जातीय विभेदविरुद्ध ‘आवाज’

समाधान संवाददाता २०७७ भदौ १४ गते ६:४६

समाधान संवाददाता
पोखरा


देशका विभिन्न ठाउँमा भइरहेका जातीय विभेदको घटनाप्रति पोखरेली युवाहरुको संस्था आवाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आवाजका अध्यक्ष प्रकाश सुनारले शनिबार विज्ञप्ति जारी गर्दै रुकुम सोती नरसंहार, झापाकी कृतिमानी राष्ट्रिय खेलाडीमा समेत भएको कुटपिट जस्ता घटना मानवसमाजको कालो धब्बाका रुपमा चित्रण गरेका छन् ।

देशमा जातीय विभेदकै कारण बारम्बार संवेदनशील घटना घटिरहनु र यसबारे राज्य गम्भीर ढंगले प्रस्तुत हुन नसक्नु २१ औँ शताब्दीको आधुनिक मानव समाजको कालो धब्बा भएको अध्यक्ष सुनारले उल्लेख गरेका छन् । ‘जातीय छुवाछुत गर्नु सामाजिक अपराध हो भन्ने संवैधानिक व्यवस्था भए पनि दिन प्रतिदिन यस्ता घटनाहरु बढ्दै जानु र कानुनको कार्यान्वयन फितलो हुनुले कानुनी राज्य र संविधानकै धज्जी उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता खालका सोच र व्यवहारले जरा गाडी राखे समाज रुपान्तरण हुँदैन र यसको ठूलो मूल्य राज्यले चुकाउनुपर्ने हुन सक्छ ।’

Advertisement

यस्ता घटनाहरुको सत्य तथ्य छानबिन गरी पीडकलाई संवैधानिक व्यवस्था अनुसार हदैसम्मको कानुनी कारबाहीको माग संस्थाले गरेको छ । साथै पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय प्रदान गर्न र कानुनी राज्यको अनुभूति दिलाउनसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गत ८ भदौ सोमबार जातीय विभेदसहित कुटपिट भएको थिए । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेदयुक्त गालीगलोज गर्दै चन्द्रकला र उनका श्रीमान् सुमन खातीमाथि आक्रमण गरेका थिए ।

Advertisement

लामगादेले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्णपदक जितेकी थिइन् । उनी नेपाल पुलिस एकेडेमीका खेलाडी हुन् । ७ महिनाकी गर्भवती उनको अहिले झापाको बिर्तामोडस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया