मुस्ताङ कांग्रेसका अभिभावक शेरचनको अन्त्येष्टि

समाधान संवाददाता २०७७ भदौ १५ गते १९:५२

एसके थकाली
जोमसोम, १५ भदौ

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङका पूर्व कार्यसमिति सदस्य थमबहादुर शेरचनको अन्त्येष्टि गरिएको छ । दम र प्रेसरले लामो समयदेखि थला परेका शेरचनको शनिबार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा ७८ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । मृतक शेरचनको अन्त्येष्टि गृहजिल्ला थातथलो कुञ्जोमा सोमबार गरिएको हो ।

शेरचनको जन्म विसं १९९८ साल भदौमा भएको थियो । लामो समयदेखि मुस्ताङ कांग्रेसको सांगठनिक विस्तारमा क्रियाशील शेरचन साविक कुञ्जो गाविसका पूर्व गाविस अध्यक्ष समेत हुन् । शेरचनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापअन्र्तगत संरक्षणक्षेत्र व्यवस्थापन समिति कुञ्जोको पूर्व अध्यक्ष तथा पछिल्लो समय नेपाली काँग्रेस गाउँ समिति अध्यक्षको भूमिका निभाएका थिए ।

Advertisement

शेरचनको पार्थिव शरीरको अन्त्येष्टिका लागि आइतबार उनका परिवारजनले कैलाश एअरको हेलीमार्फत मुस्ताङ ल्याएका थिए । शेरचनको पार्थिव शरीरलाई थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान गरे ।

यसैगरी नेपाली कांग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचनले थकालीले शेरचनको निधनले मुस्ताङ काँग्रेसले इमान्दार र कर्तव्यनिष्ठ प्रजातान्त्रिक अभिभावक गुमाएको बताए । पूर्वमन्त्री थकालीले आफ्नो फेसबुकमार्फत शेरचनको निधनप्रति गहिरो दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

Advertisement

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा थासाङ गाउँपालिका—५ का वडाध्यक्ष सोमल हिराचनले शेरचनको निधनले विकासप्रेमी तथा इमान्दार अग्रज अभिभावक गुमाउन परेको बताए ।

तपाईको प्रतिक्रिया