सशस्त्र प्रहरी बल लामापाटनका हुन् पोखरा १५ का संक्रमित प्रहरी

समाधान संवाददाता, पोखरा
पोखरामा शुक्रबार बिहान १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १५ पुरुष र १ महिलामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा ७ जना प्रहरी पनि छन् । पोखरा महानगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यका अनुसार सातै जना प्रहरी सशस्त्र प्रहरी बल लामापाटन पोखरा १५ मा कार्यरत छन् ।
पछिल्लो समय पोखरामा प्रहरीमा कोरोना संक्रमण देखिन थालेको छ । यसअघि बुधबार ड्यामसमइडस्थित सशस्त्र प्रहरी गणका २० प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यहाँका प्रहरीको सम्पर्कमा रहेका गण्डकी प्रदेशका एक सांसदमा पनि बुधबार नै कोरोना पुष्टि भएको छ । ती सांसद पोखरा ८ स्थित डेरामा होम आइसोलेसनमा बसेका छन् ।
पोखरामा आज थपिएका १६ जनासहित संक्रमितको संख्या ३ सय ७८ पुगेको छ । गण्डकी प्रदेशमा २३ सय ५२ जनामा पोजेटिभ देखिएको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।
कास्कीका ५, गोरखा र तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया