लेखनाथतिर सम्भावना छ, चासो छैन

समाधान संवाददाता २०७७ भदौ १४ गते २०:४५

भएका सम्भावनाको उचित प्रयोग गर्न नसकिएको साविकको लेखनाथ क्षेत्रका वडाध्यक्षहरु बताउँछन्

अनुप आत्रेय, पोखरा

२ पहाडको बीचमा ३ सय मिटरको पुल । अन्नपूर्ण हिमशृंखलाको आँगन । हरिया डाँडाकाँडा । बयली खेलिरहने शीतल पवन । अनि कञ्चन ताल ।तालको दुईतिरका डाँडा जोड्दै झोलुंगे पुल । पुलको बीचमा रेस्टुरन्टका क्याबिन ।

Advertisement

रुपातालमाथि यस्तै संरचना बनाउने योजनाको प्रस्ताव छ । अस्ट्रेलियाको अर्‍गाइल होटल ग्रुप यो परियोजना बनाउन बेफिक्री खर्च गर्न तयार रहेको पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापा बताउँछन् ।

यस्तो योजनाको प्रस्ताव वडाध्यक्ष थापाले महानगरपालिकामा राखेका पनि छन् । तर महानगरपालिकाबाट यो प्रस्ताव अघि नबढेको उनको दुखेसो छ। ‘मेयरसाबलाई भनेँ । उहाँले कार्यपालिकामा राख्छु भन्नुभयो । पटकपटकभन्दा पनि कहिल्यै राख्नुभएन,’ वडाध्यक्ष थापाले भने ।

Advertisement
रुपा तालमाथि बनाउन प्रस्ताव गरिएको रेस्टुरेन्ट क्याबिनसहितको झोलुङ्गे पुलको स्केच

रुपामात्रै होइन बेगनास तालमा पनि पर्यटक आवागमन बढाउन थुप्रै प्रस्ताव आए । तीमध्ये एउटा प्रस्ताव शंकर ग्रुप अन्तर्गतको जगदम्बा हस्पिटालिटी प्रालिले ल्याएको वडाध्यक्ष थापा बताउँछन् । कम्पनीले खेल गतिविधि सञ्चालन गरेर बेगनास ताललाई ‘इन्जोय जोन’ बनाउने प्रस्ताव गरेको थियो ।

उक्त कम्पनी बेगनास तालमा जेट स्की, फ्लाई राइड, नाइट कायकिङ, वाटर साइक्लिङ लगायत आधा दर्जन खेल गतिविधि गर्न चाहन्थ्यो । कम्पनीले विकसित देशमा समुद्रामा हुँदै आएका गतिविधि बेगनास तालमा गर्ने इच्छा देखाएको थियो ।तर, दुर्भाग्य त्यो प्रस्ताव पनि महानगरले अघि बढाएन ।

त्यतिमात्रै होइन, जगदम्बा हस्पिटालिटीले बेगनास ताल आसपासको जग्गामा पनि खेल पर्यटनको सम्भावना देखेको थियो । त्यही योजनालाई अघि बढाउन पहल गरिदिन आग्रह गर्दै कम्पनीले गत वर्ष असारमा वडा कार्यालयलाई आग्रह गरेको थियो ।

‘पर्यटक भुलाउन फेवाताल वरिपरि थुप्रै गतिविधि भइरहेका छन् । तर बेगनास ताल फेवाभन्दा पछि परिरहेको छ,’ जगदम्बा हस्पिटालिटीले वडाध्यक्षलाई लेखेको पत्रमा भनेको छ, ‘हामी बेगनास ताललाई इन्जोय जोन बनाएर पर्यटन विकास गर्छौं । यसले पोखरेली पर्यटन क्षेत्रमा ठूलो सफलता मिल्नेछ । साथै स्थानीयले रोजगारी पनि पाउने छन् ।’

खेल गतिविधिबाहेक ग्रुपले बेगनास तालमाथिको डाँडामा भ्युटावर र रिसोर्ट समेत बनाउने योजना बनाएको छ । ‘जगदम्बा ग्रुपले ५ वटा प्रस्ताव ल्याएको थियो । बेगनासमाथिको डाँडामा रहेको सार्वजनिक जग्गा ४९ वर्षलाई भाडामा मागेको थियो,’ वडाध्यक्ष थापाले भने, ‘पर्यटन विकास हुने देखेर यो विषय पनि मेयर साबसम्म पुर्‍याएको हो तर केही पहल गर्नुभएन ।’

बेगनास तालमाथिको डाँडामा बनाउने भनिएको भ्युटावरको स्केच

आफूले महानगरमा पुर्‍याएको प्रस्ताव मेयर जिसीले गम्भीरताका साथ नलिएको वडाध्यक्ष थापा बताउँछन् । यस्ता योजना कार्यान्वयन गरे लेखनाथले छुट्टै पहिचान पाउने उनको विश्वास छ । ‘पोखरा भन्नेबित्तिकै फेवाताल सुरुमा आउँछ । बेगनास, रुपा र लेखनाथलाई चिनाउने प्रोजेक्ट मैले लगेको थिएँ । तर उहाँ (मेयर जिसी) ले गम्भीरताका साथ लिनुभएन,’ वडाध्यक्ष थापाले सुनाए ।

फेवाताल आम्दानी गर्ने र पर्यटक आकर्षणको केन्द्र बनेको छ । बेगनास तालमा पनि सम्भावना छ । तर महानगरले स्प्रिट दिन सकेको छैन । बैठकमा पनिपटकपटक यो विषय उठेको छ । निजी क्षेत्रले पनि ठूलाठूला मेगा प्रोजेक्ट पनि देखाउनुभएको छ – निर्मल दियालीले , वडाध्यक्ष, पोखरा २८

बेगनासमा खेल गतिविधि र रुपामाथि पुल र रिसोर्ट बनाउन सम्भाव्यता अध्ययन गर्न वडाले १० लाख खर्च गरेको वडाध्यक्ष थापाले जानकारी दिए । डिपीआर गत वर्ष साउनमा नै बनेको थियो । तर अहिले वडा कार्यालयमै थन्किएको छ ।

अर्‍गाइल ग्रुप र शंकर ग्रुपलेमात्रै होइन द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले पनि बेगनास वरिपरि लगानी गर्ने टिम ल्याएका थिए । कोरियाली त्यो टिम बेगनासताल आसपास ठूलो पार्क बनाउन इच्छुक छ ।

भएका सम्भावनाको उचित प्रयोग गर्न नसकिएको साविकको लेखनाथ क्षेत्रका वडाध्यक्षहरु बताउँछन् ।

‘फेवाताल आम्दानी गर्ने र पर्यटक आकर्षणको केन्द्र बनेको छ । बेगनास तालमा पनि सम्भावना छ,’ पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले भने, ‘तालहरुमा सम्भावना धेरै छ । तर महानगरले स्प्रिट दिन सकेको छैन । बैठकमा पनिपटकपटक यो विषय उठेको छ । निजी क्षेत्रले पनि ठूलाठूला मेगा प्रोजेक्ट पनि देखाउनुभएको छ ।’

महानगर एक्लैले तालको विकास गर्न नसके संघ वा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढे आम्दानी राम्रो गर्न सकिने उनले सुनाए । पोखरामा रहेका केही सरकारी अड्डा लेखनाथमा राख्दा राम्रो हुने वडाध्यक्ष दियालीको सुझाव छ । ‘सबै सेवा पोखरा केन्द्रित भए भन्ने जनगुनासो पनि छ । पोखरामा स्पेस नै छैन, साँघुरिँदै गएको छ । केही अड्डा लेखनाथमा राख्दा राम्रो हुन्छ,’ उनले भने ।

साविकको लेखनाथ पोखरामा गाभिँदा केके नै हुन्छ भन्ने थियो । तर त्यस्तो पूरा भएन । हामी जनप्रतिनिधिले पनि जनताले सोचे अनुसार काम गर्न नसकेको साँचो हो – पूर्णकुमार गुरुङ, वडाध्यक्ष, पोखरा २७

पोखरासँग गाभिँदा लेखनाथ क्षेत्र पछि परेको पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ बताउँछन् । ‘साविकको लेखनाथ पोखरामा गाभिँदा केके नै हुन्छ भन्ने थियो । तर त्यस्तो पूरा भएन । हामी जनप्रतिनिधिले पनि जनताले सोचे अनुसार काम गर्न नसकेको साँचो हो,’ उनले भने ।

पोखरालाई फेवातालले नै चिनाएको छ । सर्वोच्चसम्म पुगेर फैसला भएको छ । प्राथमिकता सबैलाई दिने हो । त्यसैको आधारमा काम गर्दै जान पर्‍यो – मानबहादुर जिसी, मेयर, पोखरा महानगरपालिका

मेयर मानबहादुर जिसी लेखनाथ वा पोखराको पूरै क्षेत्रको विकासका लागि विधिअनुसार अगाडि बढ्ने बताउँछन् । ताल वरिपरि वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने र तालहरुको सीमांकन गर्न बाँकी रहेकाले धेरै प्रोजेक्टको प्रक्रिया अघि नबढेको उनले सुनाए ।

‘तालमा गतिविधि बढाउने भन्नेबित्तिकै ताल बेचेर खाए भन्ने हुन्छ । त्यसैले विधिअनुसार अघि बढ्नुपर्छ । पहिलो कुरा तालहरुको सीमांकन गर्नै बाँकी छ,’ उनले भने ।

मेयर जिसीले बाह्य लगानी आउनु पहिले आफ्ना पूर्वाधार पनि हुनुपर्ने सुनाए । ‘त्यहाँ हाम्रा पूर्वाधार पनि हुनुपर्छ । तालचोकदेखि बेगनास तालसम्मको बाटो बल्ल टेन्डरमा जाँदैछ । त्यो बनेपछि सहजीकरण गर्न त किन रोक्नपर्छ र !’ उनले भने ।

प्राथमिकता सबैलाई दिए पनि फेवाताललाई बढी प्राथमिकता दिनु स्वाभाविक भएको मेयर जिसीको भनाइ छ । ‘पोखरालाई फेवातालले नै चिनाएको छ । सर्वोच्चसम्म पुगेर फैसला भएको छ । प्राथमिकता सबैलाई दिने हो । त्यसैको आधारमा काम गर्दै जान पर्‍यो,’ मेयर जिसीले भने, ‘मेगा प्रोजेक्ट बन्न सक्छन्, बनाउने हो ।’

तपाईको प्रतिक्रिया