महामारीमा वैकल्पिक सिकाइमात्र विकल्प

समाधान संवाददाता २०७७ भदौ ९ गते १८:५०

विद्यालय बन्द हुनुमा न सरकारको दोष हो न शिक्षकको यो त महामारीले निम्त्याएको बाध्यता हो ।

देवेन्द्र तिमिल्सिना

सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहानमा देखा परेको कोरोना भाइरस अहिले विश्वभरी तीव्र गतिमा फैलि राखेको छ । विश्वलाई नै आक्रान्त तुल्याइ महामारीको रुप लिइ रहेको छ । कोरोना भाइरसका कारण विश्वमा संक्रमण हुने दर करोडौँ र मृत्युदर लाखौँ भइराखेको विद्यमान अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेन । नेपालमा कोरोना भाइरस फैलिने क्रम सुरुआती चरणभन्दा अहिले बढी राखेको अवस्था छ । विश्वभर यसले गर्दा अन्य क्षेत्र जस्तै शिक्षामा पनि ठूलो असर पारेको छ । विश्वमा रहेका विकसित देशले त कोरोना भाइरस नियन्त्रण गर्न नसकि राखेको अवस्था छ । नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो बिरामी देखिएको केही समय लगतै नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते देखि देश लकडाउन गरी कोरोना नियन्त्रण गर्ने प्रयास गरेको थियो ।

Advertisement

देशको अर्थतन्त्रमा आएको गिरावट, व्यावसायिकहरुले गरेको दबाव, देशमा भोकमारीले निम्त्याएको समस्या र दैनिकी सञ्चालनमा परेको समस्याका कारण लामो बन्दाबन्दी पछि लकडाउन खोलेसँगै कोरोना भाइरस संक्रमण फैलिने क्रम बढिराखेको छ । यसले गर्दा शैक्षिक सत्र नै खेर जाने सम्भावना देखिन थालेको छ । पठनपाठनलाई निरन्तरता दिन नसकिने अवस्था बढ्दै गएकाले वैकल्पिक उपायहरु बेलैमा नखोज्ने हो भने शैक्षिक सत्र खेर जाने अवस्था देखिन्छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठनबाट बञ्चित भएका बालबालिकाहरुलाई वैकल्पिक माध्यमद्वारा शिक्षा दिने उद्देश्यका साथ सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ निर्देशिका २०७७ जारी गरि असार १ गतेदेखि रेडियो, टिभी, अनलाइन र टोलटोलमा शिक्षकको सहजीकरणका माध्यमबाट शिक्षा दिन थालेको पाइन्छ । यो शिक्षा लागु हुन नपाउँदै बजारमा टिकाटिप्पणी हुन थाली सकेको थियो । त्यसले गर्दा भर्चुअल कक्षालाई प्रभावित बनायो । कोरोनाको कहरसँगै नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउने एउटा सुनौलो अवसर थियो । त्यो अवसर नेपाल सरकार र सरोकारवालाहरुले गुमाएको पाइन्छ ।

Advertisement

नेपालको शिक्षालाई प्रविधिमैत्री बनाउन नचाहनेको जमात धेरै र शिक्षालाई पुरातनवादभन्दा माथि उठाउन नचाहनेहरुको कारण एउटा अवसर गुमेको पाइन्छ । सरकारले हतारोमा निर्देशिका मात्र जारी गरी कुनै योजना विना सञ्चालनमा ल्याइएको वैकल्पिक सिकाइ प्रभावकारी हुन सकेन । यस्तो महामारीका बेला यो योजना धेरै राम्रो भए पनि यसमा दूरदराजमा रहेका विद्यार्थीहरुको समस्यालाई अध्ययन तथा अनुसन्धान नगरी सञ्चालनमा ल्याइएको कारण कार्यक्रम प्रभावकारी हुन सकेन । कोरोना कहर वर्षाै रहने हो भने वैकल्पिक शिक्षाको विकल्प देखिँदैन ।

यसका लागि ग्रामीण क्षेत्रमा रहेका विद्यार्थी र अति विपन्न वर्ग छुट्याउन स्थानीय तहलाई छिटो भन्दा छिटो सर्वेक्षण गर्न लगाई साधन र स्रोतको अभाव भएको वर्गलाई स्रोत साधनको व्यवस्था मिलाउन सकिएको खण्डमा वैकल्पिक शिक्षा प्रभाकारी हुने देखिन्छ । हाल वैकल्पिक शिक्षाको विकल्प बाहेक शैक्षिक सत्र पूर्ण हुने अवस्था देखिँदैन । शिक्षक तथा शिक्षामा सरोकार राख्ने व्यक्तिहरुले एक अर्कालाई दोषारोपण गर्नु भन्दा तुरुन्त विकल्पको खोजी गर्नु पर्ने अवस्था देखिन्छ । सरकारलाई दबाव दिएर विद्यालय त खोलिएला तर आधा अभिभावकले कोरोनाको महामारीको डरले आफ्ना बालबालिकाहरुलाई विद्यालय तुरुन्तै पठाउन सक्ने अवस्था देखिदैँन । विद्यालय तुरुन्तै खोल्दा महामारी फैलिने खतरा पनि उत्तिकै छ । यसले गर्दा बालबालिकाहरु कोरोनाको डरले विद्यालय बाहिर रहने खतरा बढी हुन्छ । यदि ढिलो गरी विद्यालय खोल्दा विद्यालय छोड्ने दर बढ्ने युनिसेफले बताइसकेको भएकाले जति सक्दो वैकल्पिक सिकाइलाई प्रभावकारी ढंगले लागु गर्न आवश्यक देखिन्छ ।

अर्कोतर्फ बजारमा शिक्षकले पढाउन अल्छी गरेर विद्यालय उनीहरुको कारण बन्द भएको विचार राख्ने जमात पनि धेरै छ । विद्यालय बन्द हुनुमा न सरकारको दोष हो न शिक्षकको यो त महामारीले निम्त्याएको बाध्यता हो । यसमा सबै पक्ष गम्भीर भई वैकल्पिक शिक्षालाई देशको साधन स्रोतले भ्याएसम्मको प्रयोग गरी शिक्षालाई प्रविधिमैत्री वातावरणबाट घरमै बसेर विद्यार्थीले सिकाइ ग्रहण गर्न सक्ने वातावरण तयार गर्न आवश्यक छ । कोरोनाको महामारीले आक्रान्त पारेको मुलुकलाई शिक्षामा नयाँ फड्को मार्ने अवसरका रुपमा लिनुपर्छ । विद्यालय खोल्दा मात्र शिक्षामा गुणस्तर कायम हुन्छ भन्ने साघुँरो सोचलाई हटाउन आवश्यक देखिन्छ ।

नेपाल सरकारले शिक्षालाई प्रविधिमैत्री बनाउन चालिएको वैकल्पिक शिक्षा सुविधा सम्पन्न क्षेत्रलाई मात्र परिकल्पना गरी लागु गरेकोले प्रभावकारी रुपमा कार्यन्वयनमा आउन सकेन र नेपालका केही शिक्षाविद् र सरोकारवालाले सुरुआतमै सम्भव नहुने बताइ दिदा यो कार्यक्रमको प्रभावकारितामा केही हदसम्म असर परेको देखिन्छ । नेपालमा कुनै पनि काम गर्नु अघि नसकिने कुराबाट बहसको थालनी गर्ने परिपाटीले सफलता हासिल हँुदैन । त्यही भएर अन्तर्राष्ट्रिय बजारमा हामी कमजोर हुँदै गएका छौँ । सरकारले पनि होचुवाको भरमा वैकल्पिक सिकाइ लागु गर्न खोज्नुले यसको प्रभावकारीतामा प्रश्न चिह्न खडा भएको हो । नेपाल सरकारले दुरदराजमा रहेका बालबालिकाहरुलाई समेत ख्यालमा राखि वैकल्पिक शिक्षा लागु गरेको भए शिक्षामा यो अवस्था आउने थिएन ।

नेपालमा इन्टरनेटको सुविधै नभएको त होइन । इन्टरनेट सुविधा भएका जिल्लाका बालबालिकाहरुलाई पठनपाठन प्रयोजनका लागि निशुल्क इन्टरनेटको सुविधा प्रदान गरेर अध्ययन अध्यापन गराउन सकिन्थ्यो । त्यसमा पनि राज्यको ठुलै लगानी चाहिँदैन थियो । विद्यालयलाई प्रदान गरिदै आएका विभिन्न अतिरिक्त शीर्षक कटौती गरी निशुल्क इन्टरनेटको सुविधा दिन सकेको भए कम्तीमा नेपालको शिक्षाको पठनपाठन शैलीमा परिर्वतन आउन सक्ने अवस्था रहन्थ्यो । इन्टरनेट सुविधाबाट बञ्चित बालबालिकाहरुलाई निशुल्क रेडियो र टिभी लगायत विद्युतीय साधन वितरण गरी सिकाइलाई ग्रामिण स्तरसम्म पु¥याउन सकिन्थ्यो । नेपालको शिक्षामा गडेर बसेको घोकन्ते शिक्षण विद्यालयमा मात्रै सम्भव छ भन्ने सोच जबसम्म हटेर जाँदैन तबसम्म शिक्षाले फड्को पार्ने अवस्था देखिँदैन ।

