बागलुङको बाढी: अंग हेरेर सनाखत गर्छन् आफन्त

अनुप आत्रेय, पोखरा
बाढी आउँदै छ भन्ने सुइँको पाएकाहरु भागिहाले । थाहै नपाएकालाई भुजीखोलाको बाढीले राति १ बजे बगाएर लग्यो । निद्रामा रहेकाफेरि उठन नपाई बाढीसँगै बगे, कहिल्यै नफर्किने गरी । बागलुङको ढोरपाटन नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का तटीय बस्ती बुधबार रातिकोबाढीले सखाप पा¥यो । धेरै परिवारको अस्तित्व क्षणभरमै मेटियो ।
बाढीमा परेका २४ जना अझै भेटिएका छैनन् । १४ जनाको शव भेटिएकोमा शुक्रबारसम्म १३ जनाको सनाखत भएको छ । मृत भेटिएकामध्ये कसैको खुट्टा, कसैको टाउको अनि कसैको कम्मरभन्दा माथिको भागमात्रै फेला परेको छ ।
शरीरको छुट्टाछुट्टै भाग भेटिएको र परिवारका सबै सदस्य बाढीमै परेकाले शव पहिचानमा कठिनाइ भइरहेको बागलुङका सहायक सिडिओ धीरेन्द्रराज पन्तले बताए ।
मृतकको परिवारका सदस्य र आफन्तले अंग हेरेर मान्छे चिन्ने गरेका छन् । ‘शरीरका विभिन्न अंगहरु छुट्टिएका छन् । मृतकको एकदम नजिकको आफन्त, माइतीमावलीले अंग चिन्नुभयो भने पहिचान गर्न सजिलो हुन्छ,’ उनले भने ।
पहिचान भएका शव आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए । ढोरपाटन नगरपालिका ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षका करबहादुर विक, २२ वर्षका जीवन विक, २३ वर्षकी दिलमाया पुन, उनका ११ वर्षे छोरा दलु विक, ३२ वर्षकी रिमकुमारी घर्ती, ३२ वर्षकी करमती बुढा, ३१ वर्षका प्रेम पुनको शव सनाखत भएको छ ।
त्यसबाहेक ६५ वर्षीया डोटी पुन, १३ वर्षीया पुनम विक, ३३ वर्षकी दिलमाया विक, ११ वर्षे मदन विक र ६ वर्षे बिराज विकको पनि शव पहिचान भएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ८ तिनसिमलास्थित बडिगाड खोलाको किनारमा भेटिएको अन्दाजी २ वर्षका बालकको पहिचान हुन सकेको छैन ।
बाढीमा परेर घाइते भएका ४ जनाको भने बिहीबार नै उद्धार गरिएको छ । घाइते हुनेमा ढोरपाटन ४ दुनेपोखराका १५ वर्षे महेन्द्र पुन, ४२ वर्षे धर्मेन्द्र पुन, २८ वर्षकी सरिता घर्ती र ५४ वर्षकी बेलमती पुन घाइते भएका छन् ।
गम्भीर घाइते भएका १५ वर्षका महेन्द्र पुनको बुर्तिबाङमा उपचार भइरहेको छ । अरु स्थानीय बोबाङ स्वास्थ्य चौकीमा छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने नेतृत्वमा गएको टोली घटनास्थल नजिकै बसिरहेको सहायक सिडिओ पन्तले बताए । बाढीले ढोरपाटन ८ का १० घरका ७३ जना र वडा नम्बर ९ को ७३ घरका चार सय ४६ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

ढोरपाटन ९ का वडाध्यक्ष हरिबहादुर घर्तीमगरका अनुसार विस्थापित भएकाहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन् । ‘घरविहीनको व्यवस्थापन जारी छ । विस्थापित हुनुभएकाहरु आफ्नो मान्छेको घरमा बस्नुभएको छ । गृह मन्त्रालयबाट पनि पालहरु आएको छ,’ वडाध्यक्ष मगरले भने ।
ढोरपाटन सिकार आरक्ष छेउको डाँडाबाट खसेको पहिरोले भुजीखोला थुनिएको र त्यो फुटेपछि त्यसले बाढीको रुप लिएको हो । ‘बाटो माथिबाट माटोको ढिस्को आएर खोलामा जम्मा भयो । त्यसले पानी छेकेर त्यहीँ जम्मा भयो । पछि ठूलो रुप लियो,’ वडाध्यक्ष मगरले सुनाए ।
भुजीखोला बाढीका कारण त्यहाँ टेलिफोन र बिजुली पनि काटिएको छ । ‘जलविद्युत आयोजनामा क्षति पुगेको छ । त्यसले गर्दा सञ्चार र विद्युतमा समस्या भएको छ,’ सहायक सिडिओ पन्तले भने ।
बाढीपीडितलाई ढोरपाटन नगरपालिकाले २ बोरा चामल, २ लिटर तेल, नुनलगायत खाद्यान्न उपलब्ध गराएको छ । खान बस्नलाई बाढीपीडितलाई कुनै समस्या नरहेको सहायक सिडिओ पन्तले बताए । ‘स्थानीय र केन्द्र सरकार मिलेर सुरक्षित ठाउँमा २०७२ सालका भूकम्पपीडितलाई जस्तै घर बनाइदिने भन्ने छ,’ उनले भने ।
बाढीका कारण लाँकुरीबोट, सुकुरदुङ, दुनेपँधेरा, घट्टबोट, भुसुन्डेलगायत ठाउँमा क्षति पुगेको छ । बाढीले ढोरपाटन ९ को सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, ४ वटा जलविद्युत आयोजना र ४ वटा झोलुंगे पुलसमेत बगाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खोजी तथा उद्धारका लागि खटिएका छन् ।
सनाखत भएका र बेपत्ताको नामावली










भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया