सडक खुलेसँगै मुस्ताङमा भित्रिए गाडी

समाधान संवाददाता २०७७ भदौ ११ गते ६:४८

एसके थकाली
जोमसोम


म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र काभ्रेभीरको अवरुद्ध सडकको ट्र्याक विस्फोटक पदार्थ विस्फोटन गरी सोमबार बेनी—जोमसोम सिधा आवागमन चालु भएसँगै खाद्यान्न तथा पेट्रोलिय बोकेको ७ वटा मालवाहक ट्रक मुस्ताङ भित्रिएको घासा प्रहरी चौकीले जनाएको छ । चौकीका अनुसार सडक खुलेसँगै सोमबार ६ वटा र मंगलबार १ मालवाहक ट्रक मुस्ताङ भित्रिएको हो ।

यसअघि बेनी—जोमसोम ७६ किमी सडकको दर्जनांै स्थानमा बाढी/पहिरो र नदी कटानले झन्डै डेढ महिना लामो सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको हाहाकार भएको थियो । केही मालवाहक साधन आएपछि मुस्ताङमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको आपूर्तिसमेत भएको छ ।

बेनी—जोमसोम सोझो मार्ग खुलेसँगै पोखराबाट बेनी हुँदै आएका ७ वटा मालवाहक ट्रक भने म्याग्दीको खामभित्तामा रोकिएको घासा प्रहरी चौकीका इन्चार्ज निमप्रसाद तिमिल्सिनाले जानकारी दिए । त्यहाँ सोमबार राति आएको वर्षाले सडक असहज बनेपछि मुस्ताङतर्फ आएका मालवाहक ट्रक खामभित्तामा रोकिएको हो ।

Advertisement

मुस्ताङ प्रवेश गर्ने निकै अप्ठ्यारो र जोखिमयुक्त मानिएको काभ्रेभीर सडकमा निर्माण कम्पनी र नेपाली सेनाले एकसाता लामो प्रयासपछि सडक खुलेपनि त्यसको २४ घण्टा नबित्दै म्याग्दीको खामभित्तामा सडक अवरुद्ध भएको हो । निर्माण कम्पनीका अनुसार त्यहाँ सडा सफा गर्ने काम भइरहेको करिडोर सडकले जनाएको छ ।

बर्सेनि बर्खायामको मौसममा बेनी—जोमसोम सडकको म्याग्दी खण्डमा क्षणक्षणमा सडक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने सवारीलाई गन्तव्यमा पुग्न कठिन परेको हो । मुस्ताङको घासा प्रहरी चौकीले बाढी÷पहिरोले जोखिम हुनसक्ने जनाउँदै साँझ ६ बजेपछि सवारी चल्न रोक लगाएको जनाइएको छ ।

Advertisement

सडक खुलेसँगै कोरोना जोखिम
बेनी—जोमसोम सडकको सिधा आवागमन सोमबारबाट खुलेसँगै मुस्ताङमा कोरोना भाइरसको जोखिम बढ्न सक्ने अवस्था रहेको जनाइएको छ । गण्डकी प्रदेशमा मंगलबार १३ जना नयाँ कोरोना संक्रमित थपिएपछि अब गण्डकीमा २ सय ६६ जना सक्रिय कोरोना संक्रमित संख्या पुगेको हो ।

मुस्ताङसँग सिमाना जोडिएको मनाङमा मंगलबार २ जना र सोमबार म्याग्दीमा १ जना कोरोना संक्रमित पुष्टि भएको हो । मनाङमा संक्रमितको संख्या ५ मध्ये १ जना निको भई घर फर्किएका छन् । यसअघि मुस्ताङमा एकजना ८६ बृद्धमा कोरोना पुष्टि भएको र उनी उपचारपछि निको भई घर फर्किएका छन् । पछिल्लो समय गण्डकी प्रदेशमा मुस्ताङ मात्र कोरोना मुक्त जिल्ला भएको छ ।

यही अवस्थालाई कायम राख्न र सडक खुलेपछिको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ अन्तर्गत जिल्ला सिसिएमसीको आह्वानमा बिहीबार स्थानीय तह, कार्यालय, संघ संस्था लगायतको सर्वपक्षीय बैठकको आयोजना हुने जनाएको छ । बैठकले जिल्लालाई कोरोनामुक्त राखिराख्न ठोस कार्ययोजनाका साथ अघि बढाइने तयारी भइरहेको जिल्ला सिसिएमसीले बताएको छ ।

सरकारले शैक्षिक संस्थाहरुमा क्वारेन्टाइन स्थापना गर्न निषेध गरेको र संञ्चालनमा रहेका क्वारेन्टाइनहरु विस्थापन भइसकेकाले जिल्ला भित्रने व्यक्तिलाई सुरक्षित व्यवस्थापन गर्न कठिन परेको छ ।

सरकारले द्रूत परीक्षण आरडिटी चेकजाँच खारेज गरेपछि मुस्ताङमा कोरोना व्यवस्थापनमा समस्या पर्ने अनुमान गरिएको छ । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले शिक्षण संस्थामा क्वारेन्टाइन हटाएपछि त्यसको विकल्पमा आमा समूह भवन, सामुदायिक भवन, संघसंस्था भवन र होटल लगायतमा क्वारेन्टाइन व्यवस्थापन गर्न सकिने बताएकी छन् ।

क्याप्सन: सडक खुलेसंगै मुस्ताङमा भित्रिएका मालवाहक ट्रक ।

तस्बिर :किरण घिमिरे

तपाईको प्रतिक्रिया