गण्डकीमा ट्राफिक प्रहरीको नमस्कार अभियान

समाधान संवाददाता २०७७ भदौ १६ गते ९:३४

समाधान संवाददाता, पोखरा

गण्डकीमा ट्राफिक प्रहरीले नमस्कार अभियान सुरुआत गरेको छ । आम नागरिक, सवारी चालकसँगको सौहार्दतामा वृद्धि गर्ने हेतुले शिष्टाचार स्वरुप ट्राफिक प्रहरीले नमस्कार अभियान थालेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय गगनगौडा पोखराले मातहतका जिल्ला ट्राफिक प्रहरीलाई आइतबारनै निर्देशन दिइसकेको छ ।

प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले सेवालाई सभ्य र सुसंस्कृत बनाउन नमस्कार अभियान सञ्चालन गर्ने योजना ल्याएका हुन् । एसपी ढकाल भदौ ११ गतेबाट ट्राफिक प्रमुखको जिम्मेवारीमा छन् ।

Advertisement

‘अभियान अन्तर्गत चेक पोस्ट, सीमानाका, कार्यालयहरुमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी कर्मचारीहरुले सेवाग्राहीलाई आदरयुक्त सम्बोधनसहित नमस्कार गर्नेछन्,’ प्रदेश ट्राफिक कार्यालयका सूचना अधिकारी टेकबहादुर कार्कीले भने, ‘तोकिएको कानुनबमोजिम कार्यसम्पादन गर्ने र अन्त्यमा धन्यवादसहित पुनः नमस्कार गर्नेछन् ।’

अभियान कार्यान्वयनका लागि कार्यालयका सिनियर प्रहरी अधिकृतको नेतृत्वमा अनुगमन हुने उनले बताए । अभियानले ट्राफिक प्रहरी र नागरिक बिचको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास कार्यालयको छ ।

Advertisement

एसपी ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । कार्यरत कर्मचारीहरुलाई कोरोना महामारीमा आफू बच्ने र अरुलाई बचाउने सम्बन्धीस्वास्थ्य मापदण्ड अनुसारका उपायहरु अवलम्वन गर्न निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया