नेपाल प्रहरीको सशस्त्र गणमा खाना खाएका थिए संक्रमण पुष्टि भएका सांसदले

समाधान संवाददाता २०७७ भदौ १८ गते ११:२५


Advertisement

समाधान संवाददाता
पोखरा

बुधाबार राति कोरोना पुष्टि भएका गण्डकी प्रदेश सभाका सांसदले नेपाल प्रहरीको सशस्त्र प्रहरी गणभित्र त्यहाँका प्रमुखसँग खाना खाएको खुलेको छ ।

उक्त गणबाट स्याङ्जामा खटिएका प्रहरीमा कोरोनाका पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुखसहित धेरै जनामा कोरोना पुष्टि भएर आएसोलेसनमा रहेपछि उक्त गणबाट प्रहरी स्याङ्जा गएका थिए ।

उनीहरु फर्केर आएपछि गणकै अरु प्रहरीमा पनि एकपछि अर्कोमा कोरोना पुष्टि भएको छ । त्यहाँका प्रहरीमा धमाधम कोरोना पुष्टि भएपछि ती सांसदले शंकाका आधारमा स्वाब परीक्षण गराएका थिए । उनले भने, ‘नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका प्रमुखसँग डेढ साता पहिला खाना खाएको थिएँ, त्यहाँका प्रहरीमा कोरोना पुष्टि भएपछि मैले परीक्षण गराएको हुँ ।’

Advertisement

समाधानसँँगको कुरानाकानीमा उनले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरे । तर धेरै मिडियाले उनको नामसहित फोटो पनि प्रकाशन गरिसकेका छन् ।

स्वाब दिएपछि पनि आफू धेरैतिर हिँडेकाले सम्पर्कमा आए जतिलाई सावधान रहन र स्वाब परीक्षण गराउन आग्रह गरेको उनले बताए । स्याङ्जाबाट निर्वाचित ती सांसद प्रदेश सभाको १ संसदीय समिति सभापति हुन् ।

भदौ १४ गते उनको स्वाब संकलन गरिएको बुधबार साँझ नतिजा आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनी अहिले पोखरास्थित आफ्नै डेरामा छन् । होम आइसोलेसनमा बस्ने कि अस्पतलामै जाने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । उच्च रक्तचापको नियमित औषधी खाने ती सांसदमा स्वासप्रश्वास समस्या पनि छ ।

उनी बुधबार सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेट भएका थिए । मुख्यमन्त्रीसँग भेट गर्न उनी बुधबारै पुगेको भए पनि व्यस्तताका कारण समय मिलेको थिएन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको बताए । उनले भने, ‘आज बिहानभर हामीले योजना बनाएका छौं, पहिला सम्पर्कमा रहेकाहरुको सूची तयार हुन्छ, त्यसछि काम थाल्छौं ।’

तपाईको प्रतिक्रिया