कोरोना नियन्त्रणमा बेनीको ८१ लाख बढी खर्च

राकेश शर्मा
म्याग्दी
हिमाली जिल्ला म्याग्दीमा रहेको बेनी नगरपालिकाले कोरोना भाइरसको नियन्त्रणका लागि ८१ लाख बढीको खर्च सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७६÷७७ मा कोरोना प्रकोप व्यवस्थापन कोषमार्फत विभिन्न शीर्षकमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा कोषमा १ करोड ३७ लाख ३० हजार ३७३ रुपैयाँ आम्दानी, ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च र ५५ लाख ९७ हजार २६१ रुपैयाँ खर्च भएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टिन निर्माण, बन्दोबस्तीका सामान व्यवस्थापन र क्वारेन्टिनमा बसेका २१२ जनाको खानामा १३ लाख ५८ हजार ७९८ रुपैयाँ, १ हजार ३८२ परिवारलाई राहत वितरणमा २९ लाख ४४ हजार ६१७, दश वटै वडामा ५÷५ जनाका दरले परिचालन भएका स्वमसेवकलाई खाना तथा खाजाका लागि दैनिक ५ सय रुपैयाँका दरले २ लाख ७१ हजार ६०० रुपैयाँ खर्च भएको छ ।
बराइलीका अनुसार भारतबाट सीमा नाकामा आएका र विदेशबाट काठमाडौको होल्डिङ सेन्टरमा आएका १६७ जनालाई बेनी ल्याउन यातायात भाडा वापत ३लाख ५ हजार ३४९, शैक्षिक तालिम केन्द्रको भवनमा १० सैयाको आइसोलेसन बनाउन १७ लाख ८३ हजार र स्वास्थ्य सुरक्षाका सामग्री तथा औषधी खरिदमा १५ लाख ६५ हजार ९६३ रुपैयाँ खर्च भएको छ ।
म्याग्दीमा बेनी नगरपालिकाले पहिलोपटक आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । नगरपालिकाको कोरोना कोषमा नगरपालिकाले १ करोड ६ लाख ५ हजारसहित विभिन्न संघसंस्थाहरु बेनी खानेपानी उपभोक्ता संस्थाले १ लाख, प्रदेश सरकारले १० लाख, अर्थ मन्त्रालयले २ लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुले १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुले २ लाख २९ हजार ८६१, कर्मचारीहरुले १ लाख ६९ हजार १५५ रुपैयाँ सहयोग गरेको जानकारी गराइएको थियो । कोषमा विजय लघुवित्त संस्थाले १० हजार, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बिस हजार, सिवाइसी नेपालले ५ हजार, धवलागिरी लघुवित्तले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
वस्तुगततर्फ काठमाडौंमा बस्ने म्याग्दीबासीहरुले १७ थान पिपिई सेट, म्याग्दी उद्योग वाणिज्य संघले २४ पिस केएन ९५ मास्क, ७ लिटर स्यानीटाइजर, पाण्डे मेडिकल हलले १ लाख बराबरको औषधी र नारायण जिसीले ५ लिटर स्यानिटाइजर सहयोग गरेको बेनपाकी स्वास्थ्य शाखा संयोजक लीला गौतमले जानकारी दिइन् । सामुदायिक विद्यालयमा अध्यापन गराउन शिक्षकहरुलाई समुदाय स्तरमा कोरोना विरुद्ध सचेतना फैलाउन परिचालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।
तपाईको प्रतिक्रिया