शिक्षक

समाधान संवाददाता २०७७ भदौ १३ गते ६:५३

—कथा—
उमेशप्रसाद रेग्मी

आज लामो समयपछि विद्यालयबाट फोन आयो उसलाई । सोच्यो अब तलब पाइने छ । सधै झैं बिहान उठेर उसले दाह्री काट्यो, आफूले लागाउने कपडामा आइरन लगायो र खाना खाएर निस्कियो । उसलाई त कसैले केहि भन्नु नपर्ने अनि उदाहरणीय शिक्षकको रुपमा सबैले चिन्थे ।
घरमा आफ्नो परिवारलाई पनि भन्यो । आज म विद्यालय जानु छ । उसको हातमा विगत छ सात महिनादेखि तलब परेको थिएन । एक प्रकारले त ऊ मानसिक रोगी जस्तै भइसकेको थियो ।


आज उसलाई पछुतो छ सरकारी जागिर नखानु, क्षमता हुँदाहुँदै पनि यही देशमा बस्नुपर्छ भन्ने भावना विकास हुनु, काममा समर्पित हुनु, अनि चाँडै अरुलाई विश्वास गर्नु ।


लकडाउन भएदेखि ऊ घर बाहिर गएको थिएन । विद्यालयको नतिजा प्रकाशन गर्नु पर्ने भएकाले आफ्नो गाँउ पनि जान सकेन । गाँउ पनि कसरी जाओस् । को नै थियो र उसको गाँउमा आफ्नो । आफ्ना जहान केटाकेटीलाई पनि पठाउने आट गर्न सकेन । नजिक थिएन जान पनि उसको गाउँ ।

गाउँबाट प्रथम श्रेणीमा एसएलसी पास गरेर पढ्न सहर आएको थियो ऊ । ऊ सँगसँगै उसका सपना पनि आएको थियो सहरमा । सिंगो गाँउमा प्रथम श्रेणीमा पास हुने ऊ मात्र थिायो । गाँउमा उच्च शिक्षाका लागि पढ्ने अवसर नहुँदा ऊ जस्तै कतिले पढाइ छाडे, कतिपयले घरजम गरी बसे । कतिपय भारतमा पैसा कमाउनका लागि गए । तर उसका बाबुले छोरालाई जसरी पनि पढाउने सपना बोकेका हुनाले सहर आउने अवसर प्राप्त गर्‍यो उसले ।

आफू र आफ्नो अनि सिंगो गाउँको सपना बोकेर सहर झर्दै गर्दा उसका आँखाबाट दुख र सुख अनि कौतुहलताको आँसु झरेको थियो । जति जति ऊ गाउँलाई छाड्दै थियो त्यति त्यति मनमा अनेक प्रश्न उब्जदै थिए ।
सहर जानुभन्दा अघिल्लो दिन उसले आफ्नी सरितालाई भेटेको थियो । आफूसँगै पढेर एस एल सी उतीर्ण गर्न नसक्दाभन्दा मैले गाँउ छोड्ने खबरले भक्कानिएकी थिइन् सरिता । त्यो साँझ उनीहरुले एक अर्कालाई नबिर्सने वाचा गरेका थिए ।

सहर जानका लागि ऊ जति जति ओरालो लाग्थ्यो सरिता त्यति त्यति तल ओर्लदै विदाइको हात हल्लाउँदै हुन्थिन् । उसले पनि डाडाले नछेकुन्जेल सरितालाई हेर्दै हेर्दै गयो । करिब एक बिहानको हिडाइ पछि उसले बस चढेर सहर आएको थियो । त्यो दिन जति अविरल पानी कहिल्यै परेको उसलाई थाहा थिएन ।

परिवारको एकमात्र सन्तान सहर जाँदा बा आमामा पनि चिन्ताभन्दा छोराको उन्नति प्रगति होला र बुढेसकालमा आफ्नो सहारा हुन्छ भन्ने । त्यसैले उनीहरुमा चिन्ता भन्दा पनि उत्तासह थियो । छोरो सफल हुनु भनेको गाँउ नै सफल हुन्छ, सबैले चिन्छन् भन्ने नै हो । सहरमा आफूले चिनेको टाढाको नाता पर्ने दाजुको घरमा केही समय बस्ने खाने व्यवस्था मिलाइदिएका थिए ।

विनय पनि सहर पुग्यो । बुवाले भनेको ठाउँमा केही महिनाको बसाई पछि विनयले आफ्नो बस्ने व्यवस्था पनि मिलायो । अनि पढ्नका लागि कलेज पनि । मेहनति विनय पढाइमा तेज भएका कारण उसले छात्रवृत्तिमा कलेज पढ्यो । कलेज पढ्दा ऊ अब्बल भएर आइएससीको अध्ययन सक्यो । उसले आफ्नो तन, मन सबै पढाइमा लगायो ।

जब उसले बिएस्सीको अध्यन सुरु भयो तब उसका दुखका दिन सुरु भयो । घरबाट पैसा आउन छाड्यो । आफैले कमाएर परिवार पाल्नुपर्ने अवस्था सिर्जना भयो । बुवा अचानक बिरामी हुन थाल्नुभयो । बुवा झन्झन् विरामी भएको खबर आउन थाल्यो । घर छोडेर आए पछि घर गएको थिएन विनय पनि । बुवाको अवस्था झन् झन् खराब भएका कारण सहर छोडेर विनय गाउँ जाने निर्णयो गर्‍यो । आफूले अलि अलि कमाएको पैसा बोकेर गाउँ गायो विनय ।

गाउँ पुग्दा बुवा आमाको अवस्था देखेर रुन मन लाग्यो । भने भन्दा धेरै नाजुक अवस्था भै सकेको रहेछ बुवा अमामको । सरिताले पढाइ छोडेर बसिछिन् । आफ्नो घरको काम भ्याएर विनयको बुवा अमाको हेरचाह पनि गर्दिरहिछिन सरिता । सरिता प्रति नतमस्तक भयो विनय । विनयलाई पढाउनका लागि उसका बाबुले भएका जग्गा जमिन बेच्दै पैसा पठाउदै गरेका रहेछन् । आज आफू विरामी हुँदा उपचार गर्ने पैसा पनि भएन र विनयलाई बोलाइएको रहेछ ।

विनय गाउँ गएको केही समयमा उसको बाबु, आमाको निधन पनि भयो । उसलाई असैह्य भयो । के गर्ने ?कसो गर्ने ? उसले सोच्न सकेन । केही समय आफ्नो गाउँ बसेर सरितालाई लिएर पुन सहर पस्यो । विनय जुन सपाना बोकेर सहर आएको थियो ती सपना चक्नाचुर भै सकेका थिए । सहर आएपछि कसरी अगाडि बढ्ने उसले केही सोच्न सकेन । पहिला पहिला त एक्लै ऊ फर्कदा आफूसँगै सरितालाई पनि लिएर आएको थियो । साथमा उसका एक छोरा र एक छोरी पनि साथमा थिए । उनीहरुलाई उतै छोडेर आउन सकेन ।

सहर आएर बसेको केही समय त उसलाई अन्योल भयो । उसले आफ्नो पढाइ सकेको थिएन । उसले फेरि पढाइ सुरु गर्यो । पढाइ सँगसँगै पढाउने काम पनि गर्न थाल्यो । टिउसन पनि पढाउन थाल्यो । राम्रैसँग चल्दै थियो घर । अचानक महामारीको रुपाम कोरोना देखा पर्यो ।
आफूसँग भएको केही पैसा पनि सकिइसकेको थियो उसको । आम्दानीको स्रोत पनि उसको त्यहि विद्यालयले दिने तलब र ट्युसनको पैसा मात्र थियो । चैतभन्दा अगाडिबाटै सकिएको थियो ट्युसन । फि नउठेको बहानामा फागुन देखिको तलब पनि आएको थिएन । चैतबाट लकडाउन भयो त्यसपछि त सबै कुरा ठप्प भयो । साथीभाइसँग सापटी मागेर पनि चलायो ।

विनय दंग पर्दै विद्यालय गयो । ठूलो उत्साह वोकेर विद्यालय गयो । प्रअले बोलाउँदै फागुन महिनाको तलब हातमा दिँदै अब विद्यालयले तपाईंहरुलाई पाल्न सक्दैन । अवस्था नाजुक छ । यो सुनेर विनयको मन खिन्न भयो । ऊ अवाक भएर फर्कियो । उसका सारा सपना सिसा झै चक्नाचुर भयो । उसले त वर्तमान देख्यो, न त भविष्य नै । आज उसलाई पछुतो छ सरकारी जागिर नखानु, क्षमता हुँदाहुँदै पनि यही देशमा बस्नुपर्छ भन्ने भावना विकास हुनु, काममा समर्पित हुनु, अनि चाँडै अरुलाई विश्वास गर्नु । यी र यस्तै कुरा सोच्दै आफ्नो कोठामा फर्कियो ।

हजारौँको भविष्य उज्ज्वल बनाउँदै गरेको एक शिक्षक आज आफ्नो जीवन नारकीय भएकोमा उसलाई चिन्ता थिएन । फेरि सबै ठिक हुने छ भन्ने आशाामा बसेको छ ।

हालः पोखरा

तपाईको प्रतिक्रिया