चरक मेमोरियलमा कोरोना संक्रमितको उपचार

समाधान संवाददाता २०७७ भदौ २० गते ७:१४

समाधान संवाददाता
पोखरा

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित १ बिरामी निको भइ घर फर्केकी छन् । पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ १५ दिनसम्म उपचारपछि निको भई शुक्रबार घर फर्केकी हुन् । उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले अस्पताल परिसरमा आयोजित एक समारोहमा खादा लगाई बिदाइ गरे ।

पूर्व मन्त्री अधिकारीले निजी क्षेत्रमै कोभिड–१९ को उपचारमा सक्रियता देखाई अस्पतालले निको बनाइ पठाउनु आफूमा सकारात्मक कार्य भएको बताए । पोखरामा निजीस्तरमा कोभिड–१९ को उपचार गर्ने पहिलो अस्पताल चरक मेमोरियल भएको छ ।

Advertisement

गत भदौ ४ मा उपचारार्थ भर्ना भएकी अञ्जलीले अस्पतालमा उपचाररत् रहँदा भावनात्मक तथा मानसिक रुपमा आफू निको हुन गरेको उपचार विधिको प्रशंसा गरिन् । उनले सुरुवातमा आफू कोरोना लागेर आत्तिए पनि पछि क्रमशः निको हुँदै गएपछि आत्मबल बढ्दै गएको बताइन् ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले कोरोना संक्रमितको उपचारमा अस्पतालले कुनै पनि कसर बाँकी नराखेको बताए । उनका अनुसार अस्पतालमा १ सय बेड क्षमताको रहेकोमा ३० बेड कोभिड–१९ को बिरामीलाई उपचारका लागि निम्ति छुट्याइएको छ ।

Advertisement

अझै पनि अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको उपचार भइरहेका प्रबन्ध निर्देशक पोखरेलले बताए । कोरोना संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स, क्लिनर लगायत सबै आइसोलेसनमै बसेर उपचारमा क्रियाशील हुने हुँदा अन्य रोगका बिरामी पनि ढुक्कले उपचारका लागि आउन सक्नेछन् ।

२०६९ सालमा पोखरा नयाँबजारमा सञ्चालित चरक अस्पतालले गत माघदेखि पोखराको नागढुंगामा सुविधासम्पन्न अस्पताल संचालनमा ल्याएको छ । अस्पतालमा सबै प्रकारका रोगको उपचार सुविधा रहेको अस्पतालका अध्यक्ष वरिष्ठ फिजिसियन डा. बद्री पौडेलले बताए । करिब १ अर्ब ५० करोड रुपैयाँ लागतमा स्थापित यो अस्पताल गण्डकी प्रदेशमै अस्पताल बिल्डिङमै हेलिप्याड भएको पहिलो अस्पताल हो । अस्पतालमा हाल ३५ जना डाक्टर कार्यरत छन् । यसबाहेक पूर्ण तथा आंशिक गरी २ सय जना कर्मचारी कार्यरत् रहेको अस्पतालका व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए । कोभिड–१९ को सन्त्रास कायम रहँदा कतिपय अस्पतालले अस्पताल गेटबाटै बिरामी फर्काउने गरेकोमा चरकले भने सुरुवातदेखि नै फिभर क्लिनिक संचालन गर्दै सबै प्रकारका रोगका बिरामीको उपचार दिँदैआएको छ ।

अस्पतालमा हाल आइसियु १७ वटा, भेन्टिलेटर ८ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ । डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानी उपचार सुविधा रहेको अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ । अस्पतालले आइसियु, एनआइसियु, सिटी स्क्यान, सिटी एनजिओ, क्याथ ल्याब, आधुनिक मोडुलर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा प्रदान गरिरहेको वरिष्ठ फिजिसियन डा.बद्री पौडेलले बताए ।

तपाईको प्रतिक्रिया