गिटी त कुटियाे, बिक्री गर्न सजिलाे छैन

समाधान संवाददाता २०७७ भदौ १० गते ५:३१

एसके थकाली
जोमसोम

लकडाउनमा सरकारले घरभित्रै बस्न र अनाआवश्यक हिँडडुल नगर्न आग्रह गर्‍यो । केही अति आवश्यकीय काममा बाहेक यात्रा नगर्न, मास्क अनिवार्य लगाउन र समुदायसँग रहँदा सामाजिक दुरी कायम गर्नुपर्ने भनेको छ । तर, मुस्ताङमा एउटा यस्तो वर्ग छ, जसलाई गिटी नकुटी जीवन चल्दैन । त्यो वर्ग मुस्ताङको नभई बाहिरबाट आएको मजदुर हो ।

ज्याला मजदुरी गरी जीवन निर्वाह गर्न लामो समयदेखि मुस्ताङलाई कर्मथलो बनाएका उनीहरुको दैनिकी नै गिटी कुटेर बालबालिका पढाउनु र पेट भर्नु हो । अहिले त्यो वर्गलाई प्राकृतिक प्रकोपका रुपमा देखा परेको कोरोना भाइरसले गिटी कुट्नलाई रतिभर बाधा पुर्‍याएको छैन ।

Advertisement

मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको ठिक ५० मिटर उत्तर र जोमसोम —कोरला सडक छेउमा एउटा ठूलो चट्टाने पहाड छ । त्यही पहाडको फेदमा करिब एक दर्जन विपन्न मजदुरको जीवन कथा गिटी कुट्ने कर्मसँग जोडिएको छ । त्यहाँ धादिङ, म्याग्दी, बागलुङ, रोल्पा र रुकुम लगायतबाट आएका मजदुरले गिटी कुट्ने काम गरेको पाइएको छ ।

चाहे हिउँदयामको माइनस डिग्री तापक्रमको चिसो र हिमपात परोस् उनीहरुको गिटी कुट्ने कर्म रोकिँदैन । बर्खायाममा गिटी कुट्न केही सहज भएपनि यसपटक उनीहरुले जिम्मा गरेको गिटी सजिलै बिक्री हुन सकेको छैन ।

Advertisement

कोरोना कहरका कारण विकास निर्माणको काम प्रभावित भएसँगै उनीहरुको पेसामा पनि असर परेको त्यहाँ गिटी मजदुर बताउँछन् । गिटी कुट्ने कतिपयले स्थानीयको खेतबारी अधियाँ कमाएर बसेका छन् । उनीहरुले हातका पाखुरा खियाएर जम्मा पारिएको १ ट्याक्टर गिटीको मूल्य ५ हजार रुपैयाँ पर्छ । १ ट्याक्टर गिटी संकलन गर्न १५ दिनसम्म लाग्ने मजदुरहरुको भनाइ छ ।

बर्सेनि महँगी अकासिँदै गर्दा गिटीको मूल्य ५ वर्षदेखि स्थिर छ । म्याग्दी खिबाङकी लिलमती रसाइली पनि कोरोना कहरका बीच परिवारको खर्च चलाउन जोमसोममा गिटी कुट्छिन् । लामो समयदेखि स्थानीयको खेतबारी कमाउँदै आएकी उनी लकडाउनमा घर फर्किएकी छैनन् ।

म्याग्दीबाट बालबच्चासहित मुस्ताङमा जीविकोपार्जन गर्न आएको उनले सुनाइन् । उनले मेहनत गरी थुपारेको गिटी पनि विकासको काम रोकिएकाले सजिलै बिक्री हुन नसकेको बताइन् ।

लिलमतिले मुखमा माक्स लगाएर कोरोनाबाट सुरक्षित रहँदै दैनिक कर्म गरेको जनाइन् । कोरोना माहामारीमा गिटी कुटेर बस्दा समय गएको पत्तै नहुने उल्लेख गरिन् । ‘अरु केही काम छैन । कोरोनाले सबै काम ठप्प छ, यो गिटी काम नगरे त भोकै मरिन्छ,’ उनले भनिन् ।

१० वर्षदेखि जोमसोममा गिटी कुट्दै आइरहेकी बाग्लुङ निसी घर भएकी मनीषा बुढा मगरले परिवार धान्न जोमसोममा हिउँदयामको ३ महिना गिटी कुटने काम र बर्खायाममा ज्याला मजदुरीको काम गर्ने गरेको बताइन् । यसपटक बर्खायाम भएपनि ज्याला मजदुरीको काम नपाइएकाले गिटी कुट्न थालेको जानकारी दिइन् । उनले कोरोना कहरले विकासको काम रोकिएपछि आफूहरु बेरोजगार बस्नुपर्ने अवस्था आएको उल्लेख गरिन् ।
….
मुस्ताङको घरपझोङ—४ जोमसोममा गिटी कुट्दै मजदुर । तस्बिर ःएसके थकाली ।

तपाईको प्रतिक्रिया