अभियानको पाँचौं दिन ३३ युनिट रगत संकलन

समाधान संवाददाता
पोखरा
पोखरामा रगतको चरम अभाव भएपछि लायन्स क्लब अफ पोखरा भद्रकालीले थालेको साताव्यापी अभियान अन्तर्गत चौथो दिन शुक्रबार बिहान बाटुलेचौरमा ३३ युनिट रगत संकलन भएको छ ।
बाटुलेचौरको नागरिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा कालिका मन्दिर परिसरमा कार्यक्रम भएको हो । सहकारीका अध्यक्ष पुष्पराज तिमिल्सिनाले पोखरामा रगतको अभाव भएपछि लायन्स भद्रकालीको आग्रहमा आकस्मिक रुपमा कार्यक्रम राखिएको बताए ।

लायन्स इन्टरनेसल डिस्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा र सहकारी अध्यक्ष तिमिल्सिनाले पहिलो रक्तदाता लक्ष्मी गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा शर्माले भद्रकालीले थालेको अभियान पाँचौ दिनसम्म आइपुग्दा सहभागिता र उत्साह बढ्दै गएको बताए । अहिले अन्य क्लब र संघसंस्थाले पनि आकस्मिक रुपमा रक्तदान कार्यक्रम राखेको उनले जनाए । नियमित रुपमा राखिएका कार्यक्रम कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण रोकिएपछि पोखरामा रगतको अभाव भएको थियो ।
बाटुलेचौरको कार्यक्रममा लक्ष्मी गौतम, जीवनचन्द्र देवकोटा, विमला अधिकारी, ओमबहादुर थापा, मनिराज तिमिल्सिना, राजेश शर्मा, सागर शर्मा, सुशील भट्टराई, सुरेन्द्र शर्मा, भैरव पोखरेल, सावित्री तिमिल्सिनाले रगत दिए । यसैगरी मन्दिप तिमिल्सिना, टंक अधिकारी, नारायणप्रसाद देवकोटा, सुवोध देवकोटा, अशोक गौतम, रितेश तिमिल्सिना, कृष्ण खड्का, विनीता लामिछाने, रक्षिता लामिछाने, विकल तिमिल्सिना र मनिष तिमिल्सिनाले रक्तदान गरे । हरिशचन्द्र खड्का, सीता खड्का, विशाल शर्मा, प्रकाश अधिकारी, सुन्दर बस्नेत, दिनेश श्रेष्ठ, सन्तोष शाही, कृष्णप्रसाद गौतम, अनिल सुनार, अग्निधर तिमिल्सिना र सुरज देवकोटाले रक्तदान गरेको सहकारीका उपाध्यक्ष समेत रहेका क्लब प्रथम उपाध्यक्ष कृष्ण शर्मा तिम्सिनाले जानकारी दिए ।
कार्यक्रममा स्थानीय युवा क्बल, आमा समूह तथा संघसंस्थाको सक्रिय सहभागिता थियो । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधकि कार्यक्रममा रक्तदान भएको हो ।
भद्रकाली लायन्सले गरेको कार्यक्रमको पहिलो दिन भद्रकाली चोकमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । दोस्रो दिन ग्रिन डेभलपमेन्ट सँगको सहकार्यमा सभागृह चोकमा १३ युनिट, तेस्रो दिन समाधान दैनिकको सहकार्यक्रममा नयाँबजारमा २४ युनिट रगत संकलन भएको क्लबका पूर्व अध्यक्ष भरत कोइरालाले बताए । चौथो दिन नदीपुरमा २० युनिट रगत संकलन भएको छ ।
छैटौं दिन शनिबार मानिसको आवतजावत हुने कुनै चोकमा कार्यक्रम गरिने क्लब अध्यक्ष संयुक्त धाख्वाले बताए ।
अझै पनि एबी पोजेटिभ समूहको रगत अभाव भएको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । रगतको अभाव पूर्ति गर्न आफूहरुले एम्बुलेन्स लिएर घरघरमै रगत संकलन गरिएको उनले बताए ।
रगत अभाव हुँदा अस्पतालमा नियमति शल्यक्रिया र डायलासिस समेत प्रभावित भएको छ । अब भने रक्तदानको लहर चलेको र निषेधाज्ञा पनि भदौ १२ गतेबाट सकिने भएकाले अब भने रगत अभाव नहुने विश्वास केन्द्र प्रमुख ज्ञवालीको छ ।
तपाईको प्रतिक्रिया