छयो र कुन्जो जोड्ने पुल निर्माणमा ढिलाइ

समाधान संवाददाता २०७७ भदौ १९ गते ६:४८

एसके थकाली
जोमसोम

थासाङ गाउँपालिका ५ को छयो र कुञ्जो गाउँ जोड्ने पुल निर्माणको काममा ढिलासुस्ती भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको अवधि डेढ वर्ष तोकिएको थियो । ३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।


पुलको डिजाइनै गलत भएको विज्ञले औंल्याएका थिए

Advertisement

राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक जोड्ने मुख्य राजमार्गको पूर्वतर्फ सय मिटर पर कुन्जो, ताक्लुङ, टिटी, झिप्रा देउराली र छयो गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गरी पक्की पुलको योजना परेको थियो ।

पुल निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवा कम्पनीले ११ करोड ३० लाख रुपैयाँमा लिएको छ । निर्माणाधीन पुलको लम्बाई १ सय मिटर र चौडाइ ७ दशमलव २० सेमी हो । ।

Advertisement

निर्माण कम्पनीले पक्की पुलका लागि कालिगण्डकी नदीको वारिपारि ४ वटा फाउन्डेसन वालसमेत उठाइसकेको थियो । पुलको काममा २५ प्रतिशत मात्र प्रगती भइरहँदा २०७५ सालको कालिगण्डकी नदीको बाढीले खोतलेर छयो तर्फको पूर्वको भागमा उठाइएको फाउन्डेसन विममा क्षति पु¥याउने देखिएपछि पुलको प्रि—डिजाइनको प्रक्रिया अघि बढ्यो ।

पुलको दीर्घकालीन भविष्यका लागि संघीय सांसद प्रेमप्रसाद तुलाचनले पुल हेर्ने विज्ञ टोलीसँग छलफल समेत चलाए । यसअघि भएको पुलको डिजाइन गलत भएको र त्यसको पूर्वतर्फ करिब ३० मिटर लम्बाइ बढाउनुपर्ने विज्ञ टोलीले सुझाव दिए । नेपालमा लामो समयदेखि पुलहरुको अनुगमन गर्दै आइरहेको स्वीजरल्यान्ड संस्था (एलआरपिएसयु)ले पुलको प्रि—डिजाइन गर्नुपर्ने निष्कर्ष निकाल्यो ।

सांसद तुलाचनले संस्थाका टोली प्रमुख बेनाम ढलिली र पुल डिजाइनर इन्जिनियर राजन मानन्धरसँग पुलको पछिल्लो अवस्थाका बारेमा परामर्श गरेका थिए । टोलीले अध्ययन गरेको एक वर्ष बितिसक्दा समेत प्रि—डिजाइनको मापदण्ड पूरा नभएकाले त्यस क्षेत्रका बासिन्दालाई पुल बन्ने भरोसा टुट्न थालेको छ ।

मुस्ताङका संघीय सांसद तुलाचनले छयो जोड्ने पूर्व सर्वे डिजाइन इन्जिनियरको प्राविधिक कमजोरीले प्रि—सर्वे गर्नुपरेको जानकारी दिए । कालीगण्डकी नदीको बाढीले पुलसंरचनाको फाउन्डेसन बिममा असर पर्ने विदेशी पुल हेर्ने संस्थाले ठोकुवा गरेपछि पुलको प्रि—डिजाइनको प्रक्रिया अघि बढेको सांसद तुलाचनको भनाई छ । उनले ढिलै भएपनि पुलको प्रि—डिजाइन कार्य अहिले सम्पन्न भइसकेका लागि जतिसक्दो चाँडो निर्माणाधीन पुलको काम अघि बढ्ने दाबी गरे ।

‘मुस्ताङमा पूर्वाधार विकास कार्यालय स्थापनाको तयारीमा छ । इन्जिनीयर र कार्यालयका कर्मचारी जिल्ला आइपुगेका छन्,’ सांसद तुलाचनले भने, ‘पूर्वाधार कार्यालयले पुरानै लागतमा ठेक्कामा काम गर्ने भनेको र निर्माण कम्पनीले भने डिजाइन परिवर्तन भएकाले पुरानो ठेक्कामा लागत वृद्धि गर्न माग गरेको छ ।’

अन्योलमा रहेको छयो ताक्लुङ जोड्ने पुलको काममा अब डिजाइन पूरा भइसकेकाले काम गर्न बाधा नपुग्ने उनले बताए । कोरोना महामारीका कारण निर्माण कम्पनीको इन्जिनियर मुस्ताङ आउन कठिनाई भएको र त्यसका लागि आवश्यक प्रक्रिया पूरा गराई काम सूचारु गर्न निर्देशन दिइने सांसद तुलाचनले जानकारी दिए ।

निर्माणाधीन छयो जोड्ने पुल बनेपछि गाउँका कृषि उपज वस्तुको सहज बजारीकरण गर्न पाइने टिटी, कुञ्जो, ताक्लुङ लगायतका गाउँलेको अपेक्षा रहेको वडाध्यक्ष सोमल हिराचनले बताए । थासाङका वडा—५ मा करिब एक सय ६० घरधुरी रहेको र उनीहरुले बर्सेनि २९ टनसम्म आलु उत्पादन गर्ने गरेको वडाध्यक्ष हिराचनको भनाइ छ । मलिलो माटो, उर्वराशक्तिले कृषि उपज उत्पादनमा थासाङको वडा—५ अग्रस्थानमा छ ।

त्यस क्षेत्रमा उत्पादन हुने फलफूल तथा तरकारी र अन्नबाली समयमै बजारसम्म पु¥याउन पुल नभएकाले अप्ठेरो परेको हो । पुल नबन्दा यस क्षेत्रका किसानले बर्सेनि लाखौंका घाटा व्यहोर्न बाध्य भएको कुन्जो गाउँका मुखिया देवचन्द शेरचनले बताए । उनका अनुसार थासाङ—५ मा बर्सेनि साउनमा खनेर बिक्री गर्नुपर्ने आलु पुल नभएकाले कात्तिकमा खन्नुपर्ने बाध्यता रहेको र यसले दोस्रो बाली लगाउन समस्या परेको हो ।
….
मुस्ताङको थासाङ—५ को कुन्जो, टिटी, ताक्लुङ र छयो जोड्ने निर्माणाधीन पुल । तस्बिर : एसके थकाली ।

तपाईको प्रतिक्रिया