संस्कृति धान्न लोमान्थाङमा यार्तुङ

एसके थकाली
जोमसोम
लोमान्थाङमा आइतबारदेखि यार्तुङ पर्व सुरु भएको छ । यार्तुङ हिमाली समुदायको मौलिक सांस्कृतिक पर्व हो । बर्सेनि बर्खायामको खेतीपाती लगायतको काम सकेर हिउँदयामको स्वागतका लागि यहाँका स्थानीयले यार्तुङ पर्व मनाउने गरेको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले जानकारी दिए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्रका बासिन्दा र उपल्लो मुस्ताङको लोछोदिन समुदायका स्थानीयले आआफ्नै ढंगले अलगअलग रुपमा यार्तुङ पर्व मनाउँदै आएका छन् ।
यसपालिको यार्तुङमा पर्यटक छैनन्, स्थानीयमात्रै
यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग ( कोभिड—१९) सिर्जित विषम अवस्थाका कारण परम्परा जोगाउनकै लागि यार्तुङ पर्वलाई निरन्तरता दिइएको लोमान्थाङका समाजसेवी ज्ञानेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा यस वर्ष धार्मिक सांस्कृतिक गतिविधिबाहेक सबै कार्यक्रम स्थगित गरिएको छ । आइतबार लोमान्थाङमा पुरुषहरुले यार्तुङ पर्वमा धार्मिक संस्कृति स्याब्रो प्रदर्शन भएको थियो ।
प्रदेश सांसद विष्टले कोरोना माहामारीको विषम अवस्थामा आफू पोखरा बसेका यार्तुङ पर्व सहभागी जनाउन नसकेको बताए । यार्तुङ पर्व उपल्लो मुस्ताङको ऐतिहासिक साँस्कृतिक पर्व भएकाले गाउँमा यसलाई सामान्य रुपले मनाइरहेको र पर्व सञ्चालन गर्दा कोरोना संक्रमणको सावधानी अपनाएर पर्व मनाउन शुभकामना दिएका छन् ।
उपल्लो मुस्ताङको ऐतिहासिक सांस्कृतिक धरोहरका रुपमा रहेको यार्तुङ पर्व हेर्न स्वदेशी तथा विदेशी पर्यटक उपल्लो मुस्ताङ पुग्छन् । गत वर्षको यार्तुङ पर्व अवलोकन गर्न अमेरिकी राजदूत ¥यान्डी बेरी लोमान्थाङमा पुगेका थिए । राजदूत बेरी मुस्ताङमा सञ्चालित अमेरिकी सहयोग नियोगको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको अनुगमन गर्ने क्रममा लोमान्थाङमा पुगेका थिए । लोमान्थाङमा हुने यार्तुङ पर्वको श्रव्यदृश्य भिडियो खिच्न पर्यटकको त्यससमय ताँती नै लागेको थियो ।
यार्तुङको दोस्रो दिन सोमबार महिला यार्तुङ र मंगलबार अन्तिम दिन लामाहरुको यार्तुङ हुने लोमान्थाङका स्थानीय टसी गुरुङले जानकारी दिए । लोमान्थाङमा यस वर्ष तामझाम नगरी अनौपचारिक रुपमा स्थानीयबासीले मात्रै यार्तुङ पर्वलाई निरन्तरता दिएका छन् ।
पर्वमा पुरुष र महिलाहरुले ४ समूह बनाएर परम्परागत भेषभुषमा सजिएर हात समाती स्याब्रो नाच र ड्रम बजाएर घावा नाँच देखाउने चलन छ । पर्वको तेस्रो तथा अन्तिम दिन गुम्बाका लामाहरुले धार्मिक संस्कृति अनुसार यार्तुङ देखाउँछन् । यस वर्षको यार्तुङमा कोरोना कहरका कारण मुस्ताङी राजाले उपस्थिति जनाएका छैनन् । अघिल्ला यार्तुङ पर्वमा मुस्ताङी राजारानीबाट उपल्लो मुस्ताङका गाउँका मुखियाहरुलाई आशीर्वाद दिन्थे ।
गाउँ मुखियाहरुले पनि राजारानीलाई सम्मानपूर्वक खादा पहि¥यादिन्थे । तर, यस वर्ष राजारानी नभएकाले राजारानीबाट आर्शिवाद ग्रहण गर्ने कार्यक्रम रोकिएको हो । राजारानीले मुखियाहरुलाई रोगव्याधि नलागोस्, अनिष्ट नहोस्, अन्नबाली सप्रियोस् र व्यापार व्यवसाय फस्टाओस् भनी आशीर्वाद दिन्थे । यार्तुङ पर्व राजारानी समेत घोडा चढेर यार्तुङ पर्वमा स्थानीयलाई सांस्कृतिक ऊर्जा प्रदान गर्ने गर्थे ।
घोडा दौड उपल्लो मुस्ताङको यार्तुङको महत्वपूर्ण विशेषता हो । पहिलो दिन लोछोदिन समुदायका पुरुष, दोस्रो दिन महिला र तेस्रो दिन गुम्बाका लामाहरुले घोडा कुदाउँछन् । घोडा कुदाउँदा १५÷१५ मिटरको फेरोमा पिठोले तयार पारिएको याक आकृतिको वस्तु, सेलरोटीलाई ऐना बनाएर बीचमा घ्यार राखिएको वस्तु र भेडाको दाहिने हातभित्रको कुरकुरे हड्डी (घ्यासा) राखिन्छ । यसरी जमिनमा राखिएका वस्तुलाई घोडा दौडमा सहभागीले ढुंगाले हानेर फुटाउने चलन छ । यसरी फुटाउने व्यक्तिले मुस्ताङी राजारानीले नगद र खादाले सम्मान गर्थे । यसरी घोडा दौडाउने व्यक्तिले राखिएका वस्तु फुटाउँदा गाउँकै प्रतिष्ठाको रुपमा लिने चलन थियो ।
यस वर्षको यार्तुङमा स्थानीय जनप्रतिनिधि सहभागी नरहेको लोमान्थाङ—५ का वडाध्यक्ष ङवाङकुङ्गा लामाले जानकारी दिए । सरकारले कोरोना कहरमा चाडपर्व, सभा सम्मेलन र मानिसको जमघट गर्ने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको र स्थानीयले पर्व धान्न कार्यक्रम गरेकाले आफू त्यसमा सहभागी नभएको उनको भनाइ छ । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा यस प्रकार गर्न गराउन निषेध गरिए पनि प्रत्यक्ष—अप्रत्य रुपमा कार्यक्रम भइरहेको पाइएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ एकमात्र कोरोनामुक्त जिल्ला रहेकाले यो पहिचानलाई सुरक्षित राख्न स्थानीय प्रशासनले जनतालाई सुशिक्षित र सामधानी अपनाउन अनुरोध गरेको छ ।
………………………….
यार्तुङ पर्वको उपलक्ष्यमा लोमान्थाङमा घोडा दौड । तस्विर : नवाङकुङ्गा लामा ।
तपाईको प्रतिक्रिया