कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूलाई पत्र

समाधान संवाददाता २०७७ भदौ १८ गते ६:३७

किशोरदत्त बराल

आदरणीय दाजु,
जय नेपाल

दाजुले फेसबुक पेज मार्फत सार्वजनिक गर्नु भएका देश र पार्टी सुधारका १० सूत्रहरू ( अबका मेरा १० एजेन्डा ) धेरै पटक गम्भीरतापूर्वक पढें ।

Advertisement

दाजुले एउटा नयाँ अभ्यास सुरु गर्नु भएकोमा अरू साथी भाइहरू जस्तै म पनि त्यही हाराहारीमा खुसी छु । यसका लागि दाजुप्रति आभार व्यक्त गर्दछु ।

दाजुका १० ओटै सूत्रहरू अत्यन्तै सान्दर्भिक छन् तापनि ‘नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने’ भन्ने ६ नम्बरको बुँदाले धेरै नै आकर्षित गर्‍यो । यो उद्देश्य पूरा गर्न गराउनका लागि आवश्यक पर्ने समय सीमा सहितको कार्ययोजना बनाउनका लागि अवश्य पनि तपाईं अहोरात्र खटिरहनु भएको हुनुपर्छ ।

Advertisement

परिपक्व र यथार्थ धरातलमा उभिएको विचार र कार्ययोजना निर्माणका लागि विभिन्न विद्वानहरूबाट लेखिएका पुस्तक र रचनाहरू सन्दर्भ सामग्रीहरूको रूपमा खोज्ने र पढ्ने काममा पनि दाजु लाग्नु भएको छ भनेर म सहज अनुमान गर्न सक्दछु ।

यसैले नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने भन्ने दाजुको अभियानमा सहयोग गर्नका लागि सन्दर्भ सामग्रीका निम्ति अलिकति भए पनि मेरा आफ्ना केही विचारहरू राखेको छु । मेरा यी विचारहरूले दाजुको यो अभियानमा अलिकति भए पनि स्थान पाए भने म धन्य हुने थिएँ ।


विश्वव्यापीकरणको सीप र शैलीलाई हाम्रो स्थानीय सीप र शैलीसँग जोडेर हाम्रो ग्रामीण अर्थतन्त्रलाई ग्लोकोलजाइजेसनको मोडेलमा सञ्चालन गर्ने हो

. २०४८ सालपछि नेपाली कांग्रेसका नेताहरूमा रातारात आएको आर्थिक जीवनको परिवर्तनका बारेमा नेपाली जनताहरू धेरै नै संशकित छन् । सशंकित जनताहरूको साथ लिएर कुनै पनि पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन सकिँदैन । यसैले शंका निवारणको पहिलो अभ्यास तपाईंले आफैबाट सुरु गरिदिनु भयो भने त्यही बिन्दुबाट नै नेपाली कांग्रेस नेपाली जनताको भरोसाको केन्द्र बन्ने महान् अभियान सुरु हुन्छ । कांग्रेसलाई बलियो बनाउनका लागि दुनियाँका अगाडि सार्वजनिक रूपमा भनिदिनुहोस् ‘मेरो सम्पत्तिको जाँचबुझ गर्नुहोस्, मेरो जे जति सम्पत्ति छ त्यसको आयस्रोत यो हो, मैले मेरो आयबाट यो सम्पत्ति आर्जन गरेबापत मैले राज्यलाई नियमअनुसार यति कर तिरेको छु, यदि मैले आर्जन गरेको सम्पत्तिको वैधानिकता देखिएन भने मेरो सम्पत्तिको राष्ट्रियकरण गरियोस् ।

बस्, यत्ति कुरा इमान्दारपूर्वक भनिदिनुहोस् र सम्पत्ति जाँचबुझका निम्ति मार्ग प्रशस्त गरिदिनुहोस् । तपाइँको १४÷१४ वर्षसम्मको जेल यात्राको मूल्य स्थापित गर्न तथा तपाईंले प्राप्त गर्नुभएको सन्त र इमान्दार नेताको कद कत्ति पनि घट्न नदिन तपाईंले यति त भनिदिनुहोस् । कांग्रेसको विजय यात्रा त्यहीँबाट सुरु हुन्छ । तपाईंले आफ्नो हिसाब किताब मात्र दिनुहोस् पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरूको हिसाब किताब कांग्रेसका सबै इमान्दार कार्यकर्ताहरूले माग्न थाल्नेछन् । यसरी माग्ने छन् कि तपाईंलाई अनुमान गर्न पनि गाह्रो हुनेछ । पार्टीका कार्यकर्ता र जनतामा यसरी उत्साह थपिनेछ कि तपाईंले यसो बोल्दाको क्षणभरमा नै तपाईंको अभियानको ७५ प्रतिशत कार्य स्वतः पूरा हुनेछन् । अब नेपाली जनताहरूले आवाज बिना सन्देश दिन सक्ने नेता खोजेका छन् । यसैले नेपाली कांग्रेसको प्रतिबिम्ब भाषण, लेखन र कोठे गफमा होइन तपाईंहरुको चाल, चरित्र, चेहरा र जीवन पद्धतिमा देखिने गरी कार्ययोजना निर्माण गरिदिनुहोला ।

. अनुशासनको अभावमा कुनै पनि पार्टी जनताको आकर्षणको केन्द्र बन्न सक्दैन भन्ने कुरा दाजुलाई स्मरण गराईरहनुपर्ने विषय होइन । तर एउटा कुरा स्मरण गराउनका लागि भने दाजुलाई नेपाली कांग्रेसको १२ औं अधिवेशनपछिका केही वर्षहरूतिर लैजान मन लाग्यो । जतिबेला स्व. सुशील कोइराला पार्टीको सभापति हुनुहुन्थ्यो र हालका सभापति शेरबहादुर देउवाले सरकार, पार्टी वा नियुक्तिका अन्य सबै ठाउँहरूमा ४० प्रतिशतको अंश भाग मागिरहनु भएको थियो । जसलाई तपाईंले नेपाली कांग्रेसको विधान विपरीतको कार्य, पार्टीभित्र गुटगत राजनीतिलाई प्रोत्साहन दिएर पार्टीलाई कमजोर बनाउन खोजेको भनेर आरोपहरू लगाइरहनु भएको थियो । जुन आरोपहरू मेरो मानसपटलमा अझै पनि ताजै छन् ।

मैले यसो भनिरहँदा शेरबहादुर देउवाको त्यो माग जायज थियो भन्ने कदापि पनि होइन । शेरबहादुर देउवाबाट गरिएको ४० प्रतिशतको माग शत् प्रतिशत गलत थियो भन्ने कुरा म दुनियाँको जुनसुकै तागतका अगाडि उभिएर बोल्न सक्छु । ठूलो ठूलो स्वरमा चिच्याउन र कराउन सक्छु । नेपाली कांग्रेसको १४ औ महाधिवेशनको घोषणा पश्चात पार्टीको केन्द्रीय विभागमा सभापतिवाट भए गरेका नियुक्तिहरु पनि अस्वाभाविक नियुक्तिहरु हुन् । यो क्रियाकलापहरु प्रतिको तपाईंहरुको विरोधलाई म पनि सम्मान गर्दछु । गलतलाई गलत भन्ने संस्कारमा हुर्किएकोले गलत कुरालाई गलत भन्दा हुने हानी नोक्सानीप्रति कत्ति पनि ध्यान जाँदो रहेनछ । त्यसैले मैले तपार्इंलाई स्मरण गराउन खोजेको विषय के हो भने हिजो शेरबहादुर देउवाले माग्दा गलत भएको ४० प्रतिशतको माग आज तपाइँका लागि किन जायज बन्यो ?

१४ औं महाधिवेशनको घोषणा हुनुभन्दा धेरै अगाडिदेखि नै विधानसम्मत गर्न गराउन खोजिएका प्रयासहरुप्रति पनि सहमतिको वहानामा तपाईंको निरन्तर विरोध के का लागि थियो ? कहिलेकाहीँ हरेक निर्णयहरूलाई सहमतिको आधारमा मात्रै टुंगोमा पु¥याउन कठिन हुन सक्छ भनेर विधानमा बहुमतको आधारमा निर्णय गर्न सकिने प्रावधान राखिएको हुन्छ जुन प्रावधान नेपाली कांग्रेसको विधानमा पनि छ ।

यसैले १३ औं महाधिवेशनबाट पार्टीको सभापति बन्नुभएका शेरबहादुर देउवालाई सक्छौ सहमतिको आधारमा पार्टी सञ्चालन गर, यदि त्यसो हुन सकेन भने बहुमतको आधारमा भए पनि निर्णय गर र पार्टीलाई गति देऊ, म तिम्रो जस्तो ४० प्रतिशतको भागको माग गरेर पार्टीलाई कमजोर बनाउन चाहन्नँ, विधानसम्मत काम गर, म तिम्रो साथमा छु भनेर हिजै देखि किन भन्न किन नसक्नु भएको ? यदि तपाईंले यसो भन्न सक्नुभएको भए तपाईंको उचाइलाई उफ्रिएर पनि आज कसैले भेटाउन सक्ने थिएन । यसबाट के देखिन्छ भने पार्टी सभापति शेरबहादुर देउवा र तपाईं दुबैजना विधानसम्मत तरिकाबाट पार्टीको नेतृत्व दिन सक्नुहुन्न भन्ने देखिन्छ । यसैले कांग्रेसलाई नेपाली जनताको आकर्षणको केन्द्र बनाउने योजना निर्माण गर्दा यो गम्भीरतातर्फ पनि ध्यान दिनुहोला ।

. तपाईंलाई नेपाली कांग्रेसभित्र प्रजातान्त्रिक समाजवादको व्याख्याताको रूपमा चिनिन्छ । यसैले पक्का पनि नेपाली कांग्रेसलाई नेपाली जनताको आकर्षणको केन्द्र बनाउने तपाईंको अभियानमा प्रजातान्त्रिक समाजवादले उच्च स्थान पाउने छ । तसर्थ योजना निर्माण गर्दा नेपाली कांग्रेस प्रजातान्त्रिक समजवादको लक्ष प्राप्तिका निम्ति उन्मुख छ भन्ने जस्तो अमूर्त भाषा शव्दहरूको प्रयोग नगरिदिनु होला । प्रजातान्त्रिक समाजवाद प्राप्तिका आधारहरू के के हुन् ?

प्रजातान्त्रिक समाजवादको नेतृत्व गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरूको आचरण, व्यवहार र शैली कस्तो हुनुपर्ने हो ? त्यस्तो आचरण, व्यवहार र शैलीका कुराहरू गर्दा हामीहरू कहाँनेर छौँ भनेर पनि हेक्का राखिदिनु होला । झण्डै २०, ३० वर्ष सम्म परोक्ष अपरोक्षरुपमा सत्तामा रहदा, देश र अन्य जिल्लाहरुको कुरा छाड्नुहोस हामीले श्रद्धा र भरोसा गरेका तपाई नेताहरुको जन्मस्थल तनहुँ र डडेलधुरामा समाजवादको प्रतिविम्व कस्तो आयो ? त्यसको अलिकति झल्को तपाईंको योजना निर्माणमा पनि पारिदिनु होला ।

हामीमध्ये अधिकांशलाई जानकारी छ, राजनैतिक स्वतन्त्रता र आर्थिक समानता रहेको एउटा पूर्ण राजनैतिक व्यवस्थाको नाम हो प्रजातान्त्रिक समाजवाद । यो कुनै कोरा सिद्धान्तमा आधारित विचार होइन । यसले त कार्लमाक्र्सले छुटाएर अधुरो बनाएको मानव मूल्य र वहुल विचारको क्षति पूर्ति गर्दछ । विपीको शव्दमा यो त नेपालको यथार्थ धरातलको विश्लेषण गर्दै निर्माण गरिएको एउटा उत्कृष्ट सभ्यता, संस्कृति र मानवतावादी दर्शन हो । यो दर्शनभित्र लुकेको आर्थिक समानताको पक्ष विवेकपूर्ण वितरणसँग सम्वन्धित छ ।

पर्याप्त उत्पादन नगरी समान वितरणको कुरा गर्दा त्यसले आर्थिक समानताको नाममा झनै ठूलो शोषण निम्त्याउने भएकोले केही अवस्थासम्म पुँजीवादी पद्धतिको विकास गरेर विवेकपूर्ण र न्यायोचित वितरणको आधार तयार गरेर मात्रै प्रजातान्त्रिक समाजवादको स्थापना गर्न सकिन्छ र एउटा सभ्य र सुसंस्कृत मानव सभ्यताको निर्माण गर्न सकिन्छ भन्ने कुरा नै विपीको प्रजातान्त्रिक समाजवादको मूल चुरो हो । यो चुरोभित्र लुकेको अर्को मार्मिक पक्ष भनेको विवेकको विकास हो । जसको आधारमा मात्रै विवेकपूर्ण वितरण गर्न सकिन्छ । विवेकपूर्ण वितरणका लागि विवेकपूर्ण चेतनाको आवश्यक पर्दछ । विवेकपूर्ण चेतनाको विकास कसरी गर्ने यो एउटा अहम विषय हो । यसैले समाजवाद नितान्त आर्थिक गतिविधिसँग जोडिएको विषय भएकाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आर्थिक गतिविधि वा सम्पत्ति आर्जनसँग जोड्ने क्रियाकलापहरूले मात्रै नेपाली कांग्रेसलाई समाजवादसँग जोड्न सक्छ ।

प्रजातान्त्रिक समाजवाद विवेकजन्य वितरणमा आधारित आर्थिक क्रियाकलाप भएका कारण वितरणका लागि वस्तुको उत्पादन पहिला शर्त हो । उत्पादन नगरी वा सम्पत्तिको आर्जन नगरी वितरण गर्न सकिने विषय पनि भएन । उत्पादन र वितरण कसले गर्ने हो ? उत्पादन नगर्नेले वितरण गर्ने नैतिक हक राख्न सक्छ कि सक्दैन ? उत्पादन क्रियाकलापसँग जोडिन नसक्नेले अर्कालाई उत्पादनको क्षेत्रमा जोडिनु पर्छ भनेर भन्दा सुहाउला कि नसुहाउला ? आफैं उत्पादनसँग नजोडिएको नेताले अरूलाई उत्पादनमा लाग्ने प्रेरणा जागृत गराउन सक्दैन । यहाँनेर के कुराको हेक्का राख्न आवश्यक छ भने नेपाली कांग्रेसले समाजवादको सही नेतृत्व किन गर्न सकेन भने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू समाजवाद प्राप्तिका निम्ति आवश्यक पर्ने कर्मसँग जोडिनै सकेनन् वा उनीहरूलाई जोडाउने प्रयास नै गरिएन । समाजवाद प्राप्तिका निम्ति गाउँसँग जोडिनु पर्दछ । गाउँसँग जोडिने भनेको कृषि र कृषिजन्य उत्पादनसँग जोडिने हो ।

विश्वव्यापीकरणको सीप र शैलीलाई हाम्रो स्थानीय सीप र शैलीसँग जोडेर हाम्रो ग्रामीण अर्थतन्त्रलाई ग्लोकोलजाइजेसनको मोडेलमा सञ्चालन गर्ने हो, कृषि पर्यटन र जलश्रोतलाई हाम्रो ग्रामीण अर्थतन्त्रको मूल आधार बनाउन त्यसका लागि आवश्यक पर्ने पूर्वाधार, सीप र क्षमताको विकास गर्ने व्यवस्थित कार्ययोजनाको निर्माण गर्ने हो र त्यसैमा लागि पर्ने हो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै चरित्र र व्यवहार दलाल पुँजिपतिको जस्तो तर लक्ष समाजवाद प्राप्तिको राख्दा त्यसले तालमेल राख्दैन । यसैले त नेपाली कांग्रेस नेपाली जनताको आकर्षणको केन्द्र बनेको छैन । यसैले नेपाली कांग्रेसलाई नेपाली जनताको आकर्षणको केन्द्र्र बनाउन तपसिल बमोजिमका अवधारणाहरूलाई मूर्तरूप दिन सकिने गरी तपाईंको योजनामा पारिदिनु हुन विनम्र अनुरोध गर्दछु ।


क) नेपाली कांग्रेसको योजना, एक नेता एक कृषि परियोजना,
ख) एक नेता, एक उद्यमशीलता,
ग) आवाज विनाको सन्देशको परिपक्कता , नेपाली कांग्रेसको आजको आवश्यकता,
घ) ग्लोकोलाइजेसनको अभियान, ग्रामीण अर्थतन्त्रको पहिचान,

यी माथि उल्लेखित बुँदाहरूभित्र लुकेको मर्मलाई विस्तृत रूपमा यहाँ चर्चा गर्न मन लागेको थियो । यसो हेरको त पत्र लामो हुन थालेछ । त्यसमा पनि समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादको व्याख्याता तपाईंलाई सबै कुरा विस्तृत रूपमा भन्नुपर्छ भन्ने पनि ठानिनँ ।

४. नेपाली कांग्रेसलाई नेपाली जनताको आकर्षणको केन्द्र बनाउने बारेको तपाईंको योजना निर्माण गर्दा एउटा के कुरालाई हेक्का राखिदिनु होला भने यतिखेर नेपाली जनताहरू नेपाली कांग्रेसको नेतृत्व पहिलो पुस्ताबाट झारेर अझै सम्भव भयो भने तेस्रो पुस्तासम्म ल्याउन चाहन्छन् । म पनि यही विचारको धेरै नजिक छु तर गणनाको उमेरलाई आधार मानेर मैले यसो भनिरहेको भने होइन । मेरो अध्ययन र बुझाइले मलाई राजनीतिमा उमेरको वहस बेतुकको वहस हो भन्ने निष्कर्षको धेरै नजिक पुर्‍याएको छ । राजनीतिमा उमेरको वहस होइन । कार्यक्रम, योजना, दृष्टिकोण र विचारको वहस हुनुपर्दछ ।

विचार, दृष्टिकोण र क्रियाशीलताको आधारमा मानिस बुढो वा युवा हुने हो । ब्रेन प्लास्टिसिटी वा न्युरोप्लास्टिसिटीका बारेमा गरिएका अध्ययन र अनुसन्धानहरूले के भन्दछन् भने विचार र दृष्टिकोण निर्माण गर्नसक्ने सिर्जनशील मानिसको ब्रेनभित्र न्युरोनहरूको संख्या दिन प्रतिदिन बढिरहेका हुन्छन् । जसको ब्रेनमा न्युरोनको संख्या बढी हुन्छ, त्यही नै युवा हुन्छ । तर यहाँ नेपाली कांग्रेसको राजनीतिमा विशेष गरी पहिलो पुस्तामा के देखिन्छ भने तपाईंहरू उमेरको आधारमा मात्रै होइन विचार, दृष्टिकोण र सिर्जनशीलताको आधारमा पनि बुढो भइसक्नु भएको छ ।

