कास्कीमा नेपाल प्रहरीको एप सार्वजनिक

समाधान संवाददाता २०७७ भदौ ११ गते १९:०५

समाधान संवाददाता, पोखरा

नेपाल प्रहरीले आम नागरिकको प्रयोगका लागि मोबाइल एप निर्माण गरेको छ । ‘नेपाल पुलिस मोबाइल एप’ ३ जिल्लाबाट एकैसाथ बिहीबार सार्वजनिक गरिएको हो । पहिलो चरणमा कास्की, मोरङ र ललितपुर जिल्लामा एप अपरेटिङ हुनेछ ।

कास्कीमा एप सार्वजनिक गर्दै प्रहरी प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठले प्रहरी र नागरिकबीचको दुरी कम गर्न सघाउ पुग्ने बताए । समुदायमा घट्ने आपराधिक क्रियाकलापहरुको छिटो छरितो तरिकाबाट प्रहरीसमक्ष सूचना पु¥याउन सकिने उनले बताए । अपराध नियन्त्रण, अनुसन्धान र प्रतिवादी फरार हुनबाट उम्कन नदिन एपको सहायताबाट नागरिकले दिएको सूचनाले प्रहरीलाई सहयोग पुग्ने एसपी श्रेष्ठले सुनाए ।

Advertisement

‘यो तत्काल रेस्पोन्सका लागि प्रभावकारी हुनेछ,’ उनले भने, ‘कुनै पनि घटनाको अडियो, भिडिओ र त्यससम्बन्धी विवरण लेखी एपबाटै प्रहरीकहाँ सूचना दिन सकिन्छ ।’ नागरिकले दिएको सूचना अत्यन्तै गोप्य रहने एसपी श्रेष्ठले जानकारी दिए ।

‘हेड अफिसमै त्यससम्बन्धी कन्ट्रोल रहने हुँदा गोपनीयता सुनिश्चित हुन्छ । जिल्ला कार्यालयमा २४ घन्टा खटिने कर्मचारीको टोलीले सूचनाको आधारमा सम्बोधन गर्छ,’ उनले भने ।

Advertisement

नागरिकले दिएका सूचना स्वरुपका सामग्रीलाई प्रमाणको आधार बनाई घटनालाई छरितो तवरबाट अनुसन्धान गर्न सकिने प्रहरीको विश्वास छ । कानुनी प्रक्रियाका लागि भने अपराध संहिताअनुसार नै कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान भने यथावत् नै रहेको एसपी श्रेष्ठले स्पष्ट पारे ।

एप प्रयोग विधिबारे गण्डकी प्रदेशका प्रहरी निरीक्षक गजेन्द्र आचार्यले जानकारी गराएका थिए । एप एन्ड्रोइड र आइओएस भर्सन दुबैमा उपलब्ध रहेको उनले बताए । नाम, इमेल र फोन नम्बर रजिस्टर गरेपछि एपमा उपलब्ध फिचरको सहायताले प्रहरीलाई सूचना दिन सकिने छ ।

जिपिएसका आधारमा सूचिकर्ता रहेको स्थान प्रहरीलाई सहजै थाहा हुने छ । प्रहरी कन्ट्रोल रुम १०० मा उपलब्ध सुविधाको जस्तै एपमा सम्प्रेषित सूचना जिपिएसमार्फत सम्बन्धित जिल्लामै पुग्नेछ ।

तपाईको प्रतिक्रिया