गण्डकी प्रदेशसभा सचिवमा पोखरेल नियुक्त

समाधान संवाददाता २०७७ भदौ १९ गते २२:११

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेल नियुक्त भएका छन् । नेपालको संविधानको १९५ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा शुक्रबार पोखरेललाई नियुक्त गरेका हुन् ।

पोखराका कानुन व्यवसायी पोखरेल पोखरा–२१, निर्मलपोखरीका बासिन्दा हुन् । उनका आमा जमुना र बाबु मोतिप्रसाद पोखरेल हुन् । पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आएका छन् । पोखरेलले शुक्रबार नै प्रदेश प्रमुख शेरचन नियुक्तिपत्र बुझेका छन् ।

Advertisement

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी ५ वर्षका लागि नियुक्त भएका हुन् । उनी २७ वर्षदेखि कानुन व्यवसायमा आबद्ध छन् । सुरुमा अभिवक्ता भएर काम गरेका पोखरेलले अधिवक्ताको लाइसेन्स लिएको २३ वर्ष भएको बताए । प्रदेश सभा सचिवमा नियुक्त भएपछि समाधानसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘महत्वपूर्ण जिम्मेवारी पाएको छु, प्रदेश सभाको गरिमा बढाउने गरी कानुन सम्मत रुपमा काम गर्नेछु ।’ छोरेपाटन माविको कक्षा ११÷१२ मा समाज विज्ञान पढाउने उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कानुनी सल्लाहकार हुन् ।

२०७४ मंसिर १० र २१ गते प्रदेश सभाको चुनाव भएर प्रदेश सभा गठन भएदेखि नै प्रदेश सचिवको नियुक्त हुन सकेका थिएन । यसअघि निजामती कर्मचारीले नै सचिवको काम गर्दै आएका थिए । प्रदेश सभालाई चुस्त र प्रभावकारी बनाउन सचिवको भूमिका महत्वपूर्ण हुन्छ । प्रदेश सभा सचिवालय सचिवले प्रदेश सरकारको प्रमुख सचिव सरह सेवा सुविधा पाउने प्रदेश कानुनमा उल्लेख छ ।

Advertisement

सुरुमा सहसचिव शम्भुबहादुर खड्का प्रदेश सभाको सचिव भए पनि त्यसपछि उपसचिवले निमित्त भएर काम चलाएका थिए । सहसचिवमा बढुवा हुनुअघि हरिप्रसाद बास्तोला र त्यसपछि उपसचिव राजेन्द्र न्यौपानेले निमित्त सचिव भएर प्रदेश सभामा काम गरे ।

प्रदेश सभा सचिवालय सञ्चालन र व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित हुन २ वर्षभन्दा बढी समय लागेका कारण सचिव नियुक्त हुन सकेको थिएन । सचिव नियुक्तिमा सभामुखकै अधिकार रहन्छ । प्रदेश सभा सचिवालय व्यवस्थापनमा विपक्षी दलको समेत सहभागिता रहनुपर्ने भन्दै कांग्रेसले अडान लिएकै कारण विधेयक अड्किएको थियो ।

तपाईको प्रतिक्रिया