तनहुँको मुग्लिनमा अस्थायी प्रहरी पोस्ट

समाधान संवाददाता २०७७ भदौ १३ गते २०:१३

पोखरा

तनहुँको आबुँखैरेनी गाउँपालिका मुग्लिन पुल जिपमा स्थापना भएको अस्थायी प्रहरी पोस्ट गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।

उक्त अवसरमा मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गर्ने बताउँदै कोरना भारसको संक्रमणलाई थप फैलन नदिन सिमा नाकामा हुनुपर्ने चेकिङ लगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरे ।

Advertisement

साथै प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रदेश अन्तर्गत आम नागरिकको सहज पहुँच हुने गरि प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचनाको विकास गर्न गण्डकी प्रदेश सरकार तत्पर रहेको समेत बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने साथै आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोवल उच्च हुने विश्वास व्यक्त गरे । प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परताप्रति उनले आभार व्यक्त गरे ।

Advertisement

कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय समाजसेवी लगायतको उपस्थिति थियो ।

गण्डकी सरकारले यसअघि प्रदेशको पश्चिम नाका रामदीमा पनि अस्थायी बिट स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया