यौन शाेषणकाे आरोपमा आँखा अस्पतालका अधिकृत निलम्बित

समाधान संवाददाता २०७७ भदौ २० गते १८:५५

समाधान संवाददाता, पोखरा

हिमालय आँखा अस्पताल घारीपाटनका लेखा अधिकृत वामदेव सुवेदीले अस्पतालकै जुनियर कर्मचारी १ महिलालाई धम्काएर यौन शोषण गरेको आरोप लागेको छ । विगत ४ वर्षदेखि सुवेदीले ३५ वर्षीया ती महिलालाई विभिन्न समयमा यौन शोषण गरेको उजुरी अस्पताल व्यवस्थापन समितिमा पुगेको हो । उजुरीमाथि प्रारम्भिक कारवाही गर्दै अस्पताल समितिले भदौ १९ गते सुवेदीलाई निलम्बन गरिसकेको छ ।

महिलाले उजुरीमा लेखा अधिकृत सुवेदीलाई हदैसम्मको कारबाहीको माग गरेकी छन् । उक्त उजुरीको प्रतिलिपि समाधानलाई प्राप्त भएको छ । ‘सुवेदीले २०७६ मंसिरमा मेरो भाइको विवाहको लागि ५० हजार कार्यालयबाट सापटी माग गर्दा मलाई पटकपटक फोन गरी शारीरिक सम्पर्क गर्न दिए मात्र दिन्छु भन्यो,’ उनले उजुरीमा भनेकी छन्, ‘धम्की दिएर मेरो खाना खाने समयमा बिहान ११ बजेदेखि १ बजेको समयमा बासस्थानमै आइ शारीरिक सम्पर्क राखेपछि मात्र सापटी रकम दिएको हो ।’

Advertisement

आर्थिक अवस्था कमजोर भएकी ती महिलाले बेलाबखत अप्ठ्यारो पर्दा अस्पतालबाट पाउनुपर्ने सुविधा बापत्को पेश्की माग गर्दा उसको यौन शिकार हुनुपरेको उल्लेख गरेकी छन् । अस्पतालमा काम गर्ने क्रममा एकान्त ठाउँ पाउनासाथ सुवेदीले हातपात गर्न खोजेको उनले बताएकी छन् ।

लेखा अधिकृत सुवेदीको व्यवहारबाट आफू अत्यन्तै असुरक्षित र पीडित भएको भन्दै न्याय दिलाउन अस्पतालको कर्मचारी युनियनमार्फत समितिसँग गुहार मागेकी थिइन् ।

Advertisement

अस्पताल समितिका १ अधिकारीले उजुरी पाउनासाथ आरोपि लेखा प्रमुखसँग १ पटक पनि सोध्दै नसोधी तत्काल निलम्बन गरिएको बताए । महिलाको विषयमा संवेनदशील हुनुपर्ने भन्दै तुरुन्तै सुवेदीलाई निलम्बन गरिएको उनको भनाई छ । समितिले अस्पतालका मेडिकल डाइरेक्टर डा इन्द्रमान महर्जनको संयोजकत्वमा १ छानबिन समिति गठन गरेको छ ।

कानुनी कारबाहीको पाटो खुला नै रहने गरी समितिले छानबिन गर्ने ती अधिकारीले बताए । ‘अपराधी छुट्नु हुँदैन, निरअपराधी पर्नुहुँदैन । त्यो सम्बन्धमा सम्बन्धित व्यक्तिले कानुनी उजुरीको बाटो खुला छ,’ उनले भने । लेखा अधिकृत सुवेदीविरुद्ध ती महिलाले प्रहरीकहाँ जाहेरी भने दिएकी छैनन् ।

तपाईको प्रतिक्रिया