तपाईंहरूको भाषा, शैली, विचार र व्यवहार हेर्दा तपाईंहरुकाे ब्रेनमा न्युरोनहरूको संख्या आवश्यकभन्दा धेरै नै घटिसकेको छ भनेर अनुमान गर्न सकिन्छ । (यसो भन्नका लागि सार्वजनिक सञ्जालहरूमा नेताहरूको विचार, दृष्टिकोण र व्यवहार माथि गरिएका टिप्पणी र कमेन्टहरुलाई प्रमाणको रूपमा लिइएको छ ) ।

यसैले नेपाली कांग्रेसको पहिलो पुस्ताका नेताहरूको नेतृत्वबाट नेपाली कांग्रेसलाई नेपाली जनताहरूको आकर्षणको केन्द्र बनाउन सकिने कहिँकतै पनि लक्षण नदेखिएकोले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व लिन युवा पुस्तालाई आव्हान गरेर देश, प्रजातन्त्र र नेपाली कांग्रेसका निम्ति इमान्दार बनिदिनुहोस् । यदि तपाईंले मेरो वा अर्काको भन्ने संकीर्णताभन्दा धेरै माथि उठेर भरोसा लाग्दो कुनै युवालाई नेपाली कांग्रेसको भावी नेतृत्वका लागि सार्वजनिक गरिदिनु भयो भने तपाईं आफ्नो अभियानको धेरै नजिक पुगिसक्नु भएको हुनु हुनेछ ।

दाजु, अन्त्यमा के कुरा भनुँ भने, मेरो यो पत्रलाई आधार मानेर वा यो पत्रको पिसकट देखाएर तपाईंको नजिक हुन खोज्ने मानिसहरूको संख्या भोलिदेखि अवश्य पनि बढ्ने छ । तपाईंको वैचारिक उचाइले मलाई केही नभने पनि मलाई गाली गर्ने र खिसिट्युरी गर्नेहरूको ठूलो जमात यो पत्रले मेरो विरुद्धमा अवश्य पनि तयार पार्ने छ भन्ने कुरामा पनि म पूर्ण रूपले सचेत छु । यो कुनै भावनामा बगेर लेखिएको क्षणिक र आवेशजन्य प्रस्तुति होइन ।

यो लेखभित्र मेरो व्यक्तिगत स्वार्थभन्दा पनि देश, जनता र नेपाली कांग्रेसको स्वार्थ लुकेको छ । यो लेख पश्चात् राजनीतिक रूपमा म कहाँ रहन्छु ? यो मेरो चिन्ताको विषय हुँदै होइन । मेरो चासोको विषय भनेको बलियो र संगठित कांग्रेस निर्माण गर्ने र संगठित कांग्रेसको तागतबाट समृद्ध नेपालको चित्र कोर्ने हो । जुन नेताको वरिपरि धेरै कार्यकर्ताहरूको घेरा लाग्छ, त्यही नेता ठूलो भन्ने प्रवृत्तिले गर्दा कांग्रेसका कार्यकर्ताहरूको सिर्जनशीलता भुत्ते भएको छ । विचार र दृष्टिकोण निर्माण गर्न सक्ने सिर्जनशील मानिसहरू तपाईंले निर्माण गरेको घेराभन्दा धेरै बाहिर छन् । सिर्जनशील मासिहरू देश र जनताको बन्न चाहन्छन् । कुनै व्यक्ति विशेषको होइन ।

यसैले नेपाली कांग्रेसलाई नेपाली जनताको आकर्षण बनाउने हो भने सिर्जनशील मानिसहरूको खोजीलाई तपाईंको अभियानको केन्द्रमा राख्नुहोला । पार्टीभित्र विचार र दृष्टिकोण जन्माउने वातारण निर्माणको नेतृत्व लिन सक्ने क्षमता दाजुमा सधैंभर विकास भइरहन सकोस् । यही शुभेच्छाका साथ बिदा हुन्छु ।

जय नेपाल !
बराल नेपाली कांग्रेस कास्कीको महाधिवशेन प्रतिनिधि तथा नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया