‘कविशिरोमणिको घर विरुप देख्दा मनपेट पोल्यो’

समाधान संवाददाता २०७७ भदौ ९ गते १९:३८

ईश्वर देवकोटा, पोखरा

‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजमा सोमबार बिहानै राष्ट्रिय समाचार समिति (रासस)को एउटा तस्बिर पोस्ट भयो ।

राससकी फोटो पत्रकार राधिका कँडेलले खिचेको त्यो तस्बिर कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघरको थियो ।

Advertisement

रातोमाटोले लिपेको र खरले छाएको उक्त घर अरुबेला चिटिक्क देखिन्थ्यो । तर, कोरोना महामारीको असरले पौड्यालको घरलाई पनि छोयो ।

महिनौदेखि स्याहार नपाउँदा खरका छानामा झार पलाएका थिए ।आँगनमा यत्रतत्र झार उम्रिएर विरुप दृश्य तस्बिरमा देखिन्थ्यो ।

Advertisement

पोखरा २७ अर्चलेस्थित उक्त घर वर्षौपहिले संग्रहालयमा रुपान्तरण भइसकेको छ । प्रवेशका लागि टिकट लिइन्छ ।

तर संग्रहालयले नियमित स्याहार नपाउँदाको ‘प्रमाणित तस्बिर’ राससमार्फत पेजहुँदै सञ्चार माध्यममा आएपछि भने त्यहीँका युवाहरुको भने मन पोल्यो ।

रुटिन अफ नेपाल बन्द फेसबुक पेजमा पोस्ट भएको केही मिनेटमा हजारौं लाइक रियाक्ट, कमेन्ट र सेयर भयो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले बनाएको घाउ नेपाली मनमा नओभाउँदै कविशिरोमणिको संग्रहालयको बिजोग देख्दा केही युवाहरुको ‘मनपेट’ पोल्यो ।

पेजको कमेन्टमा त्यहीँका स्थानीय युवाहरुलाई मेन्सन भयो । सिर्जनशील युवा क्लबका अध्यक्षसमेत रहेका नीराेज लामिछानेलाई उनका साथीले गरेको मेन्सनले कताकता बिजायो ।

क्लबका अन्य पदाधिकारी र सदस्यलाई पनि मेन्सन भएछ । आफ्नै ठाउँमाभएको संग्रहालयको पनि स्याहार नभएकोमा युवाहरुलाई ‘लाज’को अनुभूति भयो ।

क्लबका पदाधिकारी ग्रुप च्याटमा जुटिहाले । योजना बनाए, ‘आजै सफाइ गर्नुपर्छ ।’

अध्यक्ष नीराेजले आफूलाई पेजमा मेन्सन भएपछि तत्कालै क्लबको भर्चुअल बैठक बसेर सफाइको कार्यक्रम तय गरेको सुनाए ।

‘पेजमा साथीहरुले मलाई र क्लबका अन्य साथीहरुलाई मेन्सन गरेपछि हामी चिन्तित भयौं,’ उनी भन्छन्, ‘निषेधाज्ञा छ । के गर्ने भयो । साथीहरुको सल्लाह बमोजिम साँझ बाहिरी वातावरण केही खुकुलो भएपछि जाने योजना बन्यो ।’

क्लबका पदाधिकारी र सदस्य गरी ७ जना उपलब्ध भए । १० मिनेटमै योजना बन्यो । घरबाट सफाइका सामग्री जोहो गर्ने निधो भयो ।

राससका लागि फाेटाेपत्रकार राधिका कँडेलले खिचेकाे कविशिराेमणिकाे जन्मघर तस्बिर ।

सुरक्षाका सामग्री आ–आफैं जोहो भयो । साँझ ४ बजेतिर अर्घौबेसीबाट उक्लिएर टोली संग्रहालय पुग्यो ।

संग्रहालयमा सुरक्षाकर्मी देखिएनन् । ताला लगाइएका कारण रोकिनु पर्‍याे । यता चिनजानका साथीभाइले बिहानकै प्रसंग निकालेर क्लबका सदस्यलाई ‘केही गर्नुपर्‍‍यो’ भन्दै फोनमा सुझाई रहेका थिए ।

उता गेटबाट बाटो पाइएन । नीरजले संग्रहालयका अध्यक्ष विश्वप्रकाश लामिछानेलाई सविस्तार फोनमै सुनाए । उनीहरुलाई तलको बाटो जान लामिछानेले अनुमति दिए ।

केही औजार त साथमै लगेका थिए । छानो माथिको झार उखेल्न भर्‍याङ थिएन ।

नीराेज सम्झिन्छन्, ‘माथिसम्म पुगियो । तर भर्‍याङ ख्याल नै भएनछ । के गर्ने के गर्ने भयो । नजिकैको घरमा सोध्न गयौं । त्यहीँ पाइयो । खर जोगाउने गरी झार भिकियो ।’

सफाइपछि सामूहिक तस्बिर लिँदै सिर्जनशील युवा क्लबका पदाधिकारी तथा सदस्यहरु । तस्बिर साैजन्य
नीराेज लामिछाने ।

साथीहरु मिलेर साढे २ घन्टामै संग्रहालय सफाइ गरिएको क्लबका उपाध्यक्ष रोशन लामिछानेले सुनाए ।

घरमै बसिरहेकाले खेर गएको समयमा आफ्नै ठाउँमा भएको सम्पदा सफाई गर्न पाउँदा खुसी लागेको उनले बताए ।

‘संग्रहालयको अवस्थाबारे हामीलाई कसैले पहिले खबर नै गरेनन्,’ उनी भन्छन्, ‘लकडाउन, निषेधाज्ञाका कारण माथि उक्लिन २० मिनेटको बाटो भएपछि जान सकिएन । जानकारी पाएको भए पहिल्यै सफा गरिसक्थ्यौं ।’

सम्बन्धित संग्रहालय समितिले सफाइमा सहयोग मागे कुनैपनि समयमा सहयोग गर्न तयार भएको उनी बताउँछन् ।

तर, खेर गइरहेको समयमा युवाहरुलाई परिचालन गर्ने उपाय नजानेरै संग्रहालयको त्यस्तो हालत भएको उनको बुझाइ छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा उक्त तस्बिर नआएको भए अझै कति दिन त्यस्तै हालतमा संग्रहालयको अवस्था रहिरहन्थ्यो ।

सफाइपछि संग्रहालयको रुप पूर्ववत् जस्तै चिटिक्क देखिएको छ ।

सफापछि चिटिक्क देखिएकाे कविशिराेमणिकाे जन्मघर । तस्बिर साैजन्य
नीराेज लामिछाने ।

संग्रहालयका पछिल्ला तस्बिर उनीहरुले फेसबुकमा सेयर गरेका छन् । उनीहरुको कामलाई प्रतिक्रियामा सबैले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
लामो समयको बन्दाबन्दीका कारण सफाइमा बाधा पुगेको संग्रहालयका अध्यक्ष विश्वप्रकाश लामिछाने बताउँछन् ।

अवलोकनकर्ता आउन बन्द भएपछि आम्दानी पनि नभएकाले कर्मचारी राख्न नसक्दा स्याहारमा समस्या भएको उनको भनाइ छ ।

साविक लेखनाथ नगरपालिकाले संग्रहालयको संरक्षणका लागि १ कर्मचारी दिएको थियो । तर, पोखरा महानगरले उक्त कर्मचारी कटौती गरिसकेको छ ।

संग्रहालयको आफ्नै आम्दानीले नथेग्दा संरक्षणमा समस्या देखिएको लामिछानेले सुनाए ।

‘सफाइ गर्ने तयारीमै थियौं, सञ्चार माध्यममा तस्बिर आएपछि स्थानीय युवाहरुले समन्वय गरेर सफाइ गरिसक्नु भएको छ,’ उनले भने, ‘नियमित सफाइमा कर्मचारी राख्नुपर्ने हुँदा स्रोतको अभावका कारण संग्रहालयलाई समस्या परेकै हो ।’

खरको छानो र माटोले लिपेको घरमा दैनिकजसो सफाइ नहुँदा छिटै फोहोर देखिने भएकाले महानगरले कर्मचारी पुनः व्यवस्थापन गर्दियोस् भन्ने चाहना समितिको छ ।

सामान्य दिनमा ५०÷६० जना अवलोकनकर्ता पुग्ने उक्त क्षेत्रलाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कविशिरोमणि पौड्यालको घरलाई संरक्षण थालिएको थियो ।

कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै कविशिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी उद्यान निर्माण लगायतका कामहरु भइरहेका छन् ।

संग्रहालयमा कविशिरोमणिका बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र उक्त समयका रीतिरिवाज झल्कने सामग्रीको संकलन छ ।

पिकनिक स्पट, कार्यक्रम गर्न ट्रस्ट, प्रतीक्षालय, उद्यान संग्रहालयको छेवैमा छन् । पृथ्वीराजमार्गस्थित अर्घौचोकमा कविशिरोमणिको अर्धकदको शालिक निर्माण भएको छ । प्रवेशद्वारदेखि घरसम्म कविशिरोमणिका कविताका श्लोकहरु सिंगमर्मरमा कुँदेर सजाइएका छन् ।

तपाईको प्रतिक्रिया