सुम्निमामाथि परिचर्चा

समाधान संवाददाता २०७७ भदौ १३ गते १६:१४

समाधान संवाददाता
पोखरा

Advertisement

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम अन्तर्गत शनिबार विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा उपन्यासमा जातीय समन्वय शीर्षक कार्यपत्रमाथि छलफल सम्पन्न भएको छ ।

कार्यपत्र प्रस्तुत गर्दै डा. भानु कँडेलले जातीय अध्ययनका विविध पाटा हुने भए पनि यसमा मूलतः आर्य र किराँतलाई सांस्कृतिक द्विचरका रूपमा लिएर तिनमा देखिने भिन्नतालाई अध्ययनको आधार बनाएको धारणा राखे ।

उनले कार्यपत्रको खास उद्देश्य उपन्यासकारले अनेकतामा एकताको मूल्य कसरी स्थापित गराएका छन् (मूलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि) भन्ने देखाउनु रहेको बताए ।

प्रेम र एक अर्कालाई बुझ्ने सामथ्र्य राख्नु नै व्यक्ति जीवन तथा सामाजिक एकत्वका लागि महत्त्वपूर्ण भएको बरु ती एउटै जाति÷सांस्कृतिक समूहका हुनुपर्छ भन्ने नरहेको कुरा नै सुम्निमाको अध्ययनका क्रममा देखिएको उनको निष्कर्ष थियो ।

Advertisement

कार्यपत्रमाथि टिप्पणी गर्दै डा. सवीन्द्र भण्डारीले उपन्यासले आत्मिकभन्दा शारीरिक पाटो महत्त्वपूर्ण छ भन्ने देखाएकाले मेल (हारमोनी) भन्दा बरु श्रेष्ठता÷प्रभुत्व (हेजेमोनी) बढी झल्केको छ भन्ने धारणा व्यक्त गरे । जातीय वा भिन्न संस्कृतिबिचमा मेलभन्दा पनि बरु संस्कारले शारीरिक आवश्यकतालाई दमन गर्ने भएकाले तीबाट मुक्त हुनुपर्छ भन्ने दृष्टिकोण उपन्यासमा देखिने उनको विचार थियो ।

कार्यपत्रमाथि प्रा. डा. विष्णुप्रसाद पौडेल, योगराज पौडेल, दीपेन्द्र पराजुली, डा. जगन्नाथ रेग्मी, डा. लक्ष्मीशरण अधिकारी, तारा पाखे, डा. टीकाराम आचार्य तथा लोकचन्द्र खनालले आआफ्ना धारणा व्यक्त गरेका थिए ।

उपन्यासले जातीय मेल नभई आर्य संस्कृतिको स्खलन गराएको केही वक्ताको धारणा थियो भने उपन्यास धेरै कोणबाट हेर्न सकिने बलियो रहेको तथा भिन्न वर्णका मानिसको मेलबाट नेपाललाई चाहिने खास मानिस जन्मन सक्छ भन्नेतर्फ उपन्यासले संकेत गरेको केहीको धारणा थियो । सैद्धान्तिक रूपमा अझ मसिनिएर आएका भए कार्यपत्र राम्रो हुनेतर्फ पनि उनीहरूले संकेत गरेका थिए ।

गुगल मिट मार्फत सम्पन्न कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीले गरेका थिए भने सञ्चालन सचिव डिल्लीराम पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया