स्याङ्जा जिल्ला अस्पताल सञ्चालनमा

समाधान संवाददाता २०७७ भदौ १० गते ५:१८

वालिङ

Advertisement

गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा साेमबारबाट पुनः सञ्चालन भएको छ ।

अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा मंगलबारबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशील मरासिनीले बताए ।

‘यहाँ अस्पतालमा उपचार गरिएका ६० वर्षीय एक कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो,’ मेसु मरासिनीले भने, ‘कन्ट्याक ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पिसिआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।’

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी गत मङ्गलबारबाट बन्द गरिएको सेवा अस्पतालको निर्मलीकरणपछि सञ्चालन गरिएको मेसु मरासिनीले सुनाए ।

Advertisement

कारागारमा बस्दै आएका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन सञ्चालक, सुरक्षाकर्मी, फार्मेसी लगायतको कन्ट्याक ट्रेसिङ गरी ७१ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । रासस

तपाईको प्रतिक्रिया