दिनभर खुसी साटे, तर ‘स्याङ्जाली ठिटो’ घर पुग्न पाएनन्

समाधान संवाददाता २०७७ भदौ १६ गते २१:२३

थाहै नदिई घर पुगेर छक्क पार्छु भनी काठमाडौंबाट एम्बुलेन्समा आएका श्याम पंगेनीले वालिङको माजकोट दुर्घटनामा ज्यान गुमाए

अनुप आत्रेय, पोखरा

सामाजिक सञ्जाल फेसबुकमा खुब सक्रिय थिए । दिनकै १० वटासम्म पोस्ट हाल्थे । २ लाख ७४ हजार सदस्य रहेको ‘साया’ नाम गरेको ग्रुपमा धेरै पोस्ट गर्नेमध्ये पर्थे ‘स्याङ्जाली ठिटो’ । उनले लेखेको पोस्ट पढ्ने, सेयर गर्नेलाई उनको वास्तविक नाम पनि थाहा छैन । अनुहार पनि देखेका छैनन् । अब ती फलोअरले उनको पोस्ट पढ्न पाउने छैनन् ।

Advertisement

‘आजको दिन स्याङ्जाली जति खुसी को भयो होला र ? १ वर्षपछि घर जाँदै छु काठमाडौं छोडेर ।’ शनिबार उनले सामाजिक सञ्जालमा यही वाक्य पोस्ट गरेका थिए । उनको त्यो खुसी नै जिन्दगीको अन्तिम खुसी भयो । ‘स्याङ्जाली ठिटो’ अर्थात् श्याम पंगेनी आइतबार घाम झुल्कनु पहिल्यै दुर्घटनामा परे ।

घर पुग्नै लाग्दा उनी सवार एम्बुलेन्स सडकभन्दा २ सय मिटर तल खस्यो । पंगेनीसहित ४ जना सवार एम्बुलेन्स वालिङ नगरपालिका–५ माजकोटमा दुर्घटना भयो ।

Advertisement

चापाकोट नगरपालिका १० घर भएका उनी पढ्नलाई काठमाडौं बस्थे । एसएलसीपछि काठमाडौं गएर पंगेनीले विज्ञान संकाय रोजे । त्रिचन्द्र कलेजमा ब्याच्लर सकेका थिए । निषेधाज्ञाले काठमाडौंको बसाइ नियास्रो लागिरहेको थियो ।

गाउँकै एम्बुलेन्स काठमाडौं आएर फर्कन लागेको सूचना पाएपछि घर पुग्ने मन गरे । हिँड्ने बेलासम्म उनले घर जानकारी गराएका थिएनन् । ‘राति ९ बजे घर बा’लाई फोन गरेर थानकोट आएँ भनेको रहेछ । राति ११ बजे पनि मुग्लिङ आएँ भनेर फोन गरेको रहेछ,’ मृतक पंगेनीका ठूलाबुवा रामचन्द्रले भने ।

शनिबार घर हिँड्नु पहिले श्यामले लेखेका थिए, ‘सबैलाई बाटोमा जाँदा त्यहाँको पुरै अपडेट गराउँछु ।’ घरी आज घर जान सक्छु, घरी ९० प्रतिशत पक्का भयो, नभनी घर पुगेर सरप्राइज दिन्छु भन्दै शनिबार उनले सामाजिक सञ्जालमा पोस्टाइरहे । दैवले भने उनैलाई अकालमै सप्राइज दिएर जिन्दगी ह¥यो । अकालै ज्यान गुमाएर उनले परिवारलाई मूच्र्छा पारे ।

श्यामका पोस्टहरु पछ्याइरहने आशिका अधिकारी दुर्घटनामा परेर मृत्यु भन्ने कुरा पत्याउन सकिरहेकी छैनन् । ‘निशब्द छु साथी । सबैलाई खुसी बनाउने, दुख बिर्साइदिने मान्छे सबैलाई दुखी बनाएर गयौ । कतिबेला घर पुगेर पोस्ट गर्छौभनेर कुरेका थियौं,’ उनले श्यामको सम्झना गर्दै फेसबुकमा लेखेकी छन्, ‘घरमा थाहा नदिई हिँडेका तिमीले कस्तो सरप्राइज दियौ ?’

श्याम लकडाउनकै बीच घर फर्कन चाहन्थे । तर गाउँ फर्किने गाडी नै पाएनन् । त्यसपछि लोकसेवाको तयारी गर्छु भनेर काठमाडौंमै बसे । ‘लकडाउनको बीचमै फर्किन्छु भन्थ्यो । गाडी नपाएपछि लोकसेवाको तयारी गर्छु भनेर उतै पढेर बस्यो । गाउँ फर्किने अरुसँग पनि कुरा हुँदै थियो । एक्कासि एम्बुलेन्समा आएछ,’ ठूलाबुवा रामचन्द्रले भने ।

सडकमा खसेको पहिरो पन्छाउन चासो नदिँदा दुर्घटना भएको रामचन्द्र बताउँछन् । ‘बाटोभर सबै पहिरो गएको छ । गाडी झरेको ठाउँ पहिरोले गर्दा अझै साँघुरो छ,’ उनले भने, ‘पहिरो पन्छाएर छेकबार गर्नुपर्ने । सडक विभागको लापरबाही हो ।’

४ जना सवार एम्बुलेन्स दुर्घटना हुँदा चापाकोट ९ का भानुभक्त गैरेको पनि ज्यान गएको थियो । काठमाडौं सामाखुसीमा रेस्टुरेन्ट चलाउने उनी व्यवसाय बन्द भएपछि गाउँ फर्किएका थिए । गैरेकी ७ महिनाकी गर्भवती श्रीमती पवित्रा पोखरेलर चालक चापाकोट ९ का ३१ वर्षे सुरेन्द्र भण्डारी दुर्घटनामा घाइते भए । पवित्राको पेटको बच्चाको पनि प्राण बाँकी नरहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक सुरेन्द्र स्याङ्जा प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले अदालतबाट सवारी ज्यानसम्बन्धि मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मृत बच्चा पेटमै

दुर्घटनामा घाइते भएकी पवित्रा पोखरेलको पेटमै बितेको बच्चा अझै निकालिएको छैन । ‘औषधी चलाइरहेका छौं । त्यसले काम ग¥यो भने राम्रो हुन्छ । नभए अप्रेसन गर्छौं,’ अस्पताकी मेडिकल सुपरिटेन्डेन्ट डा टुमाया घलेले भनिन् ।

एम्बुलेन्स दुर्घटनामा पर्दा घाइते भएकी पवित्राको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । एम्बुलेन्स दुर्घटना पर्दा पवित्रा निद्रामै थिइन् ।

‘सुतिरहेकी थिएँ । घुम्तीबाट तल खस्न लागेको थाहा पाएपछि आबुई भनेँ । त्यसपछि होस नै पाइनँ,’ सुक्सुकाउँदै उनले भनिन् । एम्बुलेन्स खसेपछि उनी अस्पताल आइपुग्दासम्म अर्धचेत थिइन् । ‘के भयो थाहै पाइनँ । इमर्जेन्सी गाडीमा ल्याउँदा उठाएको थाहा पाउँथे । पुरै चेतमा आएकी थिइनँ,’ पवित्राले भनिन् ।

तपाईको प्रतिक्रिया