अभिभावक लगायत शिक्षामा सरोकार राख्ने धेरैको सोच शिक्षक र विद्यार्थी आमुनेसामुने भए मात्र पठनपाठन हुन्छ भन्ने विचार विकास भएकै कारण शिक्षाले नविनतम प्रविधितिर फड्को मार्न सकेको छैन । अभिभावकले पनि आफ्नो बालबालिकाहरुको पठनपाठनमा त्यति ध्यान दिइएको पाइदैन किन भने वैकल्पिक शिक्षा हुने खानेका लागि हो हाम्रो लागि होइन भन्ने सोचाइका कारण र जुन दिन विद्यालय खुल्छ त्यही दिन मात्र बालबालिकालाई पठनपाठनमा लगाउने सोचको विकास भएकाले शिक्षामा नयाँपन आउन नसक्नु अर्को कारण बनेको छ । अर्को कुरा आधा जसो शिक्षकहरु आफू प्रविधिमैत्री बन्न नचाहने मानसिकताले गर्दा पनि यस्ता कार्यक्रम प्रभावित हुने गरेको छ । त्यसैले शिक्षासँग सरोकार राख्ने सबैको उदासिनताका कारण पनि यो सिकाइ प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको अवस्था हो । खाली हँुदै गर्न सकिँदै भन्ने रोगबाट ग्रसित सोच हटाएर शिक्षामा नविनतम सोचको विकास गर्न जरुरत छ । विद्यालयले पनि आफ्ना मतहतका शिक्षकलाई जबसम्म प्रविधिसँग घुलमेल हुने वातावरण सिर्जना गराउन सक्दैनन् तबसम्म शिक्षामा केही परिर्वतन होला जस्तो लाग्दैन ।

कोरोनाको कारण अहिले जताततै विद्यालयमा अध्ययनरत बालबालिकाहरुको विषयमा मात्र बहस चलेको पाइन्छ । यहाँ विद्यालय जाने उमेर पुगेका बालबालिकाहरुका विषयमा चिन्ता र चासो कतै देखिँदैन । उनीहरुको अक्षर आरम्भ गर्ने उमेर धकेलिने सम्भावना बढ्दै गएको छ ।
यी बालबालिकाहरुलाई घरमा नै अक्षर आरम्भ गराउन सकिने भए पनि अभिभावक शिक्षककै भर परि राखेका छन् । यस्ता बालबालिकाहरुलाई घरमै हात बसाउन अक्षर आरम्भ गराउन सकिन्छ । यस्ता बालबालिकाहरुलाई अक्षरको धारणा विकास गराउन पहिलो भूमिका घरमा बाबुआमाले खेल्नुपर्छ । बेलैमा उनीहरुलाई अक्षरको धारणा बसाउन आवश्यक छ ।

घरमा अभिभावक अशिक्षित भए ठुला छोराछोरीबाट सहयोग लिएर सिकाइ गर्न सकिन्छ । यसो गर्न असम्भव भए छिमेकीहरुको समेत सहयोग लिई ती बालबालिकाहरुको अक्षर आरम्भ गराउन आवश्यक छ । कोरोना भाइरसको महामारीका कारण शैक्षिक सत्र खेर जान नदिनका लागि अभिभावक, शिक्षक, नेपाल सरकार र सरोकारवाला निकाय सबैले यसमा भूिमका निर्वाह गर्न नसकेको खण्डमा यो महामारी कहिलेसम्म र कसरी नियन्त्रण हुने कुनै ठेगान छैन त्यसैले यस विषयमा सबै पक्ष गम्भीर हुनुपर्छ । सरकारले आफ्नो स्पष्ट धारणा र योजना सहित प्रविधिमैत्री शिक्षा गाउँगाउँमा पुर्‍याउन आश्वयक छ ।

तिमिल्सिना भगवती सेवा आधारभूत विद्यालय शुक्लागण्डकी १० तनहुँका प्रधानाध्यापक हुन् ।

तपाईको प्रतिक्रिया