सडकको वैज्ञानिक सर्भे नहुँदा प्राकृतिक स्रोतको विनास

समाधान संवाददाता २०७७ भदौ १४ गते ६:१७

एसके थकाली
जोमसोम

राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम—कोरला सडक अन्तर्गत बेनी—जोमसोम जोड्ने ७६ किमी सडकका कारण मुस्ताङ खण्डमा पर्ने थासाङ गाउपालिका ३ र ४ वडामा वनसम्पदा बिनास भएको पाइएको छ । बेनी—जोमसोम सडकको डिजाइन प्रविधिमैत्री हुन नसक्दा प्राकृतिक स्रोतसाधनको विनास भएको पाइएको हो ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । त्यससमय आयोजनाका इन्जिनियर र प्राविधिकहरुको वैज्ञानिक सडक सर्वे अध्ययन अभावका कारण बेनी—जोमसोम सडकको विभिन्न स्थानमा बर्सेनि बर्खायामको मौसममा वातावरणीय विनास हुँदै आइरहेको छ । त्यसो त सडक विस्तारको भौगोलिक सर्भेअघि त्यहाँका माटो परीक्षण लगायत अध्ययन गरिनु पर्ने हुन्छ ।

Advertisement

बेनी—जोमसोम सडकको म्याग्दी र मुस्ताङ खण्डको थासाङमा कमजोर भूसतहका कारण सडकसँगै आएको बाढी, पहिरो र नदी कटानले वनजंगलको विनास भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए । चालु आर्थिक वर्षको पहिलो महिनामा थासाङ गाउपालिकाको लेतेखोला, कैकु, मिसी र घाँसा लगायतका स्थानमा सडक माथिबाट आएको बाढी/पहिरोका कारण दर्जनौ रुख विरुवामा क्षति पुगेको कार्यालय प्रमुख दाहालको भनाइ छ ।

उनका अनुसार यसै वर्षमात्रै थासाङक्षेत्रमा पहिरोकै कारण करिब २ दर्जन विकसित रुखहरु ढलेर क्षति भएको हो । ढलेका रुखहरु सल्ला, धूपी र उत्तिसका छन् ।

Advertisement

सडक विस्तारले निम्त्याएको वातावरणीय विनासका कारण क्षति भएका रुखहरुको अहिले अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एकयापका प्राविधिक तथा संरक्षण व्यवस्थापन समिति र बन व्यवस्थापन समितिको संयुक्त टोलीले लगत उठाउने कार्य अघि बढाइएको छ ।

एक्यापका कार्यालय प्रमुख दाहालका अनुसार क्षति भएका रुखहरुको विवरण एकमुष्ठ संकलन गरी संरक्षण व्यवस्थापन समितिको जिम्मा लगाइने छ । अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप अन्तर्गत संरक्षण व्यवस्थापन समिति कार्ययोजनाको कार्यविधि अज्ञानताका कारण क्षति भएका रुखहरु थासाङ—३ लेते गाउँ समाजले गाउँबासीलाई वितरण गर्ने कार्य अघि बढाएकोमा वनसंरक्षण समितिले समितिको कार्यक्षेत्र र अधिकार आफूले लिएको छ ।

संरक्षण व्यवस्थापन समितिका अध्यक्ष विशााल शेरचनले समितिले क्षति भएका रुखहरुको लगत संकलन गरेको बताए । उनले संरक्षणक्षेत्र व्यवस्थापन कार्यविधि अनुसार मंसिरमा पूर्जी फुकुवा गरी आवश्यकता औचित्यताका आधारमा काठ र दाउरा स्थानीयलाई वितरण गर्ने योजना रहेको बताए ।

बेनी—जोमसोम सडकमा बाढी—पहिरो र नदी कटानले वनजंगलमा पुर्‍याएको क्षति । तस्बिर :एसके थकाली ।

तपाईको प्रतिक्रिया