मुस्ताङमा छैन भेन्टिलेटर

समाधान संवाददाता २०७७ भदौ २० गते ६:५०

एसके थकाली
जोमसोम

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) कारण विश्व समुदायनै आक्रान्त छ । नेपालमा पनि पछिल्लो समय कोरोना भाइरसको बिरामी संख्या अकल्पनीय रुपमा बृद्धि भइरहेको छ । तर मुस्ताङ भने अझै ग्रिन जोनमै छ ।

मुस्ताङमा कोरोना संक्रमित बिरामीको संख्या शून्य रहे पनि यहाँ कुनै पनि बेला कोरोना संक्रमित देखा पर्ने सम्भावना उक्तिकै छ । कोरोना तथा अन्य कारणले जिल्ला भित्र आइपर्ने बिरामीको अवस्था कुनै पनि बेला जटिल देखिन पुगे त्यसलाई निवारण गर्नसक्ने एकमात्र स्वास्थ्य उपकरण भेन्टिलेटर मुस्ताङमा अझै उपलब्ध हुन नसकेको हो ।

Advertisement

भौगोलिक रुपमा विकट मानिएको मुस्ताङमा कुनै त्यस्ता क्रिटिकल बिरामी वा श्वास—प्रश्वासले काम गर्न नसक्ने अवस्थाका बिरामीलाई तत्काललै स्रोत साधनले सम्पन्न अस्पतालमा पु¥याउन कठिन छ । यस्ता बिरामीलाई तत्काललै आइसियु तथा भ्यान्टिलेटरको आवश्यकता पर्ने भए पनि मुस्ताङमा यसप्रकारको उपकरण अभावमा विगतमा कतिपयले अनाहकमा ज्यान गुमाउन बाध्य भए ।

जिल्ला अस्पतालमा सामान्य उपकरण बाहेक क्रिटिकल बिरामीलाई आवश्यक पर्ने उपकरण उपलब्ध नहुँदा मुस्ताङका बासिन्दालाई जटिल अवस्थामा उपचारमा समस्या पर्ने देखिएको हो ।

Advertisement

शरीर स्वस्थ्य राख्नका लागि आन्तरिक अंग र यसको कार्यप्रणालीको महत्वपूर्ण भूमिका रहन्छ । मानव शरीरका यी अंगले कम काम गर्छ वा काम गर्न बन्द हुन्छन् तब विभिन्न समस्या निम्तिने गर्छ । यसलाई लाईफ सपोर्ट सिस्टम अथवा भेन्टिलेटरको सहयोग चाहिन्छ । भेन्टिलेटरको सहायताले शरिरलाई निको पार्न र बिरामीलाई जिवित राख्न मद्दत गर्छ ।
मानव शरीरको फोक्सो, रगत जम्दा, निमोनिया, औषधीको ओभरडोज, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, सिस्ट्रिक फाइब्रोसिस र स्नायु लगायतका कारण फोक्सोमा पर्ने समस्या आदि हुँदा भेन्टिलेटरको आवश्यकता पर्दछ । बिरामीको अवस्था बिग्रनुको कारण के हो त्यसलाई पत्ता लगाएर भेन्टिलेटरमा राखिने गरिन्छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मुस्ताङ जिल्ला अस्पतालका लागि भेन्टिलेटर खरिद गर्न आवश्यक बजेट निकासा गरिसकेको प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा भ्यान्टिलेटर खरिदका बजेट निकास भइसकेको र त्यसको व्यवस्थापन सम्बन्धित जिल्ला अस्पतालले गर्ने बताए ।

मुस्ताङ र मनाङ लगायतका जिल्लालाई यसअघि मनिपाल अस्पतालमा प्रारम्भिक तालिम दिइसकेको तर त्यो तालिम पर्याप्त नभएकाले अर्को तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको समन्वयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन गर्ने तयारी भइरहेको निर्देशक डा. शर्माले उल्लेख गरे । डा. शर्माले मुस्ताङ अस्पतालमा इक्युमेन्टको चाँजोपाँजो भएको खण्डमा अरु रिसर्च र ट्रेनिङको हिसाबले तालिम दिने योजना रहेको सुनाए ।

यस्तै, जिल्ला अस्पताल मुस्ताङले २ बेडको आइसियु र भ्यान्टिलेटर खरिद गर्न प्रदेश सरकारले गत वर्षनै ९७ लाख बजेट विनियोजन गरेको जानकारी दियो । अस्पतालका मेसु शिव भण्डारीले गत वर्षको अन्तिममा बजेट निकासा भएकाले खरिद प्रक्रियामा जान अप्ठ्यारो परेको बताए ।

मेसु भण्डारीले गत वर्षको उपकरण स्पेसमा केही परिमार्जन गरी यसै हप्ता बजेट रिलिज हुने जानकारी दिए । ‘अब बजेट रिलिज हुने बिक्तिकै खरिद प्रक्रियामा जान्छौं,’ मेसु भण्डारीले भने, ‘खरिद प्रक्रियाको अवधि १ महिनाको हुन्छ । त्यसको १ महिनाभित्र मुस्ताङमा आइसियु र भेन्टिलेटर आइपुग्छ ।’

मेसु भण्डारीले भ्यान्टिलेर सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति आवश्यक पर्ने बताए । त्यसका लागि बेहोस बनाउने डक्टर, फिजिसियन वा जनरल प्राविधिक ( जिपी¬) चाहिने जनाए । यसका लागि यहाँ उपलब्ध जनशक्तिलाई भ्यान्टिलेर प्रयोग गरिने अस्पतालमा कम्तीमा १ साताको तालिम अभ्यास चाहिने मेसु शर्माको भनाइ छ ।

तपाईको प्रतिक्रिया