रगत : नपाउनेकाे ज्यान जान्छ, दिनेलाई पुण्य मिल्छ

समाधान संवाददाता २०७७ भदौ ९ गते ६:१३

समाधान संवाददाता
पोखरा

Advertisement


पाेखराकाे मिरुवा बस्ने २६ वर्षे सागर वाग्लेले पत्नीलाई आइतबार साँझ मनिपाल मेडिकल कलेजमा भर्ना गर्न । ९ महिनाकी गर्भवती पत्नीलाई चिकित्सकले दिएको मिति अनुसार नै उनले अस्पताल पु¥याए । सोमबार बिहान शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको खण्डमा रगत चाहिने भयो । पत्नीलाई चाहिने एबी पोजेटिभ रगत पोखराभरि पाइएन ।

रगतको जोहो गर्न उनी रक्तसञ्चार केन्द्रको सम्पर्कमै थिए । सोमबार बिहान लायन्स क्लब अफ पोखरा भद्रकालीले आकस्मिक रक्तदान गर्ने थाहा पाएपछि उनी केही ढुक्क भए । तै पनि चाहिएको ग्रुपको रगत पाइने हो कि नपाइने हो भनेर उनी ढुक्क भने थिएनन् । एबी पोजेटिभ ग्रुप भएका आफैले चिनेको एकजना साथीलाई बोलाएर उनले रक्तदान गर्न लगाए । दिउँसो २ बजेतिर मात्रै उनको हातमा चाहेको ग्रुपको २ युनिट रगत हातप¥यो । संयोग मान्नुपर्छ पत्नीको शल्यक्रिया गर्नु परेन । ‘नर्मल डेलिभरी’ भयो । रगत खर्चिनु परेन । सागरले भने, ‘यसै त त्यो ग्रुपको रगत पाउन गाह्रो रैछ, अझ यो बेलामा त झनै मुस्किल, दिनभर लगाएर रगत जुटाएँ, संयोग उनको (पत्नी) अपरेसन गर्नु परेन ।’

Advertisement

रक्तसञ्चार केन्द्र पोखराका पूर्व प्रमुख ध्रुव लामिछानेले लकडाउन र निषेधाज्ञाका बेला रगतको चरम अभाव भएको बताए । अस्पतालहरुमा अहिले रगतको अभावले अपरेसन नै रोकिएको भन्दै उनले एबी पोजेटिभ र ए पोजेटिभ रगत पाउनै मुस्किल भएको जनाए ।

डायलासिस गर्नुपर्ने बिरामीलाई महिनाको ४ युनिट रगत चाहिने र अहिले रगत नै नभएकाले मृगौलाका बिरामी नियमित डायलासिस समेत गर्न नपाएको उनको भनाइ थियो । उनका अनुसार सर्पले टोकेका बिरामी एउटैलाई २० युनिटसम्म रगत चाहिन्छ ।

Advertisement

नेपालका अन्य सहरको तुलनामा पोखरामा रगत पाउन सहजै हुने भए पनि अहिलेको अवस्थामा कार्यक्रम नै कम भएको रक्तदाता पनि डराएकाले अभाव भएको उनले जनाए । लामिछानेले भने, ‘रगत विदेश त कुरै छाडौं, नेपालकै अन्य सहरबाट समेत ल्याउन सम्भव छैन, त्यसैले नियमित रुपमा रक्तदानका लागि दाताहरुलाई उत्साही बनाइराख्नुपर्छ ।’ स्वस्थ मानिसले प्रत्येक ३ महिनाको फरकमा रगत दान गर्न सक्छन् । उनले भने, ‘बिरामी व्यक्तिले रगत नपाए मृत्यु हुनसक्छ, दिनेलाई केही असर पर्दैन, तसर्थ बेलाबेलामा रगत दिएर अरुको ज्यान बचाऔं, पुण्य आर्जन गरौं ।’

पोखरामा बढ्दो रगतअभाव पूर्ति गर्न लायन्स क्लब अफ पोखरा भद्रकालीले सोमबारबाट सप्ताहव्यापी रक्तदान कार्यक्रम थालेको छ । भद्रकाली चोकमा माइकिङबाट रक्तदानको बारेमा सुनेपछि आडैमा घर भएकी दिलु गुरुङले मन थाम्नै सकिनन् । उनले भनिन्, ‘म त कामकाजी, घरमा काम गर्दै थिएँ, माइकबाट सुनेपछि आएर रक्तदान गरें, एक पोका रगतले कसैको ज्यान जोगिन्छ भने किन नगर्नु भनेर आएको ।’ उनले छरछिमेकका दाजु भाइ दिदीबहिनीलाई पनि रक्तदानमा सहभागी हुन प्रेरित गर्ने प्रतिबद्धता जनाइन् । दिलुले रक्तदान गरेको देखेपछि उनीसँगै आएकी साथी तीलु गुरुङले पनि जीवनमै पहिलोपटक रक्तदान गरिन् । सोमबारको कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।

क्लब अध्यक्ष संयुक्त धाख्वाका अनुसार निशेधाज्ञाका कारण पोखरामा रगत अभाव कम भएको थाहा पाएपछि आकस्मिक रुपमा कार्यक्रम गरिएको हो । आवश्यकता अनुसार पोखराका अन्य ठाउँमा रक्तदान कार्यक्रम गरिनेछ ।

प्रथम रक्तदाता बुद्धिराज बराललाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी१का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले ब्लड ब्याग हस्तान्तरण गरी सोमबार कार्यक्रम सुरु गरिएको थियो ।

कोरोनाका महामारीका कारण लागु गरिएको निषेधाज्ञाले पोखरा मात्र होइन मुलुकभर नै रगतको हाहाकार भएकाले क्लबहरुलाई कार्यक्रम गर्न आह्वान गरिएको शर्माले बताए । छोटो अवधिको सूचनामा गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको भन्दै उनले क्लब र रक्तदातालाई धन्यवाद दिए ।

कार्यक्रममा रिजन चियरपर्सन वसन्तराज सिग्देलले पोखरामा रगत अभाव कम गर्न आकस्मिक रुपमा गरिएको कार्यक्रममा यति धेरै रगत संकलन हुँदा आफूहरु उत्साहित भएको बताए । रक्तसञ्चार केन्द्रमै पुगेर क्लबको अगुवाइमा दैनिक ५ जनाको दरले साताभर रक्तदान गर्ने कार्यक्रम तय भए पनि केन्द्रकै आग्रहमा चोकमा कार्यक्रम गरिएको उनले जानकारी दिए ।

क्लब अध्यक्ष संयुक्त धाख्वाले मानवीय जीवन रक्षाका लागि रगत अपरिहार्य भएकाले यो कार्यक्रम गरिएको र साताव्यापी कार्यक्रमलाई सफल पार्न सहयोगको अपेक्षा गरे ।

तपाईको प्रतिक्रिया