भुजीखाेला बाढीपहिराे पीडितलाई प्रदेश सरकारकाे राहत

समाधान संवाददाता २०७७ भदौ २० गते १६:२७

पाेखरा

बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार गएकाे बाढी पहिराेबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएकाे छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानसहितले घटनास्थलमै पुगेर शनिबार राहत उपलब्ध गराएका हुन् ।

यो तत्कालको राहत भए पनि घाइतेकाे उपचार, विस्थापितका लागि बसाेवासकाे व्यवस्था लगायत काम प्रदेश सरकारले गर्ने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्रीले भने, बाढीमा बाँचेका तर घर गुमाएर विस्थापितहरुका लागि टेन्ट, मेट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामग्री, लगायत राहत सामग्री पनि आज हस्तान्तरण गरेका छौं । यी सामग्री हामीले आजै पोखराबाट लगेका थियौं ।

बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्ने पनि उनले बताए । मुख्यमन्त्रीका अनुसार यसमा पालिका र संघको पनि सहयोग हुनेछ ।

स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्नेछ । बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्ने मुख्यमन्त्रीले जनाएका छन् ।

भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ रहेकाे र २ वर्ष पहिलाे आफू याे क्षेत्रमा आउँदा जाेखिमबारे चासाे राखेकाे उनले स्मरण गरे । खाेला किनारमै घर बनाएर बसेकाले जाेखिम उच्च थियाे ।

अब बाढी विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्ने र यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व नगर्ने उनले बताए ।

बाढी गएकै दिन घटनास्थल पुग्ने चाहना पूरा गर्न मौसमी प्रतिकूलता बाधक बनेकाे भन्दै उनले क्षमा समेत मागेका छन् ।

तपाईको प्रतिक्रिया