ट्राफिक प्रहरीको नमस्ते

समाधान संवाददाता २०७७ भदौ १७ गते १०:१०

गण्डकीमा ट्राफिक प्रहरीले एउटा अभियान सुरु गर्‍यो— नमस्कार । अभियानको अभिप्राय छ—आम नागरिक, सवारी चालकसँगको सौहार्दतामा वृद्धि गर्ने । प्रदेश ट्राफिक प्रहरी सेवालाई सभ्य र सुसंस्कृत बनाउन नमस्कार अभियान सञ्चालन गर्ने योजना ल्याएको प्रष्टोक्ति सम्बद्ध अधिकारीले दिएका छन् ।

प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल भदौ ११ गतेबाट जिम्मेवारीमा आएपछि यस्तो नारा सुरु गरेका छन् । उनकै भनाइमा चेक पोस्ट, सीमा नाका, कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी कर्मचारीले सेवाग्राहीलाई आदरयुक्त सम्बोधनसहित नमस्कार गर्नेछन् ।

कुनै बेला नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ अभियान देशभर चलाएको थियो । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ उक्त अभियानको नारा थियो । मुस्कानसहितको सेवा, टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी, जिब्रोको गरिमा मीठो बोलीमा अभियान पनि नेपाल प्रहरीले चलाएकै हो ।

Advertisement

यस्ता नारा र अभियानको मक्सद भनेको नेपाल प्रहरीको सम्बन्ध समुदायसँग सुमधुर बनाउने नै हो । प्रहरीको छवि सुधार्ने हेतु पनि यस्ता नारा र अभियानभित्र थिए, छन् । वास्तविकता के हो भने प्रहरीको छवि स्वच्छ छैन, र सर्वसाधारणले प्रहरीमाथि झट्ट विश्वास गर्दैनन् । उल्टै असुरक्षित महसुस पनि गर्छन् । थुप्रै राम्रा र सुन्दर पक्ष नेपाल प्रहरसँग हुँदाहुँदै त्यस्तो अविश्वास र अस्वच्छ छवि हुनु पक्कै पनि कमजोरी हो ।

यस्ता नारा र अभियानले केचाहिँ प्रष्ट गरेका छन् भने कम्तीमा प्रहरी संस्थाभित्रै यी कमजोरीबारे यहसास छ । त्यस मानेमा अभियानका सुरुआतकर्ताहरु धन्यवादका पात्र हुन् । कतिपय सन्दर्भमा नेतृत्व फेरिसँगै नारा पनि फेरिने गरेको छ, त्यो भने व्यक्तिले आफूलाई क्षणिक हिरो बनाउने कमजोर प्रयास गरेको अर्थमै बुझ्न सकिन्छ ।

Advertisement

थुप्रै यस्ता नाराका बाबजुद पनि न प्रहरी संस्थाको छवि उकासिएको छ, न सर्वसाधारणको विश्वास उचो भएको छ । कारण अरु कोही होइन, प्रहरी संगठन नै हो । नारा र अभियानले मात्रै छवि सुधार नहुने रहेछ भन्ने यहसास अबको आवश्यकता हो । सुधारका लागि नारा र अभियान बदलिनु पर्दैन, व्यवहार बदलिए पुग्छ ।

ट्राफिक प्रहरीसँग निकै धेरैका गुनासा र दुखेसा के छन् भने उनीहरु रुखो व्यवहार गर्छन् । सडकमै सर्वसाधारण चालकलाई नमिठो बोल्छन् । अनावश्यक दुख दिन्छन् । नियम नमान्ने जनता एकातिर दोषी छँदैछन्, नियमको पालना गराउनेहरु दोषमुक्त छैनन् । यस्ता परिणामका अनेक कारण हुन सक्छन्, पहिला त्यसको निराकरण नेतृत्वतहले खोज्नुपर्छ । सेवा सुविधा न्यून हुनु, स्रोत साधन नहुनु लगायत दुख प्रहरीका लागि छँदैछन् ।

तसर्थ स्रोत साधनविहीन र जीविकोपार्जन धौधौ पर्ने बेतन पाइरहेको सिपाहीबाट नेतृत्वबाट लादिएको नारा र अभियान कार्यान्वयन जटिल हुनसक्छ । यो निकै संवेदनशील सवाल हो । यी र यस्ता कारण खोतलेर तिनको पनि निराकरण गर्दै प्रहरीलाई सार्थक जनसेवक र सुरक्षाकर्मी बनाउने मामलामा राज्यकै ध्यान जान जरुरी छ । यस्ता नारा र अभियानका खुद्रे प्रयासबाट मात्रै चुरोमा पुग्न सकिन्न ।

तपाईको प्रतिक्रिया