गण्डकीमा चर्चा मन्त्री हेरफेरको, फेरिए सचिव

समाधान संवाददाता २०७७ भदौ ११ गते ५:३०

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश सरकारका मन्त्री परिवर्तनको चर्चा चलिरहेका बेला मन्त्रालयका सचिव फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ६० जना सहसचिवको सरुवा गर्दा गण्डकीमा ४ सचिव नयाँ आएका हुन् ।

गण्डकीमा कार्यरत ३ सचिव संघीय मन्त्रालय र मातहत सरुवा भएका छन् भने ४ जना सचिव गण्डकीमा आउन लागेका छन् ।

Advertisement
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव सवनम शिवाकाेटी अर्याल

नेपाल सरकारले वरिष्ठ सहसचिवमध्येबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेशका मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाउने प्रावधान छ । गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक तथा प्रशासन महाशाखा हेर्ने सचिव गणेशप्रसाद पाण्डेयको उद्योग मन्त्रालयमा सरुवामा भएको छ । उनको ठाउँमा गृह मन्त्रालयबाट इन्दु घिमिरे आउने भएकी छन् । तर पाण्डेयले अहिले सम्हालेको जिम्मेवारी मुख्यमन्त्री कार्यालयकै सचिव रामचन्द्र ढकालले पाउने भएका छन् ।

ढकाल शासकीय सुधार तथा समन्वय महाशाखा प्रमुख छन् । ढकालले सम्हालेको महाशाखा अब घिमिरेले हेर्ने भएकी छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाको सरुवा भएको छ । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको डोलिडारको महानिर्देशकको जिम्मेवारी पाएका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा डोलिडारकै महानिर्देशक रामचन्द्र श्रेष्ठ आउने भएका छन् ।

Advertisement

त्यसो त प्रदेश तह जुनसुकै कर्मचारीको आकर्षणमा पर्न सकेको छैन । मरहट्टा प्रदेशका सचिवमध्ये सबैभन्दा लामो समय टिक्ने भाग्यमानीमा पर्छन् । मन्त्री रामशरण बस्नेतकै गोरखा जिल्लाबासी भएको र काममा पनि मन्त्री – सचिवबीच लय मिलेकाले उनी यति लामो समय टिकेका हुन् । मरहट्टा २०७४ चैतबाट उक्त मन्त्रालयमा थिए ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा डा.महेश्वर ढकाल आउने भएका छन् । गएको माघमा आएका सचिव डा. दीपक खरालको सरुवा सघीय मन्त्रालयमा भएपछि ढकालले नयाँ जिम्मेवारी पाएका हुन् । सबैभन्दा बढी सचिव फेर्ने मन्त्रालय यही हो । प्रदेश संरचना स्थापनाकालका सचिव डा. बुद्धिप्रसाद पौडेलपछि मन्त्रालयमा आधा दर्जन सचिव फेरिएका छन् । एउटै मन्त्रालयले धेरै क्षेत्र हेर्नुपर्ने, मन्त्रीको लयमा सचिव चल्न नसक्ने भएकै कारण यो मन्त्रालयमा सचिव धेरै समय टिकेकै छैनन् । वनतिरका प्राविधिक कर्मचारीले सचिवकाे जिम्मा पाउँदा प्रशासनिक र आर्थिक कार्यभारकाे बाेझ धान्न समेत अप्ठ्याराे परेकाे मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सवनम शिवाकोटी अर्याल आउने भएकी छन् । यो मन्त्रालयका सचिव अच्युत ढकाल उमेर हदका कारण अवकाश भएपछि पद खाली थियो ।

२ वर्षमा मन्त्रिपरिषद हेरफेर गर्ने बताएका मुख्यमन्त्री अहिले मन्त्री फेर्न आन्तरिक तयारीमा जुबाटेका छन् । अहिले कम्तीमा ३ र बढीमा ४ मन्त्रालयमा मन्त्रीको जिम्मेवारी हेरफेर हुने स्रोतले जनाएको छ ।

अहिले प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल तथा सबै मन्त्रालयका सबै सचिव नयाँ आएका छन् । आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालयमा पनि नयाँ सचिव आएका छन् ।

गज्जबको संयोग के छ भने प्रमुख सचिवसहित अरु ३ सचिव स्याङ्जाका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका रामचन्द्र ढकाल, आर्थिक मामिलाकी चन्द्रकला ढकाल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका डा महेश्वर ढकाल स्याङ्जा त्याे पनि एउटै नेराेघेराेका हुन् । मुख्यमन्त्री कार्यालयबाट सरुवा भएका पनि स्याड्जाकै हुन् ।

अर्को संयोग यसपालि गण्डकी सरकारको सचिवमा ३ महिला आएका छन् । चन्द्रकला ढकाल यसअघि नै आर्थिक मामिला तथा याेजना मन्त्रालयमा छन् । इन्दु घिमिरे मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा र सवनम शिवाकाेटी अर्याल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आउन लागेकी हुन् ।

तपाईको प्रतिक्रिया