पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यकः नेता सिंह

समाधान संवाददाता २०७७ भदौ १० गते १७:४०

काठमाण्डाैं, रासस ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली काँग्रेसको विधान’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले काँग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताउनुभएको हो ।

Advertisement

“काँग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन, काँग्रेस बलियो बनाउनका लागि ठिक नेतृत्वको हातमा काँग्रेसलाई लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने उहाँको भनाई थियो । नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि मङ्गलादेवीले आवाज उठाउनुभएको उल्लेख गर्दैै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गर्नुभयो ।

Advertisement

पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गर्नुभयो । “मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्”, उहाँले भन्नुभयो ।

उहाँले दक्षिण एशियामा पहिलो महिलामन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रपति नेपाली महिला भएको बताउँदै नेपाली महिला अमेरिकी महिलाभन्दा पनि अगाडि भएको स्पष्ट पार्नुभयो ।

प्रतिशत भन्दा प्रतिस्पर्धा गरेर महिला अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । सामाजिक रुपान्तरणका लागि महिला लाग्नुपर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य सीता गुरुङले भन्नुभयो, “पार्टीको विधानले टोल, वडा, पालिका, प्रदेश र केन्द्रमा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेको छ, उक्त अधिकार कार्यान्वयनका लागि महिला सङ्घले दवाव दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सङ्घका अध्यक्ष उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला सङ्घको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । सङ्घका महासचिव धना खतिवडाले पार्टीभित्र देखिएको गुट, उपगुटको पछाडि महिला नलाग्न आग्रह गर्नुभयो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल, काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, झापा अध्यक्ष सुशीला ढकाल, कञ्चनपुर अध्यक्ष मधु भारतीलगायतले संविधानले ग्यारेन्टी गरेको महिलाको अधिकार प्राप्त गर्नका लागि पार्टी र सरकारलाई दवाव दिनुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया