पोखराको साई अर्चना अस्पतालका सुरक्षा गार्डमा कोरोना

समाधान संवाददाता २०७७ भदौ १० गते ९:४९

समाधान संवाददाता, पोखरा

पोखराको साई अर्चना अस्पतालका सुरक्षा गार्डमा कोरोना पुष्टि भएको छ । पोखरा ११ स्थित उक्त अस्पतालका ४६ वर्षे गार्डमा बुधबार बिहान कोरोना पुष्टि भएको हो ।

शनिबारदेखि ज्वरो आउन थालेपछि स्वाब परीक्षणका लागि दिएकोमा आज पोजेटिभ देखिएको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । संक्रमितको ट्राभल हिस्ट्री छैन ।

Advertisement

योसहित पोखरामा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । तीमध्ये १ सय ६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

बुधबार ती गार्डसहित गण्डकी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका २३, नवलपुरका ७ र कास्कीका २ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पोजेटिभ देखिएका लमजुङका २३ मध्ये २० जना नेपाली सेना हुन् । बाँकी १ जना ग्लोबल आइएमई बैंकका कर्मचारी हुन् भने २ जना ट्रेसिङमा परेका हुन् ।

लमजुङको श्रीजंग दलमा कार्यरत जवानमा कोरोना पुष्टि भएपछि त्यहाँका अरु सैनिकको स्वाब संकलन गरिएको थियो ।

नवलपुरका संक्रमितमध्ये ६ जना कावासोती र १ जना गैंडाकोट नगरपालिकाका रहेको निर्देशनालयले जनाएको छ ।

कास्कीका अर्का संक्रमित मादी गाउँपालिकाका ३९ वर्षे पुरुष हुन् । उनी दुबईबाट आएको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ४५ पुगेको छ । तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, तनहुँ, गोरखा र म्याग्दीका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया