पालिकाको बुतामा रहेनछ पिसिआर

समाधान संवाददाता २०७७ भदौ १७ गते १५:१७

२८ जेठमा तनहुँका स्थानीय तहका प्रमुखहरु भेला भएर पिसिआर मेसिन किन्ने निर्णय गरेका थिए

समाधान संवाददाता, पोखरा

जेठ पहिलो सातादेखि पोखरास्थित प्रयोगशालामा स्वाबको थुप्रो लाग्यो । क्वारेन्टाइनमा बसेकाहरु घर जान पाएनन् । कति त रिपोर्ट कुर्दाकुर्दै संक्रमित बने । प्रदेशका विभिन्न जिल्लाका पालिकाले पोखराबाट रिपोर्ट आउने आश गरिरहे । तर रिपोर्ट आएन । जेठको दोस्रो हप्तासम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ हजार स्वाब पेन्डिङमा रह्यो ।

Advertisement

क्वारेन्टाइनमा राख्दाको खर्च र त्यहाँ बस्नेमा मानसिक तनाब सिर्जना हुने निष्कर्षसहित केही जिल्लाका पालिकाले आफै पिसिआर किन्ने निर्णय गरे । त्यसबेला पिसिआर किन्ने निर्णय गर्नेमा बागलुङ, तनहुँ, गोरखा लगायतका जिल्ला थिए । २८ जेठमा तनहुँका १० वटै स्थानीय तहका प्रमुखहरु भेला भएर पिसिआर मेसिन किनेर आफै कोरोना परीक्षण गर्ने निर्णय गरे ।

खर्च धेरै आउने भएपछि पालिका प्रमुखहरु अहिले आफ्नै निर्णयबाट पछि हटेका छन् । पोखराकै ल्याबमा प्रयोगशालाकर्मी अभाव भइरहँदा पिसिआर किनेर चलाउने निर्णय गरेका पालिका प्रमुखहरुको आँखा बल्ल खुलेको छ ।

Advertisement

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भने उक्त खरिद प्रक्रिया स्थगित भइसकेको बताउँछन् । मेसिन किनेर त्यसको प्रयोग र व्यवस्थापनमा ठूलो खर्च आउने देखेपछि उक्त प्रक्रिया स्थगन गर्नुपरेको सुनाए ।

उनका अनुसार पिसिआर मेसिन खरिद गरेर त्यसलाई राख्न ७ कोठे नयाँ भवनसँगै धेरै जनशक्तिलाई आवासीय सेवा दिएर राख्नुपर्ने भएपछि त्यो प्रक्रिया स्थगित गरिएको हो ।

तनहुँका पालिका प्रमुख सहभागी बैठक

अहिले स्थानीय तहहरुले पिसिआर खरिद नगरी जिल्लामा आइसोलेसन बेड बढाउने तयारी थालेको उनले जनाए । ‘अहिले कोरोना परिक्षण मेसिन खरिद प्रक्रिया स्थगित गर्नुपर्‍यो, खर्च धेरै लाग्ने देखियो । नयाँ भवन देखि जनशक्ति ल्याउनु पर्दा गार्हो पर्ने भयो । पोखराबाट नतिजा पनि छिटोछरितो आइरहेको छ,’ न्यौपानेले भने ।

मेसिन खरिद र त्यसपछिको व्यवस्थापनका लागि १ करोड रुपैयाँ सबै पालिकाले प्रतिशतको आधारमा व्यहोर्ने निर्णय पालिका प्रमुखले गरेका थिए । शुक्लागण्डकी नगरपालिकाले १४ लाख, व्यास नगरपालिका, भानु नगरपालिका र भीमाद नगरपालिकाले समान १२/१२ लाख व्यहोर्ने निर्णय बैठकले गरेको थियो ।

म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाले समान ९/९ लाख र देवघाट गाउँपालिकाले ५ लाख खर्च व्यहोर्ने गरि निर्णय भएको थियो । मेसिन राख्न आवश्यक पूर्वाधार निर्माणको जिम्मा शुक्लागण्डकी नगरपालिकालाई दिइएको थियो ।

म्याग्दे गाउँपालिकाकी प्रमुख मायादेवी रानाले मेसिन किनेर ल्याएपछि राख्ने कोल्ड स्टोर नहुँदा मेसिन खरिद गर्न नसकिएको बताइन् । उनले अरु पालिका व्यवहारमा प्रतिवद्ध नबन्दा मेसिन खरिद प्रक्रिया कागजमैसीमित बनेको सुनाइन् ।

‘मेरै पालिकाले पुर्वाधार निर्माणको जिम्मा लिएको भए अहिलेसम्म पूरा गरिसक्थ्यौँ । निर्णय गरेकै ३ महिना पुगिसक्यो । अरु पालिकालाई जिम्मा दिँदा अलपत्र पर्‍यो,’ रानाले भनिन् । पालिका प्रमुखहरुको भेलामा अध्यक्ष रानाले नै पिसिआर किनेर आफै परीक्षण थाल्दा राम्रो हुने प्रस्ताव लगेकी थिइन् ।

समुदायस्तरमा कोरोना पुग्न नदिन आफुहरु निकै सक्रिय भएर लागिपरेको गाउँपालिका अध्यक्ष राना बताउँछिन् । ‘अब अरु पालिकाको कुरा सुन्न भन्दा आफ्नै पालिकामा कोरोना संक्रमण रोक्न प्रयासरत छौँ, समुदायमा परिक्षण बढाएका छौँ,’ उनले सुनाइन् ।

प्रदेश क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा असार पहिलो हप्तादेखि कोरोना परीक्षण सुरु भएपछि पेन्डिङमा रहेका स्वाब १५ दिनमै परीक्षण गरेको सकिएको थियो । क्षयरोग उपचार केन्द्रबाहेक पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि कोरोना परीक्षण हुँदै आएको छ ।

दुवै ल्याबबाट गरेर दैनिक ८ सय बढी स्वाब परीक्षण भइरहेको छ । क्षयरोग उपचार केन्द्रमा असार पहिलो हप्तादेखि परीक्षण सुरु भएको हो भने क्षेत्रीय अस्पतालमा चैत तेस्रो हप्तादेखि परीक्षण थालिएको हो । गण्डकीमा हालसम्म ४८ हजार ३ सय स्वाब परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया