२ देशको पिसिआर रिपोर्टपछि मात्रै मुस्ताङमा

समाधान संवाददाता २०७७ भदौ १७ गते ७:४४

एसके थकाली
जोमसोम

Advertisement

मुस्ताङमा एकजना ८६ वर्षीय वृद्धले कोरोना जितेर घर फर्किएयता अरु संक्रमित भेटिएका छैनन् । मुलुकमै दुर्लभ ग्रिनजोनमा मुस्ताङ पनि परेको छ । गण्डकी प्रदेशको शून्य संक्रमित भएको एकमात्रै जिल्ला पनि यही नै हो ।

मुस्ताङलाई ग्रिनजोन कायम राख्न जिल्ला संकट व्यवस्थापन समिति (सिसिएमसी)ले ८ बुँदे निर्णय गरिसकेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका घमी र घिलिङका २ लामा र एक झुमाले कोरोना भाइरसप्रति सचेत रहँदै होसियारी र सावधानी अपनाएर सोमबार मुस्ताङ आइपुगे ।

८ वर्षदेखि भारतको देहरादुनस्थित तिब्बती कलेजमा अध्ययनरत उनीहरु स्वदेश तथा विदेशमा गरिएको पिसिआर रिपोर्ट, गाउँपालिकाको सिफारिसमा उपलब्ध ईकार्ड र पासको प्रमाणपत्रसहित मुस्ताङ आएका हुन् । देहरादुनबाट मुस्ताङ आउनेमा घमीका पेम्बा गुरुङ र यान्छिङ ढोकर गुरुङ छन् र घिलिङका कुङ्गा साङ्वो गुरुङ छन् ।

देहरादुनमा पढिरहेका पेम्वा र कुङ्वा लामा विद्यार्थीलाई गाउलेकै अनुरोधमा मुस्ताङ झिकाइएको हो । यान्छिङ भने गाउमा आमा सिकिस्त बिरामी परेकाले त्यसको रेखदेखका लागि मुस्ताङ आएका हुन् ।

Advertisement

मुस्ताङका कतिपय गुम्बाहरुमा बर्सेनी लामाहरु फेर्ने चलन छ । गुम्बाको नियमित पूजापाठ र चोखोपानी चढाउने लगायत काम गुम्बामा हुन्छ । यसका लागि पेम्बा र कुङ्गा लामा विद्यार्थीलाई गाउ झिकाइएको हो ।

दक्षिणी छिमेकी देश भारतमा कोरोना संक्रमितको सख्या उच्च रहेकाले पनि मुस्ताङसम्म आइपुग्दा उनीहरुले निकै ठुलो सास्ती व्यवहोर्न पुगे । भारतबाट नेपाल प्रवेश गर्दा उनीहरुले ईपास र पिसिआर रिपोर्ट साथमै लिएर गाउँ फर्किने तैयारी गरे । कलेजबाट गाउँ फर्किंदा उनीहरुको साथमा जम्मा ३० हजार भारु मात्र थियो । बोर्डरसम्म आइपुग्दा उनीहरुको १२ हजार भारु खर्च भयो । मुस्ताङ आउने क्रममा कास्की जिल्लाको सिमाना चेकपोस्टमा डिउटीका प्रहरीले सोधपुछ गरे ।

तर, त्यहाँ सुरक्षाकर्मीले भारतबाट आएको भन्दै पुनः उतै फर्किन आदेश भयो । प्रहरीले रोकपछि उनीहरु निराश बने । यसपछि उनीहरुले आफ्नो समस्या गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टलाई सुनाए ।

त्यसपछि सांसद बिष्टको सहजीकरणमा उनीहरु अगस्ट २४ मा पोखरा भित्रिए । उनीहरुलाई सांसद बिष्टकैै समन्वयमा पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर ३० को होटल ग्रेड पोखरामा क्वारेन्टिनमा राखे । क्वारेन्टिनमा रहँदा खाने र बस्ने सुविधा सम्बन्धित व्यक्तिले नै व्यवहोर्नु पथ्र्यो ।

होटलको ७ दिने क्वारेन्टिनमा रहदा उनीहरुको सबै पैसा त्यही सकियो भने केही पैसा होटललाई बुझाउन बाँकी रह्यो । हेटलमा बस्दा उनीहरुले त्यही पिसिआरसमेत गरेका थिए । यसपछि पिसिआरको रिपोर्ट सोमबार आएपछि गाउँ फर्किने तयारी गरे तर आर्थिक समस्या प¥यो ।

गाउँसम्म पुग्न र होटलमा बसेको ऋण तिर्न पोखरामा रहेका आफन्त र केही सहयोगीलाई आर्थिक याचना गरे । त्यसपछि त्यहाँको सबै खर्च मिलाएर सोमबारनै मुस्ताङतर्फ हानिए । उनीहरुलाई मुस्ताङ फर्किने क्रममा म्याग्दीको बेनी चेकपोस्टमा सोधपुछ भयो । भारतबाट फर्किएको भनेपछि त्यहाँको चेकपोस्टले उनीहरुलाई पोखरा फर्किन भन्यो । यसको समन्वय पनि सांसद बिष्टलेनै गरे ।

त्यसपछि म्याग्दी र मुस्ताङको घाँसामा सामान्य सोधपुछ र स्वास्थ्य जाँच गराएर सोमबार राति जोमसोम आइपुगे ।

उनीहरुले भारतबाट आउँदा २ देशको पिसिआर रिपोर्टको प्रमाणपत्र लिएर आएको बताए । लामा विद्यार्थी पेम्वा भन्छन्, ‘कोरोना कहरमा गाउँ फर्किन बाध्यता प¥यो, यहाँसम्म आउदा धेरै कठिन र आर्थिक समस्या व्यहोर्न पर्याे ।’ लामा विद्यार्थी यान्छिङ झुमाले आफू आमा बिरामी परेकाले बाध्यताले यो अवस्थामा गाउँ फर्किन बाध्य परेको बताइन् । उनले बाटोमा परेका समस्यालाई सांसद बिष्टले ठूलो सहयोग पु¥याएको उल्लेख गरिन् ।

अर्का लामा विद्यार्थी कुङ्गा साङ्वोले आफूहरु सुरक्षित स्वास्थ्य परीक्षण गरी गाउँ फर्किएको र गाउमा ७ दिन सेल्भ क्वारेन्टिनमा बस्ने जानकारी दिए ।

३ लामा विद्यार्थीको सहजकर्ताको भूमिका निभाएका सांसद ईन्द्रधारा बिष्टले होसियारी र सावधानीले मात्र मुस्ताङ ग्रिनजोन कायम रहने बताए । उनले भारतबाट फर्किएका विद्यार्थीले स्वदेश तथा विदेशको अलग—अलग पिसिआर गरेको र पोखरा आइपुग्दा आफ्नै निगरानीमा ७ दिन क्वारेन्टिनमा राखेको जानकारी दिए । यो बेला कोरोना माहामारीको विषम अवस्था रहेकाले मुस्ताङ फर्किने जोसुकैले पनि सकभर पिसिआर रिपोर्ट र प्रवेश पासको व्यवस्था गर्न सके कोरोनाबाट जिल्ला सुरक्षित रहन सक्ने दाबी गरे ।
….
भारतबाट मंगलबार मुस्ताङ आइपुगेका विद्यार्थी । तस्बिर ःएसके थकाली

तपाईको प्रतिक्रिया