिका अनुसार निम्नानुसारको व्यवस्था गरेको छ:


बुक बिल्डिङ विधि अनुसार धितोपत्र निष्कासन गर्न चाहने संगठित संस्थाले यस विधि अनुरुप गर्नुपर्ने कार्य सम्पन्न गर्ने प्रयोजनका लागि बोर्डबाट अनुमतिपत्र प्राप्त निष्कासन तथा बिक्री प्रबन्धकसँग सम्झौता गर्नुपर्नेछ ।

(क) धितोपत्र व्यापारी
(ख) धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनी ।
संस्थाको नेटवर्थ न्यूनतम १० रुपैयाँ करोड हुनुपर्नेछ ।

– बुक बिल्डिङ विधि अनुसार धितोपत्र निष्कासन गर्न चाहने संगठित संस्थाले यस विधि अनुरुप गर्नुपर्ने कार्य सम्पन्न गर्ने प्रयोजनका लागि बोर्डबाट अनुमतिपत्र प्राप्त निष्कासन तथा बिक्री प्रबन्धकसँग सम्झौता गर्नुपर्नेछ ।

क) संगठित संस्थाले स्वचालित विद्युतीय प्रणालीमार्फत् ।
– बुक बिल्डिङ विधि अनुसार धितोपत्र निष्कासन गर्नका लागि संगठित संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्नेछ । उक्त विवरणपत्रको मुखपृष्ठमा बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्र निष्कासनसम्बन्धी विवरणपत्र भन्ने उल्लेख गर्नुपर्नेछ । जसमाः
(क) निष्कासन गरिने धितोपत्रको संख्या
(ख) धितोपत्रको अनुमानित मूल्य
(ग) मूल्यांकनको आधार र औचित्य ।

– संगठित संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकको सहभागितामा प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई छलफल कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । छलफल कार्यक्रमका लागि कार्यक्रम सञ्चालन गरिने समय र स्थान तोकी कम्तीमा ७ दिन अगाडि योग्य संस्थागत लगानीकर्ताहरुलाई लिखित रुपमा वा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी जानकारी गराउनु पर्नेछ ।

– सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनु पर्ने छ । संगठित संस्थाले धितोपत्र बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाडफाँट गर्नुपर्नेछ ।

– छलफल कार्यक्रम सञ्चालन गरिने मितिभन्दा कम्तीमा ७ दिन अगावै प्रारम्भिक विवरणपत्र वेबसाइटमा राख्नुपर्नेछ । साथै, संगठित संस्थाले छलफल कार्यक्रममा उक्त संस्थाको पछिल्लो ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण उपलब्ध गराउनुपर्नेछ ।

– संगठित संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग निजले चाहेको न्यूनतम खरिद संख्या, आसय मूल्य र सो कोमूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्नुपर्नेछ ।

– योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम समाप्त भएको ५ कार्य दिन भित्र लिखित रुपमा खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछ । संगठित संस्थाले खरिद आसय मूल्य लिँदा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सम्पूर्ण धितोपत्र बिक्री हुने गरी कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट आसयपत्र प्राप्त गर्नुपर्नेछ ।

– संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्नेछ । सो को आधार मूल्य तय भए पश्चात् धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्नुपर्नेछ । धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउदा हुनेमूल्य कायम गर्नुपर्नेछ ।

– सर्वसाधारणलाई धितोपत्र जारी गर्दा निर्धारण भएको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई निष्कासन गर्नुपर्नेछ । आव्हानपत्र प्रकाशन भएको ७ कार्य दिनपछि बोलकबोलमा भाग लिन सक्ने व्यवस्था गर्नुपर्नेछ । बोलकबोल सुरु भएको ४ कार्य दिनसम्म खुला राख्नुपर्नेछ र आवश्यक भएमा बोर्डको स्वीकृति लिई बोलकबोलको समयावधि थप गर्न सकिनेछ ।

– योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्दा बिक्री मूल्यसीमाभित्र आफूले लिन चाहेको धितोपत्रका लागि आवेदन पेस गर्नुपर्नेछ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्कासित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रका लागि बोलकबोल प्रस्ताव पेस गर्न पाइने छैन । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको सत प्रतिशत रकम तोकिएको निष्कासन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेस गर्नुपर्दछ ।

– धितोपत्र बजार स्वचालित विद्युतीय बोल कबोल (बिडिङ) प्रणाली सञ्चालन गर्नुपर्नेछ । यसका लागि विद्युतीय बोल कबोल (बिडिङ) प्रणालीको युजर आइडी र पासवर्ड प्रदान गर्नुपर्नेछ
–धितोपत्र बजारले संगठित संस्थालाई विद्युतीय बोलकबोल प्रणाली सञ्चालन गरिदिएवापत योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको धितोपत्रको अंकित मूल्यको ०.१ प्रतिशत वा न्यूनतम २ लाख रुपैयाँसम्म शुल्क लिन सक्नेछ ।

– आवेदन दिने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कटअफ मूल्य निर्धारण गर्नुपर्नेछ । कट अफ मूल्य निर्धारण गरेपछि कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अप मूल्यमा बाँडफाँट गर्नुपर्नेछ ।

– कटअफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्नेछ ।

यो विधिमा नेपाली लगानीकर्ताहरु परिचित नभएका कारण यसमा केही विवाद देखा पर्न सक्दछ । तै पनि प्रारम्भिक लगानीकर्ताहरुलाई यस विधिले आर्कषण अवश्य गर्ने छ । किनकि यो विधिको प्रयोग यस अगाडि उच्च वित्तीय विवरण हुने कम्पनीहरुले (जस्तोःशिवम् सिमेन्ट) प्रारम्भिक सर्वसाधरणका लागि निष्कासित सेयर प्रिमियम मूल्यमा निष्कासन गरेका थिए ।

यो आइपिओ निष्कासनको वैकल्पिक विधि भएकाले सुरक्षणको मूल्य निर्धारण गर्न सहयोग गर्दछ । साथै, सम्भाव्य औसत लगानीकर्ताहरुले मूल्य निर्धारण गर्ने हुनाले माग र आपूर्तिको सन्तुलन हुने हुनाले बिक्रीमा सहजता रहन्छ । साथै, आफ्नो कम्पनीको बास्तविक स्थिति थाहा हुनुले विज्ञापन वा प्रचारप्रसारमा सहयोग पुग्दछ । बुक बिल्डिङ विधि ठूला निष्कासनकर्ता कम्पनीहरुको लागि प्रयोगमा आउँछ । (जस्तो फेसबुक कम्पनीले यो विधिद्वारा सेयर निष्कासन गरेको थियो ।)

सेयर निष्कासन गर्ने कम्पनी मौलिकरुपमा बलिया र लगानीकर्ताहरुको बीचमा परिचित हुन आवश्यक छ । परिपक्व बजारमा यसले सफलता पूर्वक कार्य गर्दछ र गरिरहेको छ । स्थिर मूल्य विधिभन्दा यस बुक बिल्डिङ विधिका केही अवगुण छन् । प्रथमतः साना लगानी कर्ताले सेयर खरिद गर्न सक्दैन किनकि प्रत्याभूतिकर्ताहरुले कम्पनीको सबै सेयर खरिद गर्दछन । साथै यस विधिमा विगत ३ वर्ष देखिको विभिन्न वित्तीय विवरण तयार पार्नु पर्ने, लगानी कर्तासँग सुमधुर सम्बन्ध राख्नु पर्ने लगायतले समय र खर्च धेरै लाग्दछ ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकको वजार परिपक्व भई नसकेकाले कार्यान्वयनको समयमा कठिनाई देखा पर्न सक्दछ । किनकि लगानीकर्ताहरु परिपक्व भइ नसकेकाले कम्पनीका सबै वित्तीय सूचकहरुको मूल्यांकन, लेखाजोखा र विश्लेषण गर्न सक्ने हैसियत राख्दैनन् । यति हुँदाहुँदै पनि सेयर निष्कासन गर्ने कम्पनीलाई सुरक्षणको मूल्य र बिक्रीको ग्यारेन्टी हुने हुनाले निश्चिन्त भई सेयर निष्कासन गर्न सक्दछ । सेयर बिक्री हुँदैन कि भन्ने डर रहँदैन ।

साथै सार्वजनिक निष्कासनको खर्च कम लाग्न जाने, औषत लगानीकर्ता ठूला लगानी कर्ता हुने हुनाले सेयर होल्डरहरुको संख्या कम हुने, जसले गर्दा वार्षिक साधारण सभा गर्न सुलभहुने यसका थप विशेषता हुन् । जे होस यो खुल्ला बजार र भूमण्डलीकरणको युगमा नयाँ नयाँ प्रविधि र विधिमा जानु आजको आवश्यकता हो । सबैले यस विधिका बारेमा अध्ययन गरेर लगानी गर्नुको विकल्प छैन ।
(तिमसेना पूर्व बैंकर हुन्)

तपाईको प्रतिक्रिया