पर्यटक आएनन्, आफै घुमफिरमा मुस्ताङी

समाधान संवाददाता २०७७ भदौ १९ गते ७:०१

एसके थकाली
जोमसोम

कोरोना भाइरस रोग (कोभिड—१९)को प्रभावका कारण विगत ६ महिनादेखि जिल्लामा पर्यटक आएका छैनन् । विगत वर्षहरुमा यही समय मुस्ताङ घुम्ने पर्यटकले तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका सानाठूला होटल पर्यटकले खचाखच भरिन्थे । मुस्ताङले नै थेग्न नसक्ने गरी पर्यटक जिल्लामा ओइरिन्थे ।

सबै खाले पर्यटन व्यवसायीलाई पाहुना उम्काउन सास फेर्ने समेत फुर्सद मिल्दैनथ्यो । सडक मार्गबाट दिनहुँ सयौं पर्यटक आउँथे भने हवाई सेवामार्फत पनि दैनिक २ सयदेखि ३ सय पर्यटक मुस्ताङ भित्रिन्थे । बर्खायाम लागेपछि दैनिक १२ देखि १८ पटकसम्म हवाई उडान हुन्थ्यो ।

Advertisement

पछिल्लो समय मुस्ताङ आउजाउ गर्न सडकसञ्जाल सहज भएपछि मुस्ताङमा पर्यटकको फलो बर्सेनि वृद्धि भइरहेको थियो । पर्यटकको आमगनदर बृद्धिसँगै जिल्लामा नयाँ आधुनिक होटल सञ्चालन गर्ने संख्या बढ्यो ।

पर्यटक आउँदा जिल्लामा उत्पादिक कृषिजन्य वस्तु स्याउ, खुर्पानी, ओखर, चिची, नासपाती, रायो साग, बन्दा, च्याउसमेत उत्तिकै बिक्थ्यो । सधैभरि पर्यटक पर्खाइमा बस्ने मुस्ताङका पर्यटन व्यवसायी कोरोना कहरका कारण व्यवसाय चौपट हुँदा पनि रत्तिभर बिचलित छैनन् ।

Advertisement

जोमसोमस्थित होटल ताजका सञ्चालिका तृष्णा गौचन शेरचनले तत्कालको आर्थिक आम्दानी भन्दा स्वास्थ्य नै ठूलो धन भएको बताइन् । उनले विश्वव्यापी महामारी कोरोना कहरमा स्वास्थ्य बचाउन सके नियमितको व्यवसाय पछि पनि गर्न सकिने धारणा राखिन् ।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा होटल म्याजेस्टिका सञ्चालक खगेन्द्र तुलाचनले कोरोना कहरले विश्व बजारको अर्थतन्त्र नै ध्वंस्त भइरहेको अवस्थामा मुस्ताङमा पर्यटक अवस्था शून्य हुनु आश्चर्य लाग्दो नभएको बताए । उनले यो बेला होसियारी र सावधानीले मात्र कोरोनाबाट सुरक्षित रहन सकिने उल्लेख गरे । जिल्लाका पर्यटन व्यवसायीलाई धैर्य हुन उनको आग्रह छ ।

मुस्ताङ गण्डकी प्रदेशकै एकमात्र कोरोनामुक्त जिल्ला कायमै छ । यसअघि यहाँ एक ८६ वर्षीय पुरुषले कोरोना जितेपछि मुस्ताङ कोरोना मुक्त भयो । जिल्ला कोरोनामुक्त भए पनि यहाँ कोरोना भित्रिनसक्ने अधिक सम्भावना रहेको सरोकारवाला बताउँछन् ।

कोरोना प्रभावले पर्यटक नआएर जिल्ला सुनसान बनेपछि स्थानीयहरु जिल्लाभित्रकै आन्तरिक पर्यटकीय स्थलको घुमफिरमा व्यस्त हुन थालेका छन् । तल्लो मुस्ताङका पर्यटन व्यवसायी घुमफिरमा छन् ।

उपल्लो मुस्ताङका तल्लो मुस्ताङ र तल्लो मुस्ताङका पर्यटन व्यवसायी उपल्लो मुस्ताङको पर्यटकीय स्थलको घुमफिरमा रमाउन थालेको जोमसोमका स्थानीय अजित थकालीले बताए । तल्लो मुस्ताङका व्यवसायी गाउँ÷गाउँ र टोल÷टोलको समूहगत रुपमा उपल्लो मुस्ताङको दामोदरकुण्ड, लोमान्थाङ, कोरलानाका, लोघेकर गुम्बा, चराङ गुम्बा र लुरी गुम्बा लगायतको पर्यटकीय स्थलको भ्रमण गर्ने गरेका छन् ।

उपल्लो मुस्ताङीहरु मुक्तिनाथ मन्दिर, कागबेनी, जोमसोम, ढुम्बाताल,यारुझो भ्युटावर, कुछप तेरङ्गा गुम्बा, कैसाङ क्याम्प, तिलिचो ताल, सेकुङ, भुतर्छो, टिटी ताल लगायतमा पुगेर रमाउने गरेको थकालीले उल्लेख गरे । जिल्लाभित्रै आन्तरिक पर्यटन व्यवसायीको घुमफिरले बाह्य पर्यटकको अभावलाई आंशिक पूर्ति गरेको छ ।

त्यसो त जिल्लाभित्र कर्मचारी, शिक्षकसमेत जिल्लाभित्रै घुमफिर गरी कोरोना कहरको समय सदुपयोग गर्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया