‘गरुँ मृत्युको गीत, नगरुँ कविवरको इच्छा’

समाधान संवाददाता २०७७ भदौ ११ गते ६:४२

रामबहादुर थापा
बागलुङ

संगीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीतमा धुन भर्नुपर्ने भयो ।

मूर्धन्य स्रष्टाको गीतमा संगीत गर्न पाउनु उनका लागि चुनौती र अवसर दुवै थियो । ‘गीतलाई न्याय गर्न सक्दिन कि भन्ने लाग्यो, संगीत गर्दिन भन्न पनि सकिनँ’, अविरलले भने, ‘एक किसिमको द्विविधाजस्तो भयो, गरुँ मृत्युको गीत, नगरुँ राष्ट्रकविजस्तो ‘लिजेन्ड’को इच्छा ।’

Advertisement

गत साता दिवंगत भएका कविवर घिमिरेद्वारा रचित उक्त गीत ‘त्यसरी होस् मरण…’ मा मृत्युकालिक कल्पनाको चित्रण छ । गीतमा गायक कर्णदासले स्वर दिएका छन् । ‘सागरमा ज्वारभाटा आउँदाको वर्णनजस्तो हो यो,’ अविरलले भने, ‘एउटा विशिष्ट परिस्थितिलाई लिएर बनाइएको गीत हो ।’ २ वर्षअघि रेकर्ड भएको उक्त गीत कविवर घिमिरेको निधनलगत्तै सार्वजनिक गरिएको थियो । विसं २०१६ मा रचित गीतलाई कविवर घिमिरेकै इच्छाअनुसार परिवारजनले रेकर्ड गराएका थिए ।

‘कविज्यूको परिवारका तर्फबाट अशेष शर्मा र मन्दिरा ढुंगेल संगीतका लागि मकहाँ आउनुभयो,’ संगीतकार अविरलले भने, ‘उहाँहरूले गीतका बारेमा सबै बताउनुभयो, मृत्युपछि बजाउनुपर्ने गीत भनेपछि त्यो त मेरा लागि मथिंगल हल्लाउने कुरा थियो, म केही डराएँ पनि ।’ परिवारका तर्फबाट निसंकोच काम गर्न आग्रह भएपछि आफू संगीतका लागि तयार भएको उनले सुनाए । पछि कविवर घिमिरेकी जेठी छोरी शान्ति अधिकारी बुबाको इच्छाअनुसार तयार पारिएको लोकशैलीको धुन लिएर संगीतकार अविरलकहाँ पुगिन् ।

Advertisement

‘सेलो गीतको धुनजस्तो परिकल्पना गर्नुभएको रहेछ, त्यसमै टेकेर मेरो धर्मले भ्याएसम्म र कविज्यूको इच्छा पनि नमर्ने गरी संगीतबद्ध गरें,’ उनले भने, ‘मृत्युको क्षण र प्रक्रियालाई संगीतमार्फत भन्नुथियो, सक्दो प्रयास गरें भन्ने लाग्छ ।’ उनलाई गीतमा संगीत गर्न महिना दिन लागेको थियो ।

कविवर घिमिरेका परिवारजन र आफूबीचको सल्लाहपछि स्वरका लागि गायक कर्णदासलाई रोजिएको संगीतकार अविरलको भनाइ छ । गीतको रेकर्ड उनकै राग रेकर्डिङ स्टुडियोमा गोप्यरूपमा गरिएको थियो ।

देशको विशिष्ट प्रतिभासँग जोडिन पाउनु आफ्नो सांगीतिक जीवनकालकै महत्वपूर्ण उपलब्धि भएको अविरलले बताए । ‘संगीतका लागि मलाई खोज्दै आउनुभयो, मेरो कामप्रति जुन विश्वास गर्नुभयो, त्यो मेरा लागि ठूलो सौभाग्य हो,’ उनले भने । गीत रेकर्ड भइसकेपछि कविवर घिमिरेलाई भेट्ने दृढ इच्छा भए पनि त्यो अधुरै रहेको अविरलले उल्लेख गरे । संगीतकारसँग भेट हुँदा गीतबारे कुराकानी हुनसक्ने र गोपनीयता गुम्ने डरले पनि भेटको वातावरण नमिलेको हुनसक्छ ।

कविवर घिमिरेले उक्त गीत आफूलाई नसुनाउन र मृत्युपछि मात्र सार्वजनिक गर्न परिवारजनलाई आग्रह गरेका थिए । गीतमा मृत्युको स्वीकारोक्ति छ । गीतको भावभूमि सहज मृत्युवरण हो । ‘कविज्यूको गहिरो सोच र विशाल हृदयको अभिव्यक्ति गीतमा छ,’ अविरलले भने ।

गीत सार्वजनिक भएपछि त्यसको संगीत पक्षलाई लिएर विभिन्न प्रतिक्रिया उब्जेको उनको भनाइ छ । ‘कतिपयले संगीतमा अपूर्णता छ भनेर पनि टिप्पणी गर्नुभएको छ, तर साहित्यिक र सांगीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरूले ऐतिहासिक गीत बन्यो भन्नुभएको छ, म उत्साहित छु ।’

मृत्युपछि बजाउन तयार गरिएको भए पनि उक्त गीत शोकगीत जस्तो नभएको उनको भनाइ छ । ‘मानिसलाई दुःखी बनाउने, रुवाउनेभन्दा पनि यो गीतको भाव अलिक भिन्न छ, त्यहीअनुसार यसको संगीत तयार गरिएको छ,’ अविरलले भने । गीतमा जीवन–दर्शन र सहज मृत्युको इच्छा प्रकट भएको उनको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका अविरलले हालसम्म १०० भन्दा बढी गीतमा संगीत दिएका छन् । आफ्नो २० वर्षको सांगीतिक जीवनकालमा झन्डै ४ हजार गीतमा संगीत संयोजन गरेका छन् ।

गायक नरेन्द्र प्यासी र गीतकार आनन्द अधिकारीसँगको सहकार्यमा सार्वजनिक आधुनिक गीत संग्रह ‘बास्ना’मा उनको संगीत छ । चलचित्र ‘ए मेरो हजुर’को गीतमा संगीतसँगै स्वर पनि अविरलले दिएका हुन् । लोकदोहोरी, चलचित्र, आधुनिक, गजललगायतका विधामा उनी सक्रिय छन् ।

तपाईको प्रतिक्रिया