श्रृंगार सामग्री बेचेर वृद्धाश्रममा सहयोग

समाधान संवाददाता २०७७ भदौ १८ गते ७:२०

समाधान संवाददाता
पोखरा

जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले वृद्ध–वृद्धाका लागि खाद्यान्न सहयोग गरेका छन् ।

सोह्र श्राद्धको अवसरमा पितृहरुको सम्झना गर्दै पोखराको बिरौटामा रहेको उक्त आमा समूहका २ सदस्यले बुधबार पोखरा १७ स्थित पोखरा वृद्धाश्रममा नुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्क लगायत सामग्री वितरण गरेको समूहका अध्यक्ष नन्दकुमारी गुरुङले जानकारी दिइन् ।

Advertisement

वृद्धवृद्धाका लागि सहयोग पुगोस् भनेर समूहमा आवद्ध पवित्रा पोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको सामग्री प्रदान गरेका हुन् ।

बन्दाबन्दीकै समयमा उनीहरुले श्रृंगारका सामग्री चुरा, पोते, तथा कुसन र गुडिया बनाएर बिक्री गरेका थिए । ती सामग्री बेचेर आएको आम्दानीबाट वृद्धाश्रममा सहयोग गरेको समूहका सल्लाहकार देवी थापाले बताइन् ।

Advertisement

सदस्यहरुले आफूहरुको पहिलो कमाइ नै समाजसेवामा खर्च गर्ने इच्छा देखाएको उनको भनाइ थियो ।

लकडाउनमा सिकेको सीप पछिसम्म पनि काम लाग्ने भएकाले पितृहरुको आशीर्वाद लिन वृद्धाश्रममा सहयोग लिएर पुगेको समूहका सदस्य अन्जु क्षेत्रीले बताइन् ।

त्यस्तै कोरोना महामारीको बेला आफूले आर्जन गरेको रकमबाट बुबाआमाको आशीर्वाद लिएर सहयोग गर्न पाउँदा खुसी लागेको समूहका सदस्य पवित्रा पोखरेलले बताइन् ।

कोभिड १९ को विषम परिस्थितिमा आमा समूहले गरेको पुण्य कार्यबाट निकै सहयोग पुग्ने वृद्धाश्रम सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले बताए । वृद्धाश्रममा अहिले १ सय ४ वर्षीय वृद्धसहित ५५ जना आश्रित छन् ।

तपाईको प्रतिक्रिया