पोखराका ३७ वर्षे मृतक: दीर्घरोग थिएन, कोरोनाको शंका लागेपछि एक्लै बसेका थिए

समाधान संवाददाता २०७७ भदौ १८ गते २१:५५

अनुप आत्रेय, पोखरा

पोखरामा बिहीबार १ कोरोना संक्रमितको मृत्यु भयो । पोखरा महानगरपालिका ६ बस्ने ३७ वर्षे युवकको बिहीबार साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो ।

१५ भदौमा कोरोना पुष्टि भएपछि उनलाई लेखनाथस्थित सरुवा रोग अस्पतालको आइसोलेसनमा लगिएकाे थियाे। त्यहाँ उपचार गराइरहँदा थप समस्या भएपछि उनलाई क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा रेफर गरिएको थियो ।

Advertisement

‘उहाँमा फिभर थियो तर कुनै दीर्घ रोग थिएन । अक्सिजन दिइराखेका थियौं । आइसियु नै चाहिने भएपछि क्षेत्रीय अस्पतालमा पठाएका थियौं,’ सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीले भने ।

३७ वर्षे उनका छोरा र छोरी छन् । मृत्यु भएका ती पुरुष मासु पसल सञ्चालक हुन् । आफूलाई रुघा र ज्वरो आउन थालेपछि उनी छुट्टै बसेका थिए । ‘रुघाखोकी लागेपछि आफू कोठामा बस्नुभएछ । श्रीमती र छोराछोरी पसलमै बसेछन्,’ महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने, ‘दीर्घ रोग नभएका संक्रमितको मृत्यु भएकाले यो क्रिटिकल केस हो ।’

Advertisement

उनी पोखरामा कोरोनाबाट मृत्यु हुने पाँचौं संक्रमित हुन् । उनको शव पोखरा ३२ मजुवामा व्यवस्थापन गर्ने तयारी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए । ‘शव व्यवस्थापनलाई टोली मुभ भइसक्यो । १ घन्टाभित्र शव व्यवस्थापन हुन्छ,’ उनले भने । पोखरामा कोरोना संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

पोखरामा आजमात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये २८ जना पोखरा औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत छन् भने २ जना बगरस्थित मेगा बैंकका सुरक्षा गार्ड हुन् । कन्ट्याक ट्रेसिङमा परेपछि उनीहरुको स्वाब संकलन गरिएको थियो ।

एकैदिन ३ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा बिहीबार एकैदिन ३ संक्रमितको मृत्यु भएको छ । तनहुँ, कास्की र नवलपुरका १÷१ संक्रमितको मृत्यु भएको हो । कास्कीका संक्रमित पोखरा महानगरपालिकाका, तनहुँका संक्रमित म्याग्दे गाउँपालिकाका र नवलपुरका संक्रमित गैंडाकोट नगरपालिकाका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा ६ का ३७ वर्षे पुरुषको मृत्यु भएको हो । तनहुँकी ९२ वर्षीया वृद्धाको सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।

उनमा दम, मुटु तथा मृगौलाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । वृद्धा तनहुँकी तेस्रो मृतक हुन् । यसअघि तनहुँको व्यास नगरपालिका २ की २० वर्षीया युवतीको बुधबार काठमाडौंमा मृत्यु भएको थियो । त्यसभन्दा पहिले १ भदौमा व्यास १ की ५० वर्षीया महिलाको मृत्यु भएको थियो ।

नवलपुरका संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । गैंडाकोट नगरपालिका २ का ३७ वर्षे पुरुषको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

हेपाटाइटिस र मृगौला पीडित उनी गत ९ भदौमा अस्पताल पुगेका थिए । १० भदौमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कास्कीका ५, गोरखा र तